पुर्व पश्चिम लोकमार्गको सिरहा खण्डको मुसहर्निया चोकदेखि करिब दुई सय मिटर दक्षिणतर्फ पैदल हिडेपछि चारैतिर खेतको बीचमा भेटिन्छ एउटा सानो तथा गरिब वस्ती जुन चिन्ने जान्ने सबैको लागि मुसहर वस्ती हो ।
धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा रहेको उक्त मुसहर वस्ती पुग्ने जोकोहीलाई पनि तराईको सुगम जिल्लाको दुर्गम स्थानमा पुगेजस्तो महसुस हुन्छ त्यहाँ । यसको प्रमुख कारण उक्त वस्तीमा पुग्ने बाटो छैन, विजुली र खानेपानी सुविधा त निकै परको कुरा हो । कसैले त्यहाँ जानुप¥यो भने गाउँको जमिन्दारको खेतको आली आलीबाट पुग्नुपर्ने बाध्यता छ ।
३५ वर्षअघि वस्ती विस्तार भएको उक्त वस्तीमा ३२ घर मुसहर तथा एक घर मोची परिवारको बसोबास छ । उतिबेला गाउँघरका जमिन्दारले आफ्नो खेतमा जनिबुतो गर्न बसाएका थिए उक्त वस्ती जुन अहिले पनि त्यस्तै अवस्थामा छ । राजमार्ग नजिकै भए पनि वस्ती पुग्न बाटो छैन अरुको खेतको आलीबाट हिड्न बाध्य छन् वस्तीका बासिन्दा । दुख यतिसम्म कि कोही विरामी हुँदा रिक्सासमेत वस्तीसम्म पु¥याउन सकिंदैन ।
‘सबैले हामीलाई जिमिन्दार र जग्गावालाको खेतमा जनबुतो गर्ने हरुवाचरुवा मात्र सम्झन्छन्’, माटोले लिपेको भित्ता र खरले छाएको छाना देखाउँदै ५९ वर्षीया कुश्मा सदायले भन्नुभयो–‘वस्तीमा खानेपानी सुविधा छैन, छिमेकी गाउँबाट ल्याएर सेवन गर्छौ, नजिकैको छिमेकी वस्तीमा विजुली वत्ती बल्छ तर हाम्रो घरमा टुकीको भरमा रात उज्यालो पार्नुपर्छ ।’
ऐलानी जग्गामा बसोबास गरेको वस्तीका अधिकांश ज्याला, मजदुरी र जनवनमा खटिई गुजारा चलाउँछन् । वस्तीमा पुग्ने जोकोहीलाई उनीहरु बाटो, पानी, बिजुली सुविधा पु¥याइदिन आग्रह गर्छन् । ‘नेताले त ठगे नै हामीलाई नगरपालिकाले पनि ठगेको छ’, स्थानीय प्रकाश सदायले भन्नुभयो–साविकको धनगढी गाविसबाट अहिले धनगढीमाई नगरपालिकामा रुपान्तरण भएर जनप्रतिनिधि समेत आइसके तर पनि हाम्रो वस्तीलाई विकासमा बेवास्ता गरिएको छ ।
राज्यले दिनुपर्ने सामान्य सुविधाबाट समेत बञ्चित रहेका उक्त वस्तीका कैयौं उमेर पुगेकाहरुले नागरिकता समेत नपाएको थाहा पाएपछि सामुदायिक विकास मञ्चले त्यहाँ हरुवा चरुवा सशक्तिकरण कार्यक्रम अन्तर्गत नागरिकता र जन्म दर्ताको घरदैलौ कार्यक्रम सञ्चालन गरेपछि केहीले नागरिकता पाएका छन् ।
मञ्चकै अग्रसरतामा हरुवा चरुवा सशक्तिकरण कार्यक्रम अन्तर्गत बाख्रापालन र आयआर्जनमूलक अभियान जारी गरिएपछि केही महिनादेखि वस्तीका बासिन्दाले गर्जोपर्जो पर्दा जिमिन्दारसँग ऋण उठाउनुपरेको छैन । गर्जोपर्जो पर्दा उनीहरुले मासिक रुपमा गर्ने गरेको बचतले अहिलेसम्म भरथेक गरिरहेको छ तर विकासका लागि त्यो रकम नपुग हुँदा उनीहरु अहिले पनि अरुकै मुख ताक्न बाध्य छन् ।
‘सुगम तराईको वस्ती भए पनि यहाँको बासिन्दाको स्थिती पश्चिम जङ्गलमा बस्ने राउटेभन्दा कम छैन’, मञ्चका अध्यक्ष विनोद कुमार चौधरीले भन्नुभयो–हामीले उनीहरुलाई निरक्षरबाट साक्षर बनाउन प्रौढ कक्षा तथा स–साना बच्चाका लागि ट्युशन कक्षा पनि सञ्चालन गरेका छौं तर विकास र आधारभूत सुविधाका लागि राज्यअन्तर्गतको निकायको नै ध्यान आकृष्ट हुनुपर्छ यहाँ ।
रासस