रामेछाप जिल्लाको कठजोरबाट देशका विभिन्न स्थानमा बसोवास गर्ने कश्यप गोत्रीय खिड्सिने अधिकारी बन्धुहरुको हरेक बर्ष झैं आज पनि प्रदेश नम्वर दुईको सर्लाही लालबन्दीमा गोठधुप सम्पन्न भएको छ।
लालबन्दिमा यसपटक अधिकारी बन्धुहरुमध्येका जेष्ठ प्रेम प्रसाद अधिकारी तथा बलराम अधिकारीले विशेष पूजा गर्नुभएको थियो ।


भगवानलाई भोग लगाउन हरेक अधिकारी बन्धुहरुका घरवाट पूजाकालागि ल्याइएका सामग्रीहरुवाट विशेष किसिमको खीर पुवा र बाबर बनाउने र मन्दिरमा मालिका देवी तथा विन्ध्यवासिनी देवीको स्वरुपमा विशेष मन्त्रोच्चारण सहित अर्पण गर्ने प्रचलन रहेको छ ।
विशेष पूजा सकिएपछि अधिकारी बन्धुहरुले भाकल गरे अनुसार कुललाई बली भोग दिने चलन रहेको छ । आजपनि शुभकर्मका लागि बोका बली दिनेहरुको संख्या उल्लेख्य थियो ।
लालवन्दी नगर प्रमुखमा नव निर्वाचित नेपाली काँङ्ग्रेसका नेता वासुदेव अधिकारीको अगुवाइमा निर्मित कुल देवताको मन्दिर परिसरमा आयोजित गोठधुप कार्यक्रममा लालबन्दी, मलंङ्गवा, बरहथवा, नवलपुर, हेटौंडा, काठमाडौं लगायतका विभिन्न स्थानमा वसोवास गर्ने अधिकारी बन्धुहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


मालिका देवी तथा विन्ध्यवासिनी देवीको पूजा गर्ने अधिकारीहरुले हरेक बर्ष बैशाखे पूर्णिमाको पञ्चमी तिथिमा तथा मङ्सिरे पूर्णिमामा दुइपटक बन्धुहरु भेला भई गोठधुप गर्ने परम्परा रहेको छ ।
अधिकारी बनधुहरुको गोठधुप परम्पराले बन्धुत्व एकता र सांस्कृतिक पहिचानका लागि आफ्नो संस्कार, संस्कृति र परम्परा सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको र विदेशी संस्कृतिको अतिक्रमणबाट बचाउन भावी पुस्तालाई सचेत बनाउन फलदायी बन्ने विश्वास गरिएको छ । -रासस