स्तनमा भएका कोषकोषिकाहरूमा असामान्य परिवर्तन आई असामान्य, अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । यो रोग विश्वमा हुने नयाँ क्यान्सर रोगमध्ये तेस्रो स्थानमा आउँछ । स्तन क्यान्सरबाट बर्सेनि छ लाख २७ हजार महिलाको मृत्यु हुने गरेको छ । गरिबी, अशिक्षा र अज्ञानताका कारण समयमै उपचार नगर्नाले यो रोगबाट महिला बढी पीडित छन् । यो रोग प्रायः महिलालाई लागे पनि एक प्रतिशत पुरुष पनि यस रोगबाट प्रभावित हुने गरेका छन् ।
रोग लाग्ने कारण
– वंशाणुगत कारण जस्तै आमा, दिदीबहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा ।
– ढिलो विवाह वा ३० वर्षपछि बच्चा जन्माउने महिलामा ।
– बच्चा नजन्माएका महिलामा ।
– दुई वर्षसम्म बच्चालाई स्तनपान नगराउने महिलामा ।
– स्तनमा पहिलेदेखि नै गाँठागुठी वा पुराना समस्या भएमा ।
– पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिलामा अर्को स्तनमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
देखिने चिह्न र लक्षण :
स्तनमा गिर्खा वा गाँठागुँठी फेलापर्नु । स्तनका आकारमा परिवर्तन आउनु । स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु ।
स्तनको छालाको रङमा परिवर्तन हुनु । मुन्टो गाडिनु । स्तनको कुनै पनि भाग वा मुन्टोमा लामो समयसम्म निको नहुने घाउ हुनु ।
काखी वा घाँटीमा गिर्खा देखापर्नु । सुरुकै अवस्थामा निदान गरी आवश्यक उपचार गरेमा यो क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । रोगको सुरुकै अवस्थामा पत्ता लगाई निदान गर्ने उपाय पनि छन् । चिकित्सक वा तालिमप्राप्त स्वास्थ्यकर्मीहरूबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन स्तनको नियमित परीक्षण गराउनुपर्छ ।
आफ्नो स्तनको आफैँले परीक्षण गर्ने :
स्तनमा असामान्य गिर्खा, डल्लाहरू छन् कि छैनन् भनी थाहा पाउन महिला आफैँले स्तन राम्ररी छामेर पनि पत्ता लगाउन सक्छन् । यो सरल एवम् व्यावहारिक तरिका पनि हो ।
आफ्नो स्तन आफैँले कम्तीमा पनि महिनाको एकपटक राम्ररी हेरेर तथा छामेर नियमित परीक्षण गर्नाले स्तनमा भएको परिवर्तन वा गिर्खा पत्ता लगाउन सकिन्छ । दाहिने स्तनको परीक्षण देब्रेहात र देब्रे स्तनको दाहिनेहातले परीक्षण गर्नुपर्दछ । उत्तानो परेर, बसेर स्तन परीक्षण गर्दा सानातिना गिर्खा पनि फेलापार्न सकिन्छ । स्तनको आकार र छालामा भएको परिवर्तन पत्ता लगाउन ऐना अगाडि (स्तन देखिनेगरी) स्तनको परीक्षण गर्नुपर्छ ।
स्तनको परीक्षण गर्दा स्तनको सम्पूर्ण भागवरिपरि र काखीमुनि कुनै गिर्खाहरू भए नभएको छामी हेर्नुपर्दछ । यसका साथै आफ्नो स्तनको स्वरूप र रङमा कुनै परिवर्तन आए नआएको पनि हेर्नुपर्दछ । यसरी परीक्षण गर्दा फेलापरेका गिर्खाहरू चिकित्सकद्वारा पुनः परीक्षण गराई स्तन क्यान्सर भए नभएको थाहा पाउनु
आवश्यक छ ।
म्यामोग्राफी परीक्षण :
एक विशेषप्रकारको एक्स–रे म्यामोग्राफी मेसिनबाट स्तन क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ । ४० वर्ष उमेर पुगिसकेका महिलाहरू तथा यो रोग लाग्न सक्ने सम्भावना बढी भएको महिलाहरूले चिकित्सकको सल्लाहअनुसार यो परीक्षण गर्नुपर्छ ।
रोगको निदान:
एफएनएसी : मसिनो सुइले स्तनमा भएका गिर्खाको कोषकोषिकाहरू झिकेर प्रयोगशालामा अध्ययन (सिटोलोजी) गरी क्यान्सर निदान गर्न परीक्षण गरिन्छ ।
हिस्टोप्याथोलोजी : मासुको सानो टुक्रा प्रभावित भागबाट निकाली बायोप्सी प्रयोगशालामा परीक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ । यसबाहेक क्यान्सर निदान गर्न अन्य परीक्षण पनि आवश्यकताअनुसार गरिन्छ ।
उपचार विधि :
बिरामीको अवस्था, शरीरका अन्य भागमा क्यान्सर फैलिएको वा नफैलिएको आधारमा निम्न उपचार विधिको प्रयोग गरिन्छ–
शल्यक्रिया : स्तन क्यान्सरमा रोग लागेको भागलाई अप्रेसन गरी काटेर निकाल्नुपर्दछ । जति छिटो निदान गरी क्यान्सर लागेको भाग फाल्न सकियो त्यति निको हुने सम्भावना हुन्छ ।
रेडियोथेरापी : विकीरणको प्रयोगबाट क्यान्सर भएका कोषकोषिकालाई मार्न वा फैलनबाट रोकिन्छ ।
केमोथेरापी : औषधिको प्रयोगद्वारा स्तन क्यान्सरको उपचार गर्नुपर्दछ ।
हर्मोनथेरापी : स्तन क्यान्सर उपचारमा हर्मोनको प्रयोग पनि गर्नुपर्दछ ।
प्यालिएटिभ केयर : बिरामीको पीडा र असुविधा कम गर्न गरिने आवश्यक उपचारलाई प्यालिएटिभ केयर भनिन्छ ।
रोकथाम :
रोकथामका लागि बोसोयुक्त खानेकुराहरू र रक्सी नखाने, मोटोपन घटाउने, ढिलो विवाह वा बच्चा नपाउने, नियमित शारीरिक व्यायाम गर्ने, बच्चालाई दुई वर्षसम्म स्तनपान गराउने सामान्य उपायहरू हुन् । यस्तै आमा, दिदीवहिनी वा नजिकको नातेदारमा स्तन क्यान्सर भएको छ भने वंशाणुगत कारणले आफूलाई पनि हुन सक्ने भएकाले बराबर स्तनको परीक्षण गर्नुपर्दछ ।