बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले बेलायतमा व्याप्त समस्याको समाधान गर्ने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो सम्बोधनका क्रममा सुनकले बेलायतमा विश्वासको वातावरणलाई पुनःस्थापना गर्ने, आत्मविश्वास बढाउने र अर्थतन्त्रमा देखिएको संकट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले संसद र सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र जारी विवादको पनि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अहिलेको अवस्था कति कठिन छ भन्ने मैले बुझेको छु’ बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटअगाडि सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले भने, ‘यति हुँदा मैले विश्वासलाई पुनःस्थापित गर्न काम गर्नुपर्छ भन्ने पनि मलाई थाहा छ ।’
उनले समस्याबाट आफू विचलित नभएको पनि बताएका छन् । उनले आफू उच्चस्तरको जिम्मेवारीमा रहेको बताउँदै जिम्मेवारीअनुसारको काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि उनले बेलायतका राजा चाल्र्स तृतीयसँग भेट गरी औपचारिक रुपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । लिज ट्रसले गत बिहीबार राजीनामा दिएको घोषणा गरेसँगै ऋषि सुनकलाई कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चुनेको हो ।
उनका सामुन्ने सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र जारी विवादको समाधान गर्ने र बेलायतको गिर्दो अर्थतन्त्रलाई उकास्ने चुनौति रहेको विश्लेषण गरिएको छ ।
रोयटर्स /#rishisunak #UKPM