(जैसरा शर्मा पंगेनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा हाल सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । जैसरा एमडिआरटीमा प्रवेश गर्ने प्रथम नेपाली महिला हुन् । उनी विगत १० वर्षदेखि अभिकर्ता पेशामा लागेकी हुन् ।)
नेपाल सरकारको जागिरे जीवनपछि घर, परिवार, रिफ्रेस, आनन्दलाई चटक्कै छोडेर सिधैं बीमा व्यवसायमा प्रवेश गरेकी पर्वतकी जैसरा शर्मा पंगेनीले सरकारी सेवा पुनः सम्झनु परेको छैन ।
पर्वतकी एक सरकारी विद्यालयकी हेडमास्टर जैसरा शर्माले अनिवार्य अवकाससँगै नयाँ क्षेत्र रोजिन बीमा अभिकर्ता । २० वर्ष विद्यालयमा साना–साना बालबालिकालाई शिक्षा दिने काममा त्याग गरेकी शर्माले अवकासपछि जीवन बीमा अभिकर्ता बनेर समाज सेवा गर्ने भन्दै बाँकी जीवन समर्पित गरिन् ।
जगिरे जीवनको दौडधुप, थकान, प्रतिस्पर्धीले गर्ने खुराफातसँगको पौठेजोरीपछि मानिसले आनन्दको समय खोज्नु स्वाभाविकै हो । जागिरको उत्तराद्र्धमा पुगेपछि कहाँ गएर रिफ्रेस हुने ? परिवारसँग कति समय बिताउने ? भन्ने सम्मको योजना बनाउने गरेको पाइन्छ । कतिपयले त पहिल्यै परिवार तथा आफन्तको नाममा व्यवसाय चलाएर अवकासपछिको सुरक्षित अवतरण समेत जागिरमै रहँदा तयार पारिसकेका समेत हुन्छन् । तर, जैसराले भने पर्वतको हेड मास्टरको जागिर छोडेर कुनै संकोचबीना जीवन बीमा क्षेत्रमा प्रवेश गरिन् ।
नेपाली समाज पितृसत्तात्मक समाज, जहाँ पुरुषको तुलनामा महिलालाई कमजोर ठानिन्छ । निर्णय प्रक्रियामा पनि कम स्थान दिईन्छ । पुरुषको तुलनामा थोरै मात्र महिला सफल हुन्छन् । जागिरको अवकासपछि जैसरा शर्मा पंगेनी बीमा अभिकर्ता पेशामा आवद्ध हुन् पुगिन् ।
पर्वत, हुवास गाविस वडा न. ७ मा जन्मिएकी जैसरा जागिरबाट अवकास पाएपछि काठमाडौँ आईन् । अवकास पाएपनि उनमा काम गर्ने जोश जागिर जीवितै थियो । त्यही जोश र जागरलाई जैसराले बीमा क्षेत्रमा उपयोग गर्न चाहिन् । जागिर के गर्ने त भन्ने तनाव मनमा छँदै थियो । यसै शिलसिलामा उनी बीमा अभिकर्ता पेशामा जोडिईन् ।
बीमा अभिकर्ता पेशाको तालिममा सहभागि भएपछि यहि पेशामै लाग्ने निधो गरिन् र लाईसेन्स पनि लिईन् । लाइसेन्स लिइसकेपछि जैसराले पहिलो बीमा भाइको गरिन्, जो सिए थिए । जैसरालाई तालिममा शुरु शुरुमा बीमाको प्रस्ताव लिएर आफन्तकोमा जानुस् सजिलो हुन्छ भन्ने सिकाएका थिए । सोही बमोजिम जैसराले आफ्नै भाइबाट अभिकर्ता पेशाको थालनी गरिन् । उनले जे सिकिन् त्यहि गरिन् ।
तालिम त लिईन्, नयाँ काम कसरी सफल हुने थाहा थिएन । बीमा कसको गर्ने होला भन्ने दोधारमा थिईन् उनी । भाईले बीमाको प्रस्ताव स्वीकार गरेपछि उनलाई हौसला मिल्यो । र उनी अघि बढ्दै गईन् ।
अभिकर्ता पेशालाई सामाजिक पेशा तथा सर्वोत्कृष्ट पेशाका रुपमा लिँदै जैसराले भनिन्, “अभिकर्ता पेशा यस्तो पेशा हो, जहाँ लागे पछि सबै कुरा पाईन्छ । आर्थिक पाटो, इज्जत, पब्लिक रिलेशनलगायत समाजमा सामाजिक कार्य गर्न पाईन्छ । सबै दृष्टिकोणले हेर्दा अभिकर्ता पेशा उत्तम पेशा हो । बीमा अभिकर्ता त्यस्ता व्यक्ति हुन्, जसले समाजमा छरिएर रहेको ससाना पैसालाई टिपेर ल्याएर ठुलो ठुलो फण्ड सृजना गर्ने, जोखिममा रहेका आमजनमानिसलाई सानो रकम तिरेको आधारमा भोलि भविष्यमा हुने जोखिमलाई सामना गर्न सघाउँछन् ।”
आफु आवद्ध भएको कम्पनी कुन हो, त्यो कम्पनीमा के कस्ता खालका बीमा पोलिसिहरु छन्, कुन व्यक्तिलाई कस्तो पोलिसि आवश्यक छ भन्ने लगायतका कुरामा जो सुकै अभिकर्ता पनि जानकार हुनुपर्ने जैसराको अनुभव छ । इमान्दारिता, निरन्तरता, धैर्यता, समयमा चलायमान रहनुपर्दछ ।
जैसरा सानैदेखि पढाईमा अब्बल थिईन् । पर्वत जिल्लामै पहिलो महिला हेड टिचर बन्न सफल जैसरा अभिकर्ता पेशामा पनि उनको नाम अगाडि नै आउँछ । नेपालको बीमा अभिकर्ता इतिहासमा जैसरा एमडिआरटीमा प्रवेश गर्ने पहिलो नेपाली महिला हुन् ।
शिक्षक पेशा र अभिकर्ता पेशामा उनले धेरै अन्तर पाईन् । शिक्षक पेशामा विधालय गयो आयो । बाहिरी मान्छेसँग भेट नहुने । एकोहोरो पेशा थियो । यो पेशामा जोडिएपछि जैसराले आफैमा परिवर्तन भएको पाईन् । आर्थिक रुपमा अझ सबल हुँन पुगिन् । सबै तह र तप्काका मानिससँग भेट हुने अवसर पाईन् ।
सरकारले पनि अभिकर्तालाई आर्थिक पाटोको मेरुदण्ड हुन् भनेर बुझ्न जरुरी रहेको उनले दावी गरिन् । । जैसरा भन्छिन्, “जीवन बीमा सबै जनालाई नभई नहुने कुरा हो । तर आज पनि नेपाली समाजमा जीवन बीमालाई बुझ्ने थोरै छन् । बुझेर बीमा गर्ने मान्छे थोरै छन् । म अहिले धनी छु । मेरो आम्दानी पनि राम्रो छ । यस्तो अवश्थामा मलाई बीमा किन चाहियो र भन्ने खालका मानिसहरु पनि बजारमा पाईन्छन् । तर समय एकैनास नहोला । हामी सधै यहि अवश्थामा रहि रहदैनौँ । समयसँगै हाम्रो उमेर सकिन्छ । उमेर छँदै, कमाई छँदै बीमा गर्ने हो भने बुढेसकालको लौरो जीवन बीमा बन्न सक्छ । ”
अभिकर्ता पेशामा निरन्तर लागि परे सम्भावना रहेको उनले बताईन् । धर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि सफल हुने उनको अनुभव छ । “यो पेशा सजिलै सफल हुने पेशा त होईन । लडेपछि उठिन्छ भन्ने आटलाई भने लिएर हिड्नु पर्छ । ” जैसराले भनिन् ।