‘कोरोना संक्रमणले पक्षघात, मस्तिष्कघात र हृदयाघात’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी, कोरोना कम घातक भएसँगै महामारी सकियो कि भन्ने भएको छ । तर समुदायमा रुघाखोकी, ज्वरोकै रुपमा घुमिरहने भएकाले यसबाट बच्न प्रत्येक वर्ष खोप लगाउनुपर्ने डा. अधिकारी बताउँछन् । किनकी पटक–पटक संक्रमण हुँदा जटिलता आउँछ । संक्रामक रोग विशेषज्ञ प्रभात अधिकारीका अनुसार, पटके संक्रमणले मानिसको अंगहरुमा समस्या बढेर पक्षघात, मस्तिष्कघात, हृदयाघातसम्म हुनसक्छ ।

प्रस्तुत छ, संक्रामक रोग विशेषज्ञ डा. अधिकारीसँग सम्पादक दुर्गा कुसुमले गर्नुभएको सफल कुराकानीको सम्पादित अंश :

 कोरोना संक्रमण बढेको देखिन्छ । कतिपय चाहिँ रुघाखोकी भनेर परीक्षण नगराई बसेको पनि पाइन्छ । कोरोना र रुघाखोकीलाई कसरी छुट्याउने ?

जाडो महिनामा रुघाखोकीको भाइरस पनि फैलिन्छ । रुघाखोकीको भाइरस, इन्फ्लुयन्जा, पाराइन्फ्लुयन्जा, रेस्पिरेटरी सेन्साइटल लगायतका भाइरस भने जाडो मौसममा बढी सक्रिय हुन्छ । कोरोनाले पनि रुघाखोकी, निमोनिया गराउँछ ।

तर गर्मी मौसममा अन्य भाइरस सक्रिय भएर रुघाखोकी गराउने अवस्था छैन । त्यसैले अहिले परिवारका धेरै सदस्यलाई रुघाखोकी छ भने त्यो कोरोना नै हो । कोरोना रुघाखोकी भएरै सुरु हुन्छ । तपाईंलाई रुघाखोकी छ, थुक निल्न गाह्रो हुन्छ, घाँटी खसखस हुन्छ, ज्वरो आउने, टाउको वा शरीर दुख्ने हुन्छ भने आफूले आफैंलाई ‘आइसोलेट’ गरेर कोरोना परीक्षण गर्नुपर्छ । घरमा पाँच जनामा लक्षण देखिएको छ भने दुई जनाको कोरोना परीक्षण गर्नुहोस् ।

तर संक्रमितको संख्या बढे पनि अस्पताल भर्ना भएका विरामीहरुको संख्या त त्यो रुपमा छैन त ?

विकसित मुलुकहरुमा पनि सरकारी तथ्यांक जति आउँछ, समुदायमा त्योभन्दा बढी बिरामी हुन्छन् भन्ने मान्यता छ । नेपालमा कोरोना भित्रिँदा लक्षण भएका मानिस मात्र परीक्षणको दायरामा आउँथे । अहिले पनि परीक्षण गराउने चलन कम छ । त्यसैले समुदायमा संक्रमण बढिरहेको अनुमान लगाउन सकिन्छ, परीक्षण भएकोभन्दा १० गुणा बढी मानिस संक्रमित भएर घरमा बसेका हुनसक्छन् ।

त्यसो भए नेपालमा अहिले देखिएको संक्रमण दरबाट के आंकलन गर्न सकिन्छ ?

अहिले नेपालमा ओमिक्रोनको सबभेरियन्ट बी फाइभ देखिएको छ । यो  पहिलाका भेरियन्टहरुभन्दा चाँडो फैलिने खालको छ र खोपले दिने सुरक्षा पनि कम हुने देखिन्छ । त्यसमाथि खोपको दोस्रो डोज वा अतिरिक्त खोप (बुस्टर) लगाएको ५–६ महिनाभन्दा बढी भएको छ । एकातिर कोरोनाविरुद्ध लड्ने क्षमता घटिरहेको छ भने अर्कोतिर नयाँ भेरियन्ट पहिलाको भेरियन्टभन्दा सजिलैसँग फैलिनसक्ने भएकाले एउटा लहर आउने पक्कापक्की नै छ ।

अहिलेको संक्रमण दरको हिसाबले हेर्दा मूल ओमिक्रोन (तेस्रो लहर) कै हाराहारीमा अर्को लहर आउने देखिन्छ । तर कति जना गम्भीर हुन्छन्, कतिलाई भेन्टिलेटर वा अक्सिजन सपोर्ट आवश्यक पर्छ भनेर आंकलन गर्न सकिने अवस्था छैन ।

किनकी कोरोना रुघाखोकीबाटै सुरू हुन्छ । निमोनिया भएर अक्सिजन चाहिने अवस्थामा पुग्न दुई हप्ता लाग्छ । त्यसको एक हप्तापछि निमोनिया बिग्रेर भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोरोना फैलिएको ३–४ हप्तामा मृत्यु देखिन थाल्छ । यसरी हेर्दा हामी कहाँ अबका दिनमा संक्रमणसँगै अस्पताल भर्ना दर बिस्तारै बढ्ने र तेस्रो लहरको दौरान भएको वातावरण हुनसक्ने आंकलन गर्न सकिन्छ ।

संक्रमण भएर अस्पतालमा भर्ना भएका बिरामीहरु दोस्रो वा बुस्टर डोेज खोप लगाएकाहरु पनि छन् । खोप लगाए पनि नयाँ भेरियन्टबाट जोगिन नसकिने हो ?

खोपको प्रभावकारीतालाई दुई किसिमबाट हेर्नुपर्छ ।

पहिलो, खोप लगाएपछि संक्रमण नहुने सम्भावना कति हुन्छ ?

दोस्रो, संक्रमण भएपनि अक्सिजन वा भेन्टिलेटर सपोर्ट नचाहिने वा मृत्यु नहुने सम्भावना कति ?

अहिले नेपालमा देखिएको ओमिक्रोनको सबभेरियन्ट बी फाइभबाट खोप लगाएकामा पनि संक्रमण हुनसक्छ । किनकी जति नयाँ भेरियन्ट आयो उत्तिनै खोपको प्रभावकारीता कम हुँदै जान्छ । त्यसैले संक्रमणबाट जोगिन खोप लगाए पनि माक्स लगाउने, हात सफा गर्ने वा भौतिक दुरी कायम गर्नुपर्छ । खोपको मात्रै भर परेर हुँदैन ।

त्यसो भए खोप किन लगाउने भन्ने हुनसक्छ । दोस्रो वा बुस्टर डोज लगाएकाहरु अस्पताल भर्ना हुनुपर्ने, अक्सिजन, भेन्टिलेटर चाहिने वा मृत्यु हुने सम्भावना धेरै कम हुन्छ । बुस्टर डोजले संक्रमण हुनबाट बचाउन नसक्ला, तर संक्रमण भइहाले गम्भिरताबाट धेरै हदसम्म बचाउँछ । यद्यपि गम्भीरता भन्ने कुरा भाइरस वा मानिसमा पनि भर पर्छ । वृद्धवृद्धा, दीर्घरोगी र पटक–पटक संक्रमण भएको मानिसमा गम्भिरता बढाउने अध्ययनले देखाएको छ ।

कोरोना महामारी सुरु भएपछि तीन वटा लहर आइसक्यो, अहिले चौथो लहर भनिएको छ । एउटै भाइरसले कहिलेसम्म यसरी महामारीको लहर ल्याइरहन सक्छ ?

भाइरसहरु म्युटेसन भइरहेका हुन्छन् । कुनै–कुनै त बढी नै म्युटेसन हुन्छ । जस्तो– एचआईभी, इन्फ्लुयन्जा र कोरोना । हरेक म्युटेसनबाट नयाँ प्रजातिको भाइरस उत्पन्न हुन्छ ।

एचआईभी वर्षौंदेखि हामी माझ छ, तर प्रभावकारी खोप बनाउन सकिएको छैन । किनभने, त्यो एकदमै परिवर्तन हुन्छ । इन्फ्लुयन्जाको खोप बने पनि ३० प्रतिशतदेखि ७० प्रतिशत हाराहारीमा मात्र काम गरेको देखिएको छ । एचआईभी र इन्फ्लुयन्जा जति कोरोना परिवर्तन हुँदैन, तर अन्य भाइरसभन्दा बढी परिवर्तन भएको छ ।

कोरोनाको तीन–चार महिनामा सबभेरियन्ट आउँछ । सबभेरियन्ट नयाँ आउने र खोपबाट पाउने इम्युनिटी पनि कम हुने भएकाले सबैलाई संक्रमण गराएर महामारीको रूप लिन्छ ।

अहिले हामीले लगाएको खोप दुई वर्ष अगाडि बनेको हो, जुन त्यही बेलाको भेरियन्टको लागि राम्रो काम गर्थ्यो । अहिले आएका नयाँ–नयाँ भेरियन्ट लक्षित खोप बनेका छैनन् । अमेरिकाका केही कम्पनीले ओमिक्रोनको बी ५, बी ४ भेरियन्टविरुद्ध पनि प्रभावकारी खोप बनाएका छन् । तर यो नेपालमा उपलब्ध छैन । एक वर्षपछि आयो भने त्यो बेला कोरोनाको अर्को भेरियन्ट आइसकेको हुन्छ । यो प्रक्रिया चलिरहने देखिन्छ । किनकी कोरोना हराएर जानेवाला छैन । इन्फ्लुयन्जा जस्तै हामीसँगै रहनेछ । प्रत्येक वर्ष केही लहर ल्याउनसक्छ, प्रत्येक वर्ष अतिरिक्त खोप लगाउनुपर्ने देखिन्छ । नेपालले सधैं खोप किनेर लगाउन सक्दैन । त्यसकारण आफैं खोप उत्पादन गर्ने उपाय खोज्नुपर्छ ।

हरेक वर्ष खोप लगाउनैपर्छ ?

इन्फ्लुयन्जा भाइरस जस्तै कोरोना पनि मानव समुदायमा सधैं बस्नेवाला छ । नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनैपर्छ । किनकी पटकपटक संक्रमण हुँदा दीर्घकालीन समस्या देखिन्छ ।

पटक–पटक संक्रमण हुँदा अरु जटिलता पनि हुनसक्छ ?

हामीकहाँ पोस्ट कोभिड जटिलताबारे अध्ययन भएको छैन । तर कोरोना भाइरस संक्रमण भएका केही मानिसमा फोक्सोमा संक्रमण हुन्छ । त्यो संक्रमण आउट अफ कन्ट्रोल भएपछि आईसीयू, भेन्टिलेटरमा जाने हुन्छ । त्यसबाहेक फोक्सो, मुटु, कलेजो, मिर्गौला, मस्तिष्क लगायत अंगमा पनि समस्या देखिन्छ । निको भएर घर फर्केका एक सयमध्ये २५–३० जनामा दीर्घकालीन समस्या देखिन्छ । त्यस्तो समस्यालाई मानसिक र शारीरिकमा विभाजन गर्न सकिन्छ ।

शारीरिक समस्यामा पहिलाजस्तो शक्ति नहुने, धेरै थकान हुने, खोकी लागिराख्ने, छाती दुख्ने, श्वास फेर्न मुस्किल हुने, मस्तिष्कघात, पक्षघात, हदृयाघात हुने हुन्छ । समयमै यस्ता लक्षण पहिचान गर्न नसक्दा अस्पताल नपुग्दै बिरामीको मृत्यु समेत हुन्छ । केही मानिसमा निद्रा नलाग्ने, चिन्ता लाग्ने, डराउने, बिर्सिने, डिप्रेसन हुने, आत्महत्याको प्रयास समेत गर्ने समस्या हुन्छ । दुबैखाले समस्यामा ‘सिभियर’ लक्षण छ भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

सरकारले पनि पोस्ट कोभिड लक्षणबारे अध्ययन गर्नुपर्छ । दुरी कायम गर्ने, मास्क लगाउने, कोरोनाको लक्षण देखिए आइसोलेसनमा बस्ने नीति लागू गराउनुपर्छ । सबै नागरिकलाई बुस्टर डोज दिनुपर्छ । यही हिसाबले कोरोना बढ्दै गए धेरै मानिसलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । त्यसको तयारी गर्न ढिला भइसकेको छ ।

उसो भए कोरोना भाइरस कमजोर भयो, यसले गाह्रो पार्दैन भन्ने बुझाइ घातक हो ?

ओमिक्रोन कमजोर छ भनेर लापरबाही गरियो भने घातक हुन्छ । अन्य भेरियन्टको तुलनामा यो कमजोर त होला, तर पटक–पटक संक्रमण हुँदा मृत्यु भएका धेरै घटना छन् ।


ताजा खबर