सूर्यको उपासना गरेर चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज साँझ व्रतीले ‘खरना विधि’ गर्दैछन् ।
आज बिहान नदी तलाउ वा सरोवरमा स्नान गरेर नयाँ वस्त्र धारण गरि दिनभरि निराहार बसेर साँझ पख आफैँले तयार पारेको सख्खरको खीर, पुरी केलासहितका प्रसाद छठी मैयाँलाई अर्पण गर्ने गरिन्छ । निक्कै निष्ठापूर्वक मनाइने छठमा प्रयोग गर्ने हरेक सामाग्रीहरू निक्कै चोखो पारेर मात्र प्रयोग गर्ने चलन छ ।
व्रतीले खीर, पुरी तयार पार्दा पनि शुद्धाशुद्धिको धेरै ख्याल गर्ने गर्दछन् । छठी मैयाँलाई खीर, पुरी तथा केला प्रसादको रुपमा अर्पण गरी प्रसादको रुपमा घर परिवार, ईष्ट मित्र तथा छिमेकीलाई वितरण गरेपछि आफैँ पनि नुनरहित खाना खाने गरिन्छ जसलाई “खरना विधि” भनिन्छ ।
खरना विधिपछि व्रतीले सप्तमी तिथिको बिहानको अर्घ सम्पन्न भएपछि करिब ४८ घण्टापछि मात्र अन्न जल ग्रहण गर्ने चलन रहेको छ । निक्कै कठोर व्रतको रुपमा रहेको छठ पर्व गर्नाले चर्म रोग नलाग्ने, सन्तान प्राप्ति, परिवारजनमा सुख, शान्ति तथा समृद्धि हासिल हुने जनविश्वास रहिआएको छ । चार दिनसम्म विभिन्न विधि विधानपूर्वक मनाइने छठ पर्वको तयारीमा व्रती तथा निजका परिवारहरू दुई साता अगाडी देखि नै जुट्ने गर्दछन् ।
छठमा प्रयोग गर्ने सामाग्रीहरू निक्कै बढी हुने भएकाले यसको व्यवस्थापनमा समय लाग्नुको साथै निक्कै खर्च हुने गर्छ । आफ्नो गच्छेअनुसार प्रसादको व्यवस्थापन गर्दा हुनेले नहुनेलाई दान दिएर भए पनि पर्वका लागि प्रोत्साहित गर्ने गर्दछन् ।
छठमा समान किसिमको प्रसाद तथा सामाग्री हुने भएकाले कुनै विभेद पाइँदैन । छठका लागि पानीको श्रोत एउटै हुने र सबै जातजातिहरू एक्कै ठाउँमा भेला भएर गर्ने भएकाले जातीय विभेद तथा छुवाछुतको पनि वास्ता हुँदैन ।