निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ ।
अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुल हुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मत गणना कार्यमा ढिलाइ गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्व योजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गर्नुभएको हो ।
उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने तथा स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।