नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार, कात्तिक १० गते बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ। यमपञ्चक भने कात्तिक ५ गतेदेखि नै शुरू हुनेछ।
कात्तिक ५ गते शनिबार यमदीपदान शुरु गरिन्छ। यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ। धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन परेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जनाएका छन्।
कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ। धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ।
कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ। त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ।
यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उनले बताए। लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि पनि भनिन्छ।
कात्तिक ८ गते मंगलबार गाईपूजा गरिन्छ। यस दिन सूर्यग्रहण पनि परेको छ।
कात्तिक ९ गते बुधबार गोवर्द्धनपूजा छ। बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) पनि यसै दिन परेको छ।
कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत्को नयाँ वर्ष आरम्भ हुँदै छ। समितिका अनुसार, नेपाल सम्वत् ११४३ शुरू हुनेछ।
कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वाद सहित दीर्घायुको कामना गर्छन्। नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ।
यस दिन साइत खोज्नेले बिहान ११:३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ। त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ। (रासस)