समय हाँकिरहेका उत्कृष्ट र प्रिय गायक शिव परियार

भर्खर १२ वर्ष मात्र लागेका उनी श्री सरस्वती माध्यमिक विद्यालय, हजारिया, सर्लाहीमा कक्षा-७ मा अध्ययन गर्दथे। चञ्चले स्वभाव, घरको एक्लो छोरो उनी विद्यालय जाने साथीभाइहरूसँग खेल्ने, डुल्दै हिड्ने क्रममा बालपनमा आफ्नै सुरमा गीत गाउँदै हिँड्ने गर्थे। त्यस दिन २०५१ सालको भदौ महिना विद्यार्थीले भरिभराउ उनको कक्षा कोठामा शिक्षकले बाल दिवसको उपलक्ष्यमा सर्लाहीको मलंगवामा जिल्ला स्तरीय बालगीत प्रतियोगिता हुन गइरहेको र इच्छुक विद्यार्थी भाइबहिनीहरूले भाग लिन सक्ने सूचना दिनु हुँदै गर्दा अनायास उनीसँगै बस्ने साथीले लहडीपनमा बीचमै भनिदिन्छन्-सर, यसले पनि गीत गाउँछ रे। अघिपछि हिँड्ने, सँगै खेल्ने क्रममा उनले गाउँदै हिँडेको सुनेका ती साथीले उनले शिक्षकको कुटाइ खाओस् भन्ने मनसायले त्यसरी अचानक उनीतिर औंल्याइदिँदा कक्षामा उपस्थित शिक्षक लगायत सबैको दृष्टि उनी माथि पर्न गयो।

शिक्षकको अघिल्तिर बोल्न नै डर लाग्ने त्यस समयमा कक्षाको कालोपाटी अगाडि सबैसामु उभिएर गाउनुको कल्पना गर्नु त पर जाओस्। उनी सोच्न पनि सक्दैनथे तर साथीले त्यसो भन्नेबितिकै सरले उनलाई ‘ओइ आइज त’ भनेर अघिल्तिर बोलाउनुभयो र गाउन लगाउनुभयो। उनले आफूलाई जुन गीत आउँछ, निर्धक्क साथ गाइदिए। उनको गीत सकिनेबितिक्कै सबैको तररर तालीले कक्षाकोठा गुञ्जायमान हुनपुग्यो। लगतै सरले उनलाई विद्यालयको अफिसमा लग्नुभयो। बाँकी अन्य शिक्षकशिक्षिकाहरू सामु पनि उसैगरी गाउन लगाउनुभयो। त्यहाँ पनि उनले उसैगरी गाइदिए। सबैको ताली पाएँ र त्यस वर्ष उनी आफ्नो विद्यालयबाट जिल्ला स्तरीय बालगीत प्रतियोगितामा सहभागिता जनाउने भए।

सर्लाही जिल्लाका धेरै विद्यालयबीच सदरमुकाम मलंगवास्थित कृष्णमति बोर्डिङ स्कुलको प्रांगणमा सम्पन भएको त्यस प्रतियोगितामा उनी बिहानको गाडी चढी प्रतियोगितामा सहभागिता जनाई बेलुकीको गाडीमा घर फर्केका थिए। नतिजा त्यसै दिन आएको थियो तर उनले भोलिपल्ट मात्र थाहा पाए। त्यस दिनको नतिजाले उनले जीवनमा कहिल्यै कल्पना नगरेको सफलता हासिल गरे।

उनी त्यस वर्ष जिल्ला स्तरीय बालगीत प्रतियोगितामा जिल्लाभरिमा नै प्रथम भए। यसरी एक साथीले अन्जानवश त्यसदिन गरेको फट्याइँ उनको प्रतिभा प्रस्फुटनको स्वर्णिम दिन सावित हुन पुग्यो। २०५३ सालमा विद्यालयले फेरि उनलाई नै सहभागिता जनाउन पठायो र दोस्रो पटक पनि उनी नै प्रथम भए। उनले जीवनमा त्यसयता जति पनि प्रतियोगितामा सहभागिता जनाए, कहिल्यै दोस्रोे हुनुपरेन। उनमा भएको गायन प्रतिभा उनको गलामा सरस्वतीको आशीर्वाद थियो र मात्र पर्खाइ सही समयको।

निश्चय पनि नेपाली संगीतले एक होनहार प्रतिभावान् गायक शिव परियार पाउनु थियो। सर्लाही हजारियामा एक निम्न मध्यम वर्गीय परिवारमा जन्मेका उनी बाल्यकालमा गाउँमा डुल्दैखेल्दै हिँड्ने क्रममा गाउँदै हिँड्थे। उनमा भएको प्रतिभाले एक दिन उनलाई नेपालको गायकका रूपमा परिचित गराउला भन्ने कल्पना सायद कहिल्यै उनी स्वयम्ले पनि गरेका थिएनन्। विगत बाइस वर्षदेखि नेपाली संगीतमा अनवरत् रूपमा साधनारत् उनी आज संगीतपे्रमी हामी सबैका सर्वप्रिय गायक तथा संगीतकार बनेका छन् र उनले आफूलाई संगीतको एक इमान्दार साधक ठान्छन्।

नेपाली संगीतमा आफूलाई गायक-संगीतकारका रूपमा स्थापित गराइसकेका गायक शिव परियारले प्राप्त गरेको सफलता, लोकप्रियता, स्वदेश तथा विदेशमा रहेका आफ्ना लाखौं प्रशंसक शुभचिन्तकहरूको अपार माया, सद्भावप्रति आदरपूर्वक शिर निहुराउने गर्दछन्।

गाउँको स्कुलमा पढ्ने एक बालक जसको सङ्गीत क्षेत्रमा न कोही थिए, न त पर्याप्त स्रोतसाधन नै थियो। हिजो गाउँको स्कुलको कक्षा कोठामा शिक्षकको आदेशमा गाउने बालक आजका लोकप्रिय गायक शिव परियार बन्न उनले पार गरेका सङ्गीतयात्रा भने पक्कै सजिलो थिएन।

संगीत क्षेत्रमा उनले गरेको अथक साधना, प्रयास, कडा मेहनत, लगन, निरन्तर साधना, सङ्गीत क्षेत्रमा प्रवेश गर्न चाहने प्रत्येक युवापुस्ताका लागि एउटा गहकिलो शिक्षाप्रद प्रेरणा बन्न सक्दछ।

आकर्षक व्यक्तित्व, मुस्कुराउँदै मीठो लबजमा बोल्न रुचाउने गायक शिव परियार त्यस दिनको सम्झना गर्छन्-कलिलो उमेर अनि बालक मानसपटल। मनमा न प्रतिस्पर्धाको भावना थियो, न त आफूमा गायन प्रतिभा छ, मञ्चमा गाउँछु, प्रथम हुन्छु भन्ने नै ज्ञान थियो। सबैले कति मिठो स्वर भनी वाहवाह! गरे। जिल्ला स्तरीय बालगीत प्रतियोगितामा प्रथम भएलगतै स्कुलदेखि गाउँगाउँ टोलटोलमा हुने साङ्गीतिक कार्यक्रममा गाउनका लागि निमन्त्रणा आउन थाल्यो।

यसरी गाउँमा त कहिले सदरमुकामसम्म पुग्दै गाउँदा परिवारबाट कुनै रोकतोक भएन उनलाई। यसैलाई गायक शिव आफ्नो परिवारको मौन स्वीकृति ठान्छन्। चकचके गाउँ डुल्दै हिँड्ने बालक, गाउँका गन्यमान्य प्रबुद्ध वर्गबाट जब उनलाई यो फुच्चेले राम्ररी सङ्गीत पढे निकै अघि बढ्ने छ भन्ने हौसलापूर्ण शब्दहरू सुनेपछि उनमा साच्चै संगीत जान्ने हुटहुटी बढ्न थाल्यो तर गाउँ छाडी सहरमा बसी संगीत पढ्न भने पक्कै सहज थिएन। उनी त्यो समय सम्झँदै भन्छन्।

‘गाउँको साधारण किसान परिवारको एक्लो छोरो म मेरो परिवारमा यसअघि कोही कसैले काठमाडौं टेकेकोसमेत थिएन। काठमाडौं आएर पढाइलाई निरन्तरता दिँदै सङ्गीत अध्ययन गर्नु मेरा लागि सहज थिएन। परिवारले मलाई दुई वर्षसम्म पढ्नका लागि आवश्यक खानपान र खर्चको बन्दोबस्त गरिदिने भएपछि म भर्खर किशोरावस्थाको आलोकाँचो उमेरमा संगीतप्रति तीव्र चाहना, साथीभाइको लहडमा २०५६ सालमा एसएलसी परीक्षा सकेर काठमाडौंमा आएँ।’

भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय। काठमाडौं आएलगतै उनले भोटाहिटीस्थित ललितकला क्याम्पसमा संगीत विषयको अध्ययन सुरुवात गरे।

उनको यता काठमाडौंमा भने बसोबासका लागि कुनै निश्चित ठेगान थिएन। कहिले नजिकका साथीभाइ त कहिले आफन्तकहाँ बस्ने गर्दथे। घरबाट उनलाई केवल दुई वर्षसम्मका लागि मात्र गासको व्यवस्थाको आश्वासन थियो। आफूसँग भएको साङ्गीतिक प्रतिभालाई थप उजागर गर्नका लागि उनलाई काठमाडौं टिक्नु मात्र होइन, आफ्नो बन्दोबस्त मिलाउनुपर्ने समेत बाध्यता थियो। या त सङ्गीतप्रति आफ्नो मोह त्यागेर गाउँ फर्कनुपर्‍यो, कि यो दुई वर्षभित्रमा आफ्ना लागि आवश्यक खर्चको व्यवस्था गर्नुपर्ने बाध्यात्मक परिस्थिति थियो। ‘आवश्यकता नै आविष्कारको जननी’ भनेझैं उनी सङ्गीतप्रतिको मोह त्याग्ने पक्षमा थिएनन्। सङ्गीतमा निकै गम्भीर आफ्नो खर्चका लागि किशोर उमेरका शिव परियारलाई जागिर खानुथियो। उनी दिनरात भोकप्यास सबै बिर्सिएर आफ्नो ध्यान सङ्गीततिर नै केन्द्रित गरिरहे।

उनले ललितकला क्याम्पसमा सङ्गीत विषयका गुरु चन्दनकुमार श्रेष्ठबाट शास्त्रीय गायन तथा रविनलाल श्रेष्ठबाट शास्त्रीय तबला वादनको शिक्षा प्राप्त गरे। गायक शिव परियार भन्छन्-प्रारम्भिक चरणदेखि गुरु चन्दनकुमार श्रेष्ठ र गुरु रविनलाल श्रेष्ठ सामीप्यतामा सङ्गीत प्रशिक्षण प्राप्त गर्न पाउनु मेरो अहोभाग्य हो।

त्यस बेला उनी दिनको दुई घण्टा चन्दन गुरुबाट गायनको प्रशिक्षण लिने गर्दथे र करिब दिनभरि नै त्यसको अभ्यासमा तल्लीन रहने गर्दथे। चन्दन गुरु र रविन गुरुबाट गायन तथा तबला वादनको घरानिया सङ्गीत अध्ययनको संस्कारमा बसेर निरन्तर रूपमा सङ्गीत प्रशिक्षण लिँदै करिब अढाई वर्ष समयमा आफै हार्माेनियम तथा तबला बजाउँदै गाउन सक्ने भए।

सर्लाही हजरियाबाट आएका एक किशोर जसको काठमाडौंमा न खानेबस्ने ठेगान नै थियो, न त खल्तीमा आवश्यक खर्च। थियो त केबल मनमा सङ्गीतप्रति अपार लगाव। जसलाई उनी कुनै हालतमा छोड्ने पक्षमा थिएनन्। सङ्गीतप्रति अदम्य लगाव भएका सत्र वर्ष पुग्दानपुग्दैका किशोर शिव परियारले त्यसै बेला सीतापाइला अवस्थित शुभयोग बोडिङ स्कुलमा महिनाको (२५००) पच्चीस सय तलबमा सङ्गीत प्रशिक्षकको जागिर पाए, जसले उनलाई काठमाडौंमा आफै डेरा लिएर बस्न सक्ने गरी आत्मनिर्भर बनाउनमा ठुलो सहयोग पुर्‍यायो।

उनी ती समय सम्झँदै भन्छन्-म शुभयोग स्कुलका प्रधान अध्यापक शिक्षक-शिक्षिकाहरूप्रति आभारी छु। संघर्षरत जीवनका मेरा ती कठिन समयमा सङ्गीत प्रशिक्षकको त्यो जागिरले मलाई काठमाडौंमा टिकाइ राख्नमा बलियो आधार दियो। यसले मलाई अझ गहिरिएर सङ्गीतमा लागेर केही गर्न सक्छु भन्ने आत्मबल दियो। स्कुलको नियमित कक्षा समाप्त भएपछि ऐच्छिक विषयका रूपमा एक घण्टाको संगीत कक्षा हुने गर्दथ्यो।

उनी भन्छन्-मैले आफ्नो गुरुबाट जेजसरी सङ्गीतको ज्ञान पाएँ, ती ससाना विद्यार्थी भाइबहिनीहरूलाई उस्तै रूपमा सङ्गीतको प्रशिक्षण दिने प्रयत्न गरें। फलस्वरूप विद्यालय प्रशासन र अभिभावक मबाट सन्तुष्ट हुनुभयो। यसले मभित्र थप ऊर्जा प्रदान गर्न मद्दत गर्‍यो।

त्यस समयमा उमेरले १८ वर्ष पुग्दा नपुग्दैका शिवले भारतमा ग्वालियर घरानाबाट शास्त्रीय सङ्गीतमा संगीत प्रवीण दीक्षित चन्दनकुमार श्रेष्ठ गुरुद्वारा सञ्चालित हुँदै आइरहेको असन कमलाछीस्थित गान्धर्व सङ्गीत विद्यालयमा गुरुशिष्य परम्परामा शास्त्रीय गायनको विस्तृत शिक्षा लिन थाले। गुरुशिष्यको त्यस परम्परामा शिव परियार सङ्गीत अध्ययन र साधनाका लागि वर्तमानसम्म पनि जोडिएर रहेका छन्।

आज सफलताको शिखर चुम्दा पनि गायक शिव आफ्नो गुरुबाट साङ्गीतिक ज्ञान पाउने अभिलाषा उस्तै राख्छन्।

नेपाली संगीत क्षेत्रमा औपचारिक रूपमा शिव परियारको प्रतिभाको पहिचान विसं २०५९ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीतगायन प्रतियोगितामा सुरेश वाग्लेको रचनामा रहेको ‘जति बिस्र्याे तिम्रो याद आउन खोज्छ, किन होला’ बोलको नेपाली गजल गाएर आधुनिक गीतगायन स्वरतर्फ प्रथम स्थान हासिल गरका थिए। तत्पश्चात् शिव परियारले नेपाली संगीतमा सफलताको पहिलो पाइला चुमे। यो सफलताले उनलाई नेपाली संगीतमा गायकको रूपमा पहिचान दिलाउनमा ठुलो सहयोग पुर्‍यायो।

यसरी रेडियो नेपालमा आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम स्थान हासिल गरी आफूलाई रेडियो नेपालको ‘क’ श्रेणीका गायकका रूपमा परिचित गराए। त्यस समयमा उमेरले २० वर्ष टेक्दैका गायक शिवको यो सफलताले उनलाई सङ्गीत साधना गर्न थप हौसला मात्र दिएन, जीवनमा नै पहिलोपटक रेडियो नेपालको स्टुडियोमा दिग्गज वाद्यवाद्यक कलाकारको साथमा २०६० साल वैशाख ४ गते विहीबार लाइभ गजल रेकर्ड गर्ने सुअवसर पाए। उनी रेडियोमा गीत रेकडिङ सकाएपश्चात् सो गीत बज्ने व्यग्र प्रतीक्षा गर्दै रहे। जब रेडियोबाट गायक शिव परियारको गजल भनी आफ्नो स्वरमा गीत बजेको सुन्दाको त्यो क्षणले उनलाई व्यक्त गर्न नसकिने खुसी प्रदान गरेको बताउँछन्।

नेपाली संगीतको औपचारिक संस्था मानिने रेडियो नेपालबाट प्राप्त यो सफलतापछि गायक शिवको साङ्गीतिक जीवन एवम् उनको सङ्गीत साधनाको निरन्तर मेहनतले सही दिशा मात्र पाएन, सङ्गीत प्रेमी नेपाली स्रोतावर्गले शास्त्रीय संगीतमा राम्रो ज्ञान हासिल गरेका सुमधुर स्वरका धनी गायक पायो। परिश्रमको फल मीठो हुन्छ भन्ने भनाइ वास्तवमै उनले सङ्गीत क्षेत्रमा पाएको सफलताले चरितार्थ गराउँछ। यसलगतै गायक शिव परियारको साङ्गीतिक जीवनले सफलताको उकालो चढ्दै गयो।

विसं २०६२ सालमा उनको पहिलो डेब्यु एल्बम ‘मोक्ष’ रिलिज भयो, जुन व्यावसायिक रूपमा निकै सफल हुन पुग्यो। त्यसले गायक शिव परियारलाई स्वदेशमा मात्र नभई विदेशमा समेत परिचित गरायो। उनलाई नेपालबाहिर कार्यक्रमका लागि निमन्त्रणा आउन थाल्यो। २०६६ साल पुस महिनामा कतारमा उनी जीवनको पहिलोपल्ट साङ्गीतिक प्रस्तुतीका लागि देशबाहिर पुगे। जुन सिलसिलाले हाल झन् उनलाई निकै व्यस्त बनाएको छ।

फूलै फूल दिन्छौ कि’, ‘पिलायो साथीले’ ‘फेला तालमा साइली डुङ्गा सरर’, ‘अलिकति नजर तिम्रो झुकाएर आऊ’ ‘कहाँ थियौ तिमी रगमञ्च’ ‘क्या दामी भो’, ‘पागल बनायौ प्रिय’, ‘रिमझिम यादहरू’, ‘लगायौ माया साट्यौ नि मुटु नभेटी नभेटी’, ‘आँसुको अर्थ के थाहा रुवाइ जानेलाई’, ‘मेरो भागको खुसी तिमीलाई मिलोस्’, ‘जितेर पनि हारमा छु’, ‘पाकेर खाको फल मिठो’, ‘धैरै चोटी मरेँ म त’, ‘धोकेबाज हौ तिमी’ लगायत शिव परियारका दर्जनौं लोकप्रिय गीतहरू रहनुका साथै हालसम्म एघार वटा साङ्गीतिक सङ्ग्रह रिलिज भएका छन्।

आफ्नै शैली, सङ्गीत, स्वरको मिठासपूर्ण समीश्रण भएका आधुनिक, गजल, लोकगीत, राष्ट्रिय गीत, पप गीत चलचित्रहरूमा पाश्र्य गायन सबै प्रकारका गीतहरूमा स्वर दिइसकेका भर्सटाइल गायकका रूपमा आफूलाई अब्बल सावित गराएका शिव परियारका गीतहरू युवा पुस्तामाँझ निकै लोकप्रिय रहेका छन्। उनी गायनमा मात्र नभई एक कुशल सङ्गीतकार पनि हुन्। उनको संगीतमा छुट्टै मिठास पाइन्छ। उनका सङ्गीतमा लोकप्रिय रहेका गीतहरू क्रमशः ‘अलिकति नजर तिम्रो’, ‘कहाँ थियो तिमी रंगमञ्च’, ‘लगायौ माया साट्यौ नि मुटु नभेटी नभेटी’, ‘पाकेर खाको फल मिठो’, ‘धेरैचोटि मरेँ म त’, ‘मेरो भागको खुसी’ लगायत दर्जनौं गीतहरू रहेका छन्।

उनका बारेमा गीतकार तथा कवि दिनेश अधिकारीले अहिलेको समय हाँकिरहेका उत्कृष्ट र मेरा प्रिय गायक हुन् शिव परियार! साधनाले खारिएका गायक कलाकारका रूपमा पनि उनको स्थान उँचो छ भनेका छन्।

सङ्गीत क्षेत्रमा संघर्षरत गर्दैदेखिका गायक परियारका परिचित सङ्गीतकार जुगल डंगोल भन्छन्-आफ्नै गायनशैली भएका, सङ्गीतका लागि मरिमेटी लागेका, संगीत साधनाले परिष्कृत, परिपक्व स्वर भएका भर्सटाइल गायक हुन् शिव परियार।

विगत दुई दशकदेखि अनवरत रूपमा नेपाली सङ्गीत क्षेत्रमा लागेमा गायक शिव परियारले हालसम्म दर्जनौं पुरस्कार सम्मान पाएका छन्। जसमा मुख्यगरी ‘सर्वोत्कृृष्ट आधुनिक गायक, रेडियो नेपाल, सन् २००३’, ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार, सन् २०१३’, ‘राष्ट्रिय युवा प्रतिभा सम्मान, सन् २०१६’, ‘नातिकाजी राष्ट्रिय युवा सङ्गीत पुरस्कार, विसं २०७७’, ‘भीमविराग राष्ट्रिय युवा सङ्गीत पुरस्कार, विसं २०७८’, ‘पदम नेत्र कलाश्री सङ्गीत पुरस्कार, विसं २०७८’ लगायत अनेकौं सर्वोत्कृष्ट गायक अवार्डद्वारा सम्मानित भएका छन्।

गायक परियार भन्छन्, ‘शुभ चिन्तकका माया, सद्भाव, हौसलाले मलाई दुई पाइला अझ अगाडि बढाउन ऊर्जा दिन्छ। सुनसान ठाउँमा बसेर काम गर्नु र आहा! तपाईले गरेको काम कति राम्रो भन्ने शुभचिन्तक स्रोताहरूका बीचमा हौसला पाउँदा एकदम खुसी लाग्छ।’

साङ्गीतिक प्रस्तुतिका लागि अमेरिका, बेलायत, अस्टे«लियालगायतका विश्वका विभिन्न मुलुकहरूमा पुगिरहेका गायक शिव नेपाली स्रोता, दर्शकलाई संसारकै उत्कृष्ट मान्छन्। जीवनमा आइपरेका सुखदुःख, घामपानीहरू र ती अनुभव अनुभूतिहरू आफ्ना लागि प्रिय छन् भन्दै उनले आफ्ना प्रत्येक गीत संगीतमा उत्तिकै मेहेनत गर्ने बताए। कुनै गीत हिट हुन्छन् त कुनै ठिकै मात्र, यस्तो अवस्थाले विचतिल नगराउने विचार उनको रहेको छ। गायक परियार सामाजिक सञ्जालतिर पनि उतिकै सक्रिय छन्।

समय, मेहनत अनि आत्मविश्वासले एक दिन सफलता पाउन सकिन्छ भन्ने कुराको उदाहरण हुन् गायक शिव परियार।


ताजा खबर