मामुरगन्जमा बीपीलाई मैले सोधें– ‘तपाईं फेरि प्रधानमन्त्री हुनुभयो भने मजस्ता युवाको भूमिका के हुनुपर्छ ?’ बीपीको उत्तर थियो, ‘तँ मेरो अपोजिसनमा हुनुपर्छ । प्रजातन्त्रमा पनि विश्वास गर्ने र मलाई पनि माया गर्ने मान्छे अपोजिसनमा भयो भने त्यसले मलाई सधैं सचेत बनाउँछ । मान्छे जो कोही होस्, आलोचना नै भएन भने ऊ बिग्रन्छ । र, डिक्टेटर हुन्छ ।’
तिनताक गौचरन भनिने आजको त्रिभुवन विमानस्थलमा काठमाडौंभरिका मानिस जम्मा भएका थिए । त्यो दिन तत्कालीन राणा सरकारलाई छलेर, आफ्नो अधिकारको पुनःस्थापना र चलिरहेको प्रजातन्त्रको आन्दोलनको समर्थनमा हिन्दुस्तान निर्वासनमा गएका राजा त्रिभुवन तथा नेपाली कांग्रेसका नेता बीपी कोइरालालगायत अरू नेताहरू नेपाल फर्किंदै हुनुहुन्थ्यो । त्रिभुवन र बीपी दुवैसँग पारिवारिक सम्बन्ध भएकाले त्यो दिन हाम्रो घरमा विशेष उत्साह थियो । आमाको विवाहमा त्रिभुवनले कन्यादान दिएकाले मेरी आमा त्रिभुवनको धर्मछोरी (गडडटर) हुनुभयो । राजाको जन्मदिन र अरू चाडबाडमा हामीलाई दुईघोडे बग्गी पठाएर दरबारले बोलाउँथ्यो । मेरो बुवा त बीपीको भतिजा नै हुनुभयो ।
तिनताक काठमाडौंमा कोइराला परिवारका दुईटा मात्र घर थिए– मैतीदेवीमा हाम्रो र टेबहालमा मेरा बुवाका काका ढुण्डीराज कोइरालाको । काठमाडौं आउने कोइराला परिवार, गोप्य आउने, खुलेर आउने सबै हाम्रा दुई परिवारसँग सम्पर्क गर्नुहुन्थ्यो । हुनेसम्म आगन्तुकहरू हाम्रा दुई घरमध्ये कहिँ बस्नुहुन्थ्यो ।
अन्तिम बिरामी भएर चाबेलको घरबाट त्रिभुवन विमानस्थल जाँदा । मोटरको पछाडि स्व. कुबेर शर्मा बीपीको दाहिनेतिर बीपीको जहान सुशीला र छोरी चेतना ।
प्रजातन्त्र आउनुअघि, २००५–०६ सालतिर बीपी गोप्य रूपमा क्रान्तिका लागि कांग्रेसको संगठन गर्न आएका बेला आफूसँग भएको भेटबारे बुवाले सुनाउनुहुन्थ्यो । एक दिन मैतीदेविबाट बत्तीसपुतली जाँदै गर्दा उकालोमा मयलपोश, सुरुवाल, पलान्चोके जुत्ता (फित्ता नभएको काँचो छालाको, गाउँमै बनाएको जुत्ता) लगाएर साइकल घिसार्दै हिँडिरहेको एउटा अग्लो, गोरो मान्छेसँग बुवाको आँखा जुध्न गएछ । त्यो मान्छेले ‘ए गोविन्द’ भनेपछि काका, भतिजाको भेट भयो रे ! त्यसपछि बीपीले ‘गौचरनको जंगलमा भारतीय दूतावासको एउटा ठूलो मान्छे भेट्नु छ, हिँड् जाऊँ’ भनेपछि दुई जना गौचरनतिर लाग्नुभएछ ।
बीपीको अन्तिम अन्तर्वार्ता । स्व. गणेशराज शर्मा लिँदै हुनुहुन्छ ।
गौचरनबाट छुट्टिएपछि बीपीसँग बुवाको सम्पर्क भएन । २–३ दिनपछि बीपीलाई राणा सरकारले गिरफ्तार गरेको खबर आयो । पछि जवाहरलाल नेहरू र महात्मा गान्धीको दबाबमा महाराज मोहनशमशेरले बीपीलाई छाडे । २००७ सालपछिको अन्तरिम सरकारमा मोहनशमशेर प्रधानमन्त्री र बीपी गृहमन्त्री हुनुभयो ।
ओसन पार्कको केबलकारमा ।
गृहमन्त्री नै छँदा भरतशमशेरको अगुवाइमा राणापक्षीय खुकुरी दलका मान्छेहरूले बीपीलाई त्रिपुरेश्वर निवासमै हमला गरे । त्यसबेला मेरो बुबा पनि त्यहीँ हुनुहुन्थ्यो । बुवाले भनेअनुसार, गणेशमानजी र बीपी त्यस घरको मूल सिँढीसँगै जोडिएको कोठामा कुराकानी गर्दै हुनुहुन्थ्यो । बुवाले बीपीलाई ‘हूल तल आइसक्यो, फर्निचर र कागजपत्र जलाउँदै छन्, तपाईंलाई हमला गर्न आउँदै छन्, भीडलाई रोक्नुपर्यो, माथि आउन दिनुभएन’ भन्नुभयो । बीपीले रोक्न मान्नुभएन । अनि बुवाले नजिकैको दराजबाट पिस्तोल झिकी, त्यसमा गोली भरेर बीपीलाई दिनुभयो । आफू बसेको कोठाको ढोकाको एउटा खापा लगाएर बीपीले भर्याङतिर हेर्दै गणेशमानजीसँग कुराकानी गर्न थाल्नुभयो । बुवाचाहिँ बाथरुममा लुक्न जानुभयो । बीपीले ‘आत्मवृत्तान्त’ मा खुकुरी दलका मान्छेहरू नाङ्गो खुकुरी लिएर भर्याङ चढ्न थाल्दा आफूले पिस्तोल चलाएको घटना वर्णन गर्नुभएको छ । त्यो पिस्तोल कहाँबाट आयो भनेर आजसम्म कोही इतिहासकारले लेखेका छैनन् । मैले त बुबाले भनेको मात्रै सुनेको हुँ ।
त्रिभुवन विमानस्थलमा अन्तिम बिरामी भएर दिल्ली जाँदा । साथमा गणेशमानजी, किसुनजी र गिरिजाप्रसाद कोइराला र अन्य ।
२००७ सालदेखि बीपी प्रधानमन्त्री हुँदासम्म मैले उहाँलाई भेटेको उति सम्झना छैन । मात्र मेरो एसएलसीको परीक्षाफल आएपछि बीपीले ‘हाम्रो परिवारमा सबैभन्दा छिटो एसएलसी पास गर्ने तैं होस्’ भनेर एउटा राम्रो जर्मन पेन (पेलिकन) दिनुभएको सम्झना छ । २०१७ सालमा महेन्द्रले बन्दी बनाएपछि उहाँसँग कुराकानी गर्ने मौका मिलेन । खालि सुन्दरीजलमा र महाराजगन्जको पुलिस चौकीमा परिवारका अरू सदस्यसँग उहाँलाई भेट्न जाँदा देखादेख, साधारण सञ्चोविसञ्चो र पढाइबारे मात्रै कुरा हुन्थ्यो ।
चाबेलमा गशेणमानजी र गिरिजाप्रसाद कोइरालासँग ।
२०१७ सालमा बुवा प्रहरीमा गुप्तचर विभागको डीएसपी हुनुहुन्थ्यो । तत्कालीन आईजीपी डी. राज शर्माले महेन्द्रले सत्ता कब्जा गर्नुभन्दा केही दिन पहिले बुवालाई ललितपुरका सबै राजनीतिज्ञहरूको सूची बनाउन भनेछन् । तिनताक काठमाडौंमा राजाले सत्ता लिँदै छन् भन्ने हल्ला व्यापक थियो । ‘केही हुँदै छ’ भन्ने शंका लागेर काण्ड हुनुभन्दा केही दिनअघि बुवा बीपीलाई भेट्न जानुभएछ । बुवाले भन्नुभएछ, ‘सान्दाजु राजाले ठूलो चाल गर्दै छन् भन्ने सुन्छु, तपाईं भाग्नुपर्यो ।’
बीपीको स्वर्गारोहणपछि श्रद्धाञ्जली दिने जनमानस ।
‘राजाले केही एक्सन गरेकै छैन, म त्यसै भागेँ भने ल आफैं भाग्यो भन्छन् । मैले के जवाफ दिने ? त्यस्तो काँतर काम म गर्दिनँ, मैले आफ्नो काम गरिराख्नुपर्छ । राजाले एक्सन लिए भने जे हुन्छ सामना गर्नुपर्छ,’ बीपीले अलि झर्को मानेजस्तो गरेर बुवालाई फर्काइदिनु भएछ ।
२०१७, पुस १ गते अपराह्न राजाले सत्ता आफ्नो हातमा लिएको घोषणा गरे । प्रधानमन्त्री बीपीलगायत सबै मन्त्री तथा कांग्रेसका नेताहरू बन्दी बनाइए । राजाको घोषणा आउँदा म त्रिचन्द्र कलेजमा आईएस्सी पढ्थें । घोषणा सुन्नेबित्तिकै म कलेजबाट एकै सासमा दौडेर मैतीदेवी घर आएँ । परिवारका सबैलाई खबर सुनाएँ ।
केही महिना सिंहदरबारको कठोर कारावासपछि बीपीलाई सुन्दरीजल जेल सारियो । सुन्दरीजलमा सुरुसुरुमा सुशीला आमा (बीपी–पत्नी) र उहाँका आफ्नै परिवारका मानिसलाई मात्र भेट्न दिइयो । छ–आठ महिनापछि परिवारका अरु सदस्यलाई पनि भेट दिन थालियो । त्यसपछि मात्रै हामीले पनि बीपीलाई भेट्न पायौं । पछि भारत निर्वासनबाट फर्केपछि उहाँलाई महाराजगन्जको पुलिस थानामा राखिएको थियो । त्यहाँ पनि म पटकपटक भेट्न गएको छु । तर, बीपीसँग मेरो सार्थक भेटघाटचाहिँ उहाँ भारत निर्वासनमा हुँदा र नेपाल फर्केपछि भयो ।
बीपी भारत निर्वासनमा छँदा म इन्जिनियरिङ सिध्याएर नेपालको सडक विभागमा जागिरे थिएँ । मलाई बीपीका दार्शनिक, इतिहास र राजनीतिक कुरा मन पर्थे । बेलाबेला उहाँ आफैंले पनि बोलाउनुहुन्थ्यो, कहिलेकाहीं म आफैं पनि उहाँलाई भेट्न बनारस, दिल्ली जान्थेँ । पहिलोचोटि बनारस
(मामुरगन्ज) जाँदा बीपी कौसीमा बसेर लुगा धोइरहनुभएको थियो । त्यति ठूलो मान्छे, आफैंले लुगा धोएको दृश्यले मलाई अचम्भित तुल्यायो । त्यसबारे हामीले पछि कुरा पनि गर्यौं । बीपीले भन्नुभएको थियो, ‘कुनै काम पनि सानो हुँदैन । सकेसम्म आफ्नो काम आफैं गर्नुपर्छ ।’
मामुरगन्जमै छँदा एक दिन उहाँले मलाई भन्नुभयो, ‘कुनै पनि विषयमा बीसवटा प्रश्न गर्, त्यसबारे तँ र म बहस गरौं ।’ उहाँ तन्नेरीहरूसँग बहस गर्न खुब रुचाउनुहुन्थ्यो ।
सबै प्रश्न त सम्झिन्न, एक–दुईटा सम्झिन्छु । जस्तो– मैले सोधेको थिएँ, ‘तपाईं फेरि प्रधानमन्त्री हुनुभयो भने मजस्ता युवाको भूमिका के हुनुपर्छ ?’
‘तँ मेरो अपोजिसनमा हुनुपर्छ ।’
उहाँको यस्तो जवाफले म स्तब्ध हुन्थें, किनभने त्यो मेरो आशाभन्दा बिलकुल भिन्न हुन्थ्यो । ‘म किन अपोजिसनमा हुनुपर्छ ?’ भनेर पुनः सोधें । ‘प्रजातन्त्रमा पनि विश्वास गर्ने र मलाई पनि माया गर्ने मान्छे अपोजिसनमा भयो भने त्यसले मलाई सधैं सचेत बनाउँछ । मान्छे जो कोही होस्, आलोचना नै भएन भने ऊ बिग्रन्छ । र, डिक्टेटर हुन्छ ।’
मेरो अर्को प्रश्न थियो, ‘कन्सेन्सस भनेको के हो ?’
‘मानौँ घरमा मैले जे भने पनि सबैले हुन्छ भन्छन् । कसैले विमति जनाउँदैनन् । त्यस्तो भयो भने कन्सेन्सस हुन्छ, त्यस्तो सधैं हुन थाल्यो भने त्यसले अन्त्यमा डिक्टेटर सिर्जना गर्छ । कुनै कुरामा पनि विभिन्न विचार हुनुपर्छ । ती सबैबाट निचोड निकालेर निर्णय हुनुपर्छ । ठूलो मान्छेले बोलेपछि हो–हो भनेर निर्णय गर्नु एकदमै खतरनाक हुन्छ ।’
कति सरल भाषामा उहाँले प्रजातन्त्रको विशेषता प्रस्ट पारिदिनुभयो, जुन शैलीले विश्वविद्यालयमा कहिल्यै पढाइएन । विश्वविद्यालयमा त परिभाषा र सिद्धान्तमा मात्रै जोड दिइन्छ ।
एकचोटि भारतका प्रख्यात समाजवादी नेता र बीपीका अनन्य मित्र जयप्रकाश नारायण मामुरगन्ज आउनुभएको बेला म त्यहीँ थिएँ । जयप्रकाशजीले ‘बीपी से बात करना बहुत मुस्किल है, ये तर्क करके बाल से तेल निकालता हे’ भन्दै बीपीको कोठासँगैको भर्याङबाट ओर्लेको सम्झना आउँछ । बीपीको तार्किक क्षमता मैले पनि धेरैपटक अनुभव गरेको छु ।
राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभन्दा पाँच–छ महिनाअघि बीपीले मलाई दिल्ली डाक्नुभएको थियो । एकजना प्रतिष्ठित, माथिसम्मै पहुँच भएका भारतीयले मसँग भनेका थिए, ‘भनिदेऊ बीपीलाई, यी सोसलिस्टहरूसँग लागेर र इन्दिरा गान्धीसँग झगडा गरेर कहीँ पनि पुगिँदैन । उनी इन्दिरा गान्धीको कुरा मानेर, उनको सहयोग लिएर नेपाल फर्के भइहाल्छ नि । अनि आफू प्रधानमन्त्री भएपछि इन्दिरा गान्धीले भनेजस्तै गर्नुपर्ने जरुरत के छ र ?’
त्यसअघि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले बीपीसँग भनेकी थिइन्– जयप्रकाशजीलाई भनेर उनले थालेको भारतव्यापी आन्दोलन रोक्ने कोसिस गर्नुस् । बीपीले त्यो अनुरोध अस्वीकार गर्नुभयो । बीपी र गान्धीको सम्बन्धमा त्यसले पनि तनाव सिर्जना गर्यो ।
मैले बीपीसँग मेरा भारतीय मित्रले भनेको कुरा सुनाएँ । बीपीले सोध्नुभयो, ‘तँलाई यो कुरा कसले भन्यो ?’ म चुप रहेको देखेर उहाँले रिसाएर भन्नुभयो, ‘मजस्तो मान्छेले इन्डियासँग कमिटमेन्ट गरिसकेपछि त्यो कुरा फिर्ता लिन सक्छु ? त्यसपछि म इन्डियाको दबाबमा, इन्डियाको कन्ट्रोलमा बस्ने ? म दोर्जे हुँ ? (सिक्किमका काजी लेण्डुप दोर्जी, जसलाई प्रयोग गरेर भारतले सिक्किम आफ्नोमा गाभेको थियो) त्यसभन्दा त बरु राजासँग मिलेर काम गर्छु ।’
त्यसैबेला दिल्लीमा भएको अर्को घटना याद आउँछ । बीपीले मसँग भन्नुभएको थियो, ‘मैले तँलाई ओखलढुंगा जा भनेको भए जान्थिस् ?’ म अनकनाएँ । त्यतिबेला नेपाली कांग्रेसले ओखलढुंगा कब्जा गरी, त्यसलाई आधार बनाएर पूरै नेपाल राज्यमाथि कब्जा जमाउने उत्ताउलो आँट गरेको थियो । ओखलढुंगा द्वन्द्वमा दुई होनहार युवक– राम र लक्ष्मणलगायत कांग्रेसका सबैजसो लडाकु सरकारी सेनाबाट मारिएका थिए । बीपीलाई राम, लक्ष्मणको मुत्युले असाध्यै पीडा दिएको रहेछ । उहाँ भन्नुहुन्थ्यो, ‘कहिलेकाहीँ म किन प्रकाश (बीपीका जेठा छोरा) लाई पठाइनँ, राम–लक्ष्मणलाई चाहिँ पठाएँ भन्ने सोच्छु ।’ मलाई लाग्छ, उघ्रिँदै गएको अरू भूराजनीतिक अवस्थालगायत सायद यही अनुभव र इन्दिरा गान्धीको अमान्य व्यवहारपछि नै बीपीको त्यसपछिको राजनीतिले शान्तिपूर्ण बाटो लिएको थियो ।
दिल्लीको त्यो भेटको केही महिनापछि बीपी नेपाल फर्कनुभयो र यहाँको राजनीतिले अर्को बाटो समात्यो ।
बीपी दार्शनिक, राजनेता, इतिहासकार, साहित्यकार सबै हुनुहुन्थ्यो । मेरा लागि त अनेक दृष्टिले मार्गदर्शक हुनुहुन्थ्यो । अरू साधारण मानिसजस्तै उहाँमा पनि प्रशस्त मानवीय कमजोरी त थिए, तर उहाँको विशेषता थियो– आफ्नो मूल्यमान्यतामा कहिल्यै सम्झौता नगरि कमजोरी चिनेर तिनलाई इमान्दारीसाथ सुधार्न कोसिस गर्ने । त्यसैले उहाँको स्मृति मेरा लागि सधैं प्रेरणादायी छ ।
मैयाँहजुरको चिठी
–होमकुमारी कोइराला
मेरी आमा होमकुमारी कोइराला ‘मैयााहजुर’ को नाम उहााका परिवारबाहेक विरलै कसैले सुनेका होलान् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा राजा त्रिभुवन र प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई नजिक ल्याउनेमध्ये उहाा पनि एक हुनुहुन्थ्यो । उहााकी आमा राजा त्रिभुवनको भान्से हुनुहुन्थ्यो । त्रिभुवनले त्यसबेलाको विश्वासअनुसार, ‘रजश्वलाअघि नै कन्यादान दिए धर्म कमाइन्छ’ भनेर दरबारमै हुर्केकी मेरी आमालाई ९ वर्षकै उमेरमा कन्यादान गरिदिए, गोविन्दप्रसाद कोइरालासाग विवाह भयो । तिनताक राजा भेट्न बाहिरका मान्छेले राणाहरुको अनुमति लिनुपर्थ्यो । दरबार पस्नुअघि भेट्ने मान्छेले लिएर आएको सबै सामान जााचिन्थ्यो । तर, राजाकी ‘छोरी’ भएकाले चाडबाडमा दरबार आउादा–जाादा मैयााहजुरको जााच खुकुलोसाग गरिन्थ्यो । यसको फाइदा उठाउादै मेरी आमा जोखिम मोलेरै टंकप्रसादले जेलबाट लेखेका चिठीहरु आफ्नो भित्री चोलीभित्र लुकाएर राजासमक्ष पुर्याउनुहुन्थ्यो । प्रजातन्त्र आएपछि पनि आमाले राजाको जन्मोत्सवमा उपहारस्वरुप राजनीतिक किताबहरु त्रिभुवनलाई पठाउने गर्नुहुन्थ्यो ।
(यहाँ प्रयुक्त तस्बिरहरू लेखक नरेश कोइराला आफैंले खिचेका र उनको संकलनबाट लिइएका हुन् । क्यानडा बसिरहेका उनी भूप्राविधिक परामर्शदाता हुन् ।)