~महेन्द्र कुमार मल्ल
म इन्कलाबको मसिहा थिएँ
म इन्कलाबको मसिहा थिएँ
यो सुन्दर धरणीमाथि आकाशमा
उडेरै कावा खाने मन ..व्यथाहरूसँग..
एकाकार भएर रम्ने र रमाउने मन
शासकहरूले देवत्व प्राप्त गरेको
मौसुफहरूको कोर्रा खाएर
मृत्यु वरण गरिदिने मन
नागरिक प्राधिकारको अपिलपछि
तिमीले कदममा कदम मिलाएपछि
इन्कलाबको स्वर घन्कियो
विद्रोहको ज्वाला दन्कियो
मौसुफहरू पछि हटे
म नायकत्व दिन गएछु
सत्तापछि सनक आयो
सनकले उन्माद ल्यायो
मैले पनि फेरि तिमीलाई रैती सम्झिएछु!
त्यसैले त म क्यालिगुला भएछु।
(१)
म लिबर्टीको आइल्याण्ड खोज्दैछु
ट्याङ्क र बारुदले पाटिएको त्यो आइल्याण्ड
तिमी फेरि पनि गुलाम होइनौ भने
म मुक्तिको तियानमेन स्क्वायर रोज्दैछु
विचारको घोट्टा पिलाएर सिंहासनपछि सिंहासन
अनुमोदनबिनाको फौजी सिंहासन
मैले भनेँ
तिमी भेँडाबाख्रा चराउँदै जाऊ
म मनुष्यहरूको चेतना खोज्दैछु
आऊ एउटा नयाँ उषालाई आमन्त्रण गरौँ
तिम्रै आधिपत्यमा लोकाभिमतमा
चल्ने एउटा शासन खोज्दैछु
तिमीले भावना र भौतिकता सपर्पण गरेपछि
आव्हान अनुमोदन भएपछि र
तिम्रै शौर्यमा क्रान्ति छेडिएपछि
म त स्वर्गीय त्यो गद्दीमा गएछु
गद्दीको गुरुत्वाकर्षणमा तानिदै जाँदा
म त कर्णेल गद्दाफी भएछु !
(२)
भो, भोकहरूको मुग्लान चाहिएन
कहिल्यै गगनचुम्बी स्वाभिमान पाइएन
हामी बारी र गराहरू खन्न सक्छौँ
खेत र खलियान चाहार्न सक्छौँ
दासता नबेहोरेको इतिहास
अझै पनि बलभद्रहरू बोल्दैछन्
तिम्रो आँगनको फूलबारी सिंगार भन्दै
अमरसिंहहरूका ओँठ चल्दैछन्
त्यसैले दुर्दशाका जन्जिर पञ्छाउन
स्वाभिमानको सगरमाथा जन्माउन
तिमीलाई आजादीको राजमार्गहरूमा डोर्याएँ
तिम्रो प्राणोत्सर्गले
म त शासकीय रबाफको दरबारमा गएछु
तिम्रो साससँगै साटिएको व्यवस्थामा
म त श्रीपेचबिनाकै नयाँ बादशाह भएछु!
(३)
कोपिला फक्रिएर फूल बन्ने हो
फूल बनेर नै मुस्कुराउने हो
त्यसैले फूल जस्तै विचारमा हिँड
विचारले देखाउने गोरेटो पकड्दा नै
विशाल राजमार्गको यात्रा तय हुने हो
कोप्चिएका गाला र चाउरिएको निधारमा
तिमी भविश्य खोज्दै गयौ भने
शताब्दी बितेरै जाने हो
आऊ विचारमा एकता बनाऊँ
इन्कलाबले क्रान्ति जगाऊँ
चुसेर रगत खाएर पसिना
बेगबान यो आधिपत्य
छिनाएर अधिनायकका साङ्लाहरू
यो आवादीलाई धर्तीको स्वर्ग बनाऊँ
विपनामै देखिएको त्यो सपना
पारि क्षितिजको उज्यालो थियो
दियालो बलेर वा जून उदाएर
त्यो अन्धकारलाई चिर्ने ज्योति थियो
गगनभेदी गुन्जनहरूसँगै बन्दूकका नालहरूसँगै
कफन बाँधेर, प्राण साटेर
पाइएको त्यो उन्मुक्ति थियो
विचारले जन्माएको क्रान्तिसँगै
क्रान्तिले जन्माएको स्वतन्त्रतासँगै
साटिएर म त शासनको बागडोरमा गएछु
म उस्तै हुँ वा शासन नै त्यस्तो हो
चालीस लाख आफन्तीको चिहान बनाउने
म त क्रूर स्टालिन पो भएछु।
(४)
हो,
विचारले नै क्रान्ति जन्माउने हो
क्रान्तिबाट परिवर्तन आउने हो
म आस्थामा अडिन सकिन
मूल्यमा डोरिन सकिन
दुनियाँ अन्तरिक्षमा आवादी खोजिरहेछ
तिम्रो बलिदानीमा म आफ्नो सन्तानको भविश्य खोजिरहेछु
शताब्दी सहस्राब्दीको कुरै भएन
तीस वर्षको बन्द समाजपछि
फेरि अर्को तीस वर्ष पनि बितेछ
हजारौँ नेपालीलाई बलिवेदीमा चढाइएको
दश वर्षे द्वन्द्वपछिको
डेढ दशक पनि बित्नै लागेछ
मैले तिमीलाई
विचारको धुरीमा टेकेर दर्शन पढाएँ
आस्थाको दूरबिनबाट आँखाभरि सपना देखाएँ
यो त्यस्तो धरहरा जहाँबाट संसार देखिनेछ र
नेपाल र नेपालीको नयाँ भविश्य लेखिनेछ भनेर
सम्पन्नताको भर्याङ देखाएँ
तर
सिसमहल टुक्रिएसरि सपनाहरू चकनाचुर भएछन्
आदर्शका बडेमान रुखहरू गर्ल्यामगुर्लुम ढलेछन्
न त चरीझैँ उन्मुक्त भयौ
न भोकहरूको मुग्लान सकियो
न त कोपिला फक्रेर फूल भयो
न फूलझैँ मुस्कुरायौ
तिम्रो स्वाभिमान सगरमाथासरि अग्लिएन
बारी र गराका डल्लाहरू पाटिएनन्
सिद्धान्तको रटान त धेरै लगाइयो
तर व्यवहारमा अगुवा देखिएन
धेरै भोगियो र भोगाइयो !
फेरि पनि समय मलाई नदेऊ
अमलाको बोटमा आँप फल्ने आशा नलेऊ
हेर,म रहरले होइन सरमले बिदा लिँदैछु
समय तिम्रो प्रतिक्षामा छ
अब वाद र विचारधाराको कोकोहोलो छाड
त्याग र बलिदानीको सावाँब्याजको कुरा छाड
तिमीले विचारलाई व्यवहारमा बदल
निष्ठाले नीति बनाऊ
थाप्लोमा नाम्लोका डामहरू हेर
खाडीका पसिनाहरू पढ
सम्पन्नताको सिंगापुर हेर
रारा र माछापुच्छ्रे,मेची र महाकाली
खेर गएको हेर
अठोटमा राजनीति बढाऊ
लोकाभिमतमा शासन चलाऊ
युग र पुस्ताको बदलावमा
तिम्रो पिँढी लिबर्टीको आइल्याण्डमा बाँच्नु पर्छ
देश, प्रविधिको सिलिकन भ्याली बन्नु पर्छ
त्यहाँ,तृप्तता र समानताको आकाश अग्लिनु पर्छ
सबैभन्दा ठूलो त तिम्रो नाम
त्याग र समर्पणको पर्यायमा लेखिनु पर्छ
त्यसैले तिमीलाई शुभकामना दिएर
म बिदा हुनु पर्छ।