वैदेशिक मुद्रा जोगाउन सरकारले आयातमा कडाइ गर्दै आए पनि सञ्चिती भने झन् ओरालो लागेको छ। अर्कातिर, देशभित्रको मूल्यवृद्धि भने थप चर्किँदै गएको छ।
नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले गत वैशाख मसान्तसम्म देशमा ९ अर्ब २८ करोड अमेरिकी डलर मात्रै सञ्चिति रहेको देखाएको छ। यो एक महीनाअघि ९ अर्ब ६१ करोड अमेरिकी डलर थियो। एकै महीनामा ३३ करोड डलर सञ्चिती घटेको हो।
विदेशी मुद्राको सञ्चिती लगातार घटेपछि सरकारले एकपछि अर्को आयात निरुत्साहनका नीतिअघि सार्दै आएको छ। गत महीना १० विलासी वस्तुको आयातलाई प्रतिबन्धको घोषणा गरिएको थियो। त्यसअघि, राष्ट्र ब्यांकले आयात निरुत्साहित गर्न दर्जनौं वस्तुको आयात प्रतीतपत्र खोल्दा शतप्रतिशत मार्जिन (नगद) राख्नुपर्ने व्यवस्था गरेको थियो।
गत असार मसान्तका तुलनामा विदेशी मुद्राको सञ्चिती २१.१ प्रतिशतले घटेको छ। विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा भविष्यमा देशले अत्यावश्यक वस्तु र सेवा खरीद गर्ने सामर्थ्य गुमाउने जाखिम आउनसक्छ।
अर्थशास्त्रीहरूले तीव्र गतिमा विदेशी मुद्राको सञ्चिति घट्दै जानु जोखिमपूर्ण रहेको बताउँदै आएका छन्। यद्यपि, वैशाखसम्मको सञ्चितीले ६ महीना १७ दिनको वस्तु र सेवाको आयात थेग्न पुग्छ।
गत वैशाखमा आयातको गति भने केही मत्थर भएको देखिएको छ। राष्ट्र ब्यांकका अनुसार, वैशाखमा रु. १ खर्ब ३८ अर्ब मूल्यको वस्तु आयात भएको छ। यो अघिल्लो महीनाका तुलनामा करीब रु. २० अर्ब थोरैको आयात हो। कयौं वस्तुको आयातलाई कडाई गरिएकाले वैशाखमा आयात घटेको हो।
वैदेशिक व्यापारको असन्तुलन भने कायमै छ। चालु आर्थिक वर्षको वैशाखसम्म नेपालले रु. १ खर्ब ७३ अर्ब ३५ करोडको वस्तु निर्यात गर्दा रु. १६ खर्ब ४ अर्ब ६५ करोड मूल्यका वस्तु आयात गरेको छ। अर्थात्, चालु आर्थिक वर्षको पहिलो १० महीनामा देशले वैदेशिक व्यापारमा रु. १४ खर्ब ३१ अर्ब ३० करोड घाटा बेहोरेको छ।
यो घाटालाई धेरै हदसम्म वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिटेन्स रकमले थेगिदिएको छ। वैशाखसम्म रु. ८ खर्ब ११ अर्ब ७९ करोड रेमिटेन्स भित्रिएको छ।
अमेरिकी डलरमा यो ६ अर्ब ७६ करोड हो। अघिल्लो वर्षको यही अवधिका तुलनामा रेमिटेन्स १.६ प्रतिशत (अमेरिकी डलरमा) थोरै आएको छ।
वैदेशिक रोजगारीमा जाने युवा बढिरहँदा पनि रेमिटेन्स घट्नुले नीतिनिर्माताको चिन्ता थपेको छ। रेमिटेन्सको रकम औपचारिक माध्यममार्फत भित्रिनुको सट्टा हुण्डीमा प्रयोग हुँदा यस्तो रकम घटेको अनुमान गरिन्छ।
देशको अर्थतन्त्रको अवस्था देखाउने मुख्य परिसूचकहरू वैशाखमा थप खस्किएको देखिएको छ। वैशाखसम्म देशको वैदेशिक कारोबारको हरहिसाब देखाउने चालु खाता रु. ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ। यो देशको कुल अर्थतन्त्रको आकारभन्दा ११ प्रतिशतभन्दा धेरै हो।
देशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) को ८ प्रतिशतभन्दा धेरै चालु खाता हुनु जोखिमपूर्ण मानिन्छ। त्यसैगरी, शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रु. २ खर्ब ८८ अर्ब ८५ ले घाटामा गएको छ। यो गत वर्षको यही अवधिमा शोधनान्तर स्थिति रु. ७ अर्ब ७५ करोडले नाफामा थियो।
अर्कातिर, देशभित्रको मूल्यवृद्धि भने थप चर्किँदै गएको छ। वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति ७.८७ प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षको यही अवधिमा ३.६५ प्रतिशत थियो। गत चैतमा मूल्यवृद्धि दर ७.२८ प्रतिशत थियो।
वैशाखमा खाद्य र पेय पदार्थ समूहको ७.१३ प्रतिशत र गैर खाद्य समूहको ८.४५ प्रतिशतले मूल्य बढेको छ। सबैभन्दा धेरै घ्युतेलको मूल्य २४.८६ प्रतिशत, यातायातको मूल्य २१.८१ प्रतिशत, फलफूलको मूल्य १२.६१ प्रतिशतले बढेको छ।
वैशाखमा थोक मुद्रास्फिति १६.०६ प्रतिशत पुगेको छ। यसअन्तर्गत, फलामे वस्तु (डण्डी) को मूल्य २६.१२ प्रतिशतले वृद्धि भएको छ। मूल्यवृद्धि बढ्दै जाँदा गरीब घरपरिवारको खर्च थप बढेर उनीहरुको जीवनयापन थप कष्टकर हुँदै जान्छ।