नेपाल सरकारले बुटिक र डिलक्स होटललाई समेत ‘स्टार’ होटलको मान्यता दिने भएको छ ।
सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी ‘स्टार’ स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन ।
विभागले सबैस्तरका रिसोर्ट, ‘स्टार’ स्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रुपमा ‘स्टार’ चिन्ह निर्धारण गरेको छ । होटल एशोसिएसन अफ नेपाल हान का प्रथम उपाध्यक्ष विनायक शाहले ‘स्टार’ होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारी दिए ।
वर्गीकरण अनुसार वान स्टार देखि फाइभ स्टार होटलको सङ्केत चिन्ह क्रमशः वान स्टार देखि फाइभ स्टारसम्म हुनेछ भने फाइभ स्टार डिलक्स होटलका लागि फाइभ स्टार र डिलक्क शब्द राख्नु पर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर थ्री स्टार हुनेछ । जसको सङ्केत चिन्हमा ‘थ्री स्टार र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ ।
डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘फोर स्टार र डिलक्ज हेरिटेज बुटिक’ शब्दले सङ्केत गरिने भएको छ । लक्जरी हेरिटेज बुटिक होेटलका लागि ‘फाइभ स्टार र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिर्सोटतर्फ साधारण रिर्सोटले थ्री स्टार स्तरको मान्यता पाएको छ ।