पछिल्लो समय धेरै बालबालिका भाइरल इन्फेक्सन अर्थात् रुघाखोकी र ज्वरोका कारण बिरामी परेका छन्। मौसमी रुघाखोकी र ज्वरोेका बिरामीको संख्या बढेपछि कान्ति बाल अस्पतालमा उपचार गराउन आउनको संख्या पनि बढेको छ। अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ रुघाखोकी र ज्वरोका छन्। बालबालिकामा देखिएको भाइरल इन्फेक्सन, रोकथाम र हेरचाहका सम्बन्धमा ॐ हस्पिटलमा कर्यरत बरिष्ठ बाल रोग बिषेशज्ञ डा रिता सिहसँग गरिएको सफल कुराकानीको सम्पादित अंश :
ॐ हस्पिटलमा रुघाखोकी र ज्वरोले बिरामी भएर उपचारका लागि आउने बालबालिकाको संख्या बढेको छ । हाल बालबालिकामा देखिएको रुखाखोकी वा ज्वरोलाई भाइरल इन्फेक्सन मान्न सकिन्छ । त्यसमा पनि सबैभन्दा धेरै हुने भनेको इन्फ्लुएन्जा हो । यसलाई हामीले इन्फ्लुएन्जा ए र बी भन्छौँ । धेरैजसो बालबालिकालाई रुघाखोकी र ज्वरो आउने प्रमुख कारण यही हो । त्यसबाहेक अरू भाइरस पनि हुन्छन् । अलि साना बालबालिकामा रेस्पेरिटी सिन्साइटल भाइरस (आरएसबी) हुन्छ । त्यस्तै, कतिपयमा प्यारा इन्फ्लुएन्जा र एडोनो भाइरस हुन्छ ।
विकसित देशमा बालबालिकाको नाकको पछाडिपट्टिको भागको पानीको नमुना र खोकीको नमुना लिएर कुन भाइरस हो भनेर अध्ययन गर्ने चलन हुन्छ । तर, हाम्रो देशमा त्यस्तो अभ्यास सुरु भएको छैन । हामीकहाँ सबैभन्दा बढी इन्फ्लुएन्जा ए र बीका बिरामी रहेको पाइन्छ । इन्फ्लुएन्जा ए र बीका कारण पनि अहिले ज्वरो, रुघा र खोकीका बिरामीको संख्या बढेको पाइन्छ ।
त्यसो त अहिलेको यो सिजनमा सबैभन्दा धेरै बालबालिकामा रुघाखोकी लाग्ने गरेको पाइन्छ। गत वर्ष कोभिडका कारण अस्पतालमा आउनेको संख्या थोरै थियो। तर, यस वर्ष अस्पतालसम्म आउने रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ।
ज्वरो वा रुघाखोकी लाग्दा कस्ता लक्षण देखिन्छन् ?
यो भाइरसले संक्रमण गर्दा बच्चालाई १०४ डिग्रीसम्म ज्वरो आउने, रुघा लाग्ने, नाकबाट सिगान बग्ने, छाती दुख्ने, सास फेर्न कठिन हुने, कतिपयमा पखाला लाग्नेलगायत लक्षण देखिन्छन्।
कुन अवस्थामा अस्पताल लैजाने ?
रुखा लाग्दैमा वा हल्का ज्वरो आउँदैमा आत्तिहाल्नुपर्दैन । तर, अवस्था र जटिलता हेरेर आत्तिनुचाहिँ पर्छ । अचेल बालबालिका बिरामी हुना साथ अभिभावक आतिन्छन् । तर, कुन अवस्थामा आत्तिने भन्ने कुरा ख्याल गर्नुपर्छ । ज्वरो आउनेबित्तिकै डराउने र अस्पताल दौडिने मात्रै पनि होइन । तर, कुन अवस्थााम अस्पताल लैजाने भनेर जान्नचाहिँ आवश्यक छ ।
सामान्यतया रुघा लाग्यो भने आत्तिहाल्नुपर्दैन । सामान्य अवस्थामा घरमै बच्चाको नाक सफा गर्ने, प्यारा सिटामोल दिने र दिउँसोको समयमा अस्पताल जाँदा राम्रो हुन्छ । रुघाखोकी वा ज्वरो आएर बच्चालाई गाह्रो भएको छ भने बुझ्नुपर्छ । जटिलता भएको थाहा पाउनुपर्छ । बच्चाको नाक बन्द भएर दूध खान नसक्ने, घाँटी घ्यारघ्यार हुने, सास फेर्न समस्या हुने, सास छिटोछिटो फेर्नेजस्ता समस्या देखिए भने बच्चालाई दम हुन सक्छ ।
खासगरी रुघाखोकीका वेला बच्चालाई दम बढ्छ । केही बच्चालाई ज्वरो आएको वेला बेहोस हुने र काम्ने समस्या हुन्छ । त्यस्तो वेलामा अलि ख्याल गर्ने र अस्पतालमा गएर देखाउँदा राम्रो हुन्छ । तर, सामान्य अवस्था छ भने दिउँसो अस्पताल आएर देखाउन सकिन्छ । सास फेर्न अप्ठ्यारो भयो भनेचाहिँ तुरुन्त अस्पताल लैजानुपर्छ ।
त्यसबाहेक रुघाखोकी वा ज्वरोको वेला केही बच्चालाई बेहोस हुने समस्या छ भने तुरुन्त अस्पताल नै आउनुपर्छ। सामान्य छ भने आत्तिनुपर्दैन। यद्यपि, दिउँसोको समयमा चिकित्सकलाई भेटेर राय–सुझाव लिँदाचाहिँ राम्रो हुन्छ।
बच्चालाई जथाभावी एन्टिबायोटिक औषधि र कपसिरप दिँदा के हानि हुन्छ ?
अचेल अर्को एउटा जटिल समस्या देखिएको छ। बच्चा बिरामी हुँनेबित्तिकै जथाभावी औषधि प्रयोग गरेको पाइन्छ। हामीले अवलोकन गर्दा पनि बच्चालाई औषधिको प्रयोग धेरै गर्न लगाएको देखिन्छ। त्यसकारण बालबालिकालाई रुघा लागेपछि के गर्ने, के नगर्ने भन्नेबारे एकदमै जान्न आवश्यक छ।
रुघाखोकी वा ज्वरो आए के गर्ने ?
बच्चलाई ज्वरो आएमा डराइहाल्नुपर्दैन, तर धेरै ज्वरो आएको छ भने ख्याल गर्नुपर्छ। सुरुमा तौलको आधारमा पारासिटामोल दिन सकिन्छ। रुघाले नाक धेरै बन्द भए सफा गरिदिनुपर्छ। दूध र झोल प्रसस्त खुलाउनुपर्छ। सास फेर्न गाह्राे भएको छ वा छिटोछिटो सास फेरेको छ भनेर हेरविचार गर्ने र डाक्टरलाई देखाउन आवश्यक छ।
रुघाखोकी वा ज्वरो आएको वेला के नगर्ने ?
अचेल धेरै बालबालिकालाई सामान्य बिरामी हुँनेबित्तिकै एन्टिबायोटिक औषधि खुवाएको भेटिन्छ। तर, रुघाखोकी वा ज्वरो आएको छ भनेर अनावश्यक एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुँदैन। त्यसको अत्यधिक तथा जथाभावी प्रयोगले हाम्रो शरीरलाई चाहिने ब्याक्टेरिया पनि हुन्छ। तर, अत्यधिक एन्टिबायोटिक सेवनले शरीरलाई चाहिने ब्याक्टेरिया पनि मर्न सक्छ। त्यसैले एन्टिबायोटिकको धेरै सेवन गर्नु राम्रो हुँदै होइन। त्यसले गर्दा बच्चा बारम्बार बिरामी हुने अवस्था हुन्छ र कुनै अवस्थामा औषधिले काम नगर्ने अवस्था पनि आउन सक्छ।
अर्को डरलाग्दो समस्या भनेको खोकी लागेको वेला जथाभावी कपसिरप प्रयोग गर्नु हो। अचेल यसको पनि धेरै प्रयोग गरेको पाइन्छ। तर, यसले राम्रो गरेको छैन। यसको अनावश्यक प्रयोगले नोक्सान गर्ने अध्ययनले नै देखाएको छ। त्यस्तै, अर्को गल्ती भनेको हामीले बालबालिकालाई ज्वरो आएमा, छातीमा समस्या भएमा बारबार एक्सरे गराउँछौँ र रगतको जाँच गराउँछौँ। यी गर्न नहुने कुरा हुन्। यी सबै कुराले बच्चाको स्वास्थ्यमा कहिलेकाहीँ घाटा पनि हुन्छ। त्यसैले के गर्ने र के नगर्ने भनेर अभिभावकले बुझ्न जरुरी छ।
मेरो विचारमा सकेसम्म स–साना बच्चामा खोकीका औषधि र अन्य एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुँदैन र हामी नगर्नु नै भन्छौँ। यदि गर्नैपरे पनि डाक्टरको सल्लाहअनुसार प्रयोग गर्न सल्लाह दिन्छौँ । कतिपय अभिभावकले औषधि प्रयोग गर्छौैँ भनेर सोध्नुहुन्छ। कतिपयलाई डाक्टरले पनि सुझाब दिनुहुन्छ होला । कस्तो वेला के औषधि खुवाउने भनेर अभिभावकले जान्नुपर्छ। धेरै सानो बच्चालाई औषधि खुवाएको राम्रो होइन। सकेसम्म औषधिको प्रयोग नगर्ने र गर्नैपरे कम औषधिको प्रयाग गर्नुपर्छ।
घरेलु हेरविचार कत्तिको आवश्यक पर्छ ?
अर्को कुरा, रुघाखोकी लागेको छ भने घरमै पनि उपचार गर्न सकिन्छ। नुनपानीले नाक सफा गरिदिने, महपानी पिलाइदिने, तुलसीको पानी बनाएर खुवाउने, झोलिलाे कुरा प्रसस्त खुवाउन, न्यानोमा राख्नेलगायत कुरामा ध्यान दिन जरुरी छ।
रुघाखोकी र ज्वरोबाट कसरी जोगाउने ?
बच्चालाई सकेसम्म दिनहुँ पोसिला, झोलिलो खानेकुरा खुवाउने। न्यानोमा राख्ने। घरमा हिँडडुल गर्ने बयस्क मानिसलाई रुघा धेरै लागेको छ भने त्यस्तो अवस्थामा बच्चालाई सचेत गराउने गर्नुपर्छ। अन्य सदस्य बिरामी भएमा साना बच्चा र बुढाबुढीसँग घुलमिल हुन नदिने, खोक्दा ख्याल गर्नेजस्ता सावधानी अपनाउन सकिन्छ। त्यस्तै, बच्चाहरू स्कुल जाने भएपछि पनि यस्तो रोग सर्ने डर हुन्छ। त्यसलाई कम गर्नलाई इन्फ्लुएन्जाको भ्याक्सिन लगाएको पनि पाइन्छ ।
कति समयमा निको हुन्छ रुघाखोकी र ज्वरो ?
त्यसो त रुघाको ज्वरो पाँच दिनसम्ममा हराउँछ र रुघा पनि त्यति नै दिनसम्म कम हुन्छ। अहिले कान्ति बाल अस्पतालमा दैनिक करिब दुई सय बिरामी इमर्जेन्सीमा आउँछन् । त्यसमध्ये धेरै अर्थात् एकचौथाइ रुघा र ज्वरोका बिरामी छन्। अहिले अस्पतालका आइसियू बेड पनि भरिएका छन्। आइसियूमा रुघाखोकी लागेकाभन्दा पनि रुघाखोकी लागेर जटिल बनेका बालबालिकालाई राखिएको छ।