~भिमप्रसाद अधिकारी
१.सारांशः पाँच वर्षअघि ने क पा एमाले र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मायोवादीले नेपालको संसदीय राजनीतिको इतिहासमा पहिलो पटक गठबन्धन कायम गरी निर्वाचनमा जाँदा उल्लेख्य सफलता हासिल गरेका थिए र ती बामघटकले एउटै कम्युनिष्ट पार्टीको निमार्ण भएको घोषणा गर्न भ्याएका थिए जसलाई वषौंदेखिको नेपाली जनताको चाहना पूरा भएको घटनाको रुपमा व्याख्या गरिएको एक ऐतिहासिक घटना हो भनिएको थियो । बामगठबन्धनका कारण पुरानो प्रभाव र विस्तारका कारण जनतामा सर्वत्र फैलिएको लोकप्रिय पार्टी नेपाली काँग्रेससमेतसंसदीय सिटको हिसाबले सानो आकारमा सीमित भएको थियो । संसदीय निर्वाचनमा सुबिधाजनक बहुमत ल्याएर सत्तारुढ भएको बामगठबन्धन आफैंभित्रको बेमेल, फाटो , संघर्ष र दाउपेचको चक्रव्यूहमा फस्यो र अन्ततः विभाजित भएर अलग अलग कित्तामा उभिन पुग्यो अनि यहाँबाट सुरु भयो गठबन्धन भाग दुईको यात्रा राजनीतिक यात्रा । आउँदो मंसिर चारमा सम्पन्न हुन गइरहेको संसदीय निर्वाचनमा एकातिर एमाले केही स्थानमा केही दलसँग केही सिटको तालमेल गरेको अपवादबाहेक अधिकांश स्थानमा एक्लै निर्वाचनमा होमिएको छ र अर्कोतिर एमालेका विरुद्ध तीनवटा बामपार्टीसहित अन्य दुई गैरबामपार्टीको पाँच दलीय बामलोकतान्त्रिक नामाकरण गरिएको गठबन्धन खडा भएको छ र यो बामलोकतान्त्रिक गठबन्धनलाई पहिलो बाम गठबन्धनलाई जस्तै अपार सफलता हासिल हुने अपेक्षा गर्नेहरु पनि छन् र कतिपयले गैरराजनीतिक चरित्रको गठबन्धन भनी आलोचना गरेका छन् ।
२.सन्दर्भः माओवादी एमाले एकता भङ्ग भयो र बामपन्थीहरुले संसदमा हासिल गरेको विजय यात्रा असफलताको दाग लागेर अनिश्चिततामा पुगी पूर्ण बिराम लाग्यो । मुलुकमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी रहन सकोस् भन्ने जनताको चाहना थियो तर त्यो अधुरो नै रह्यो । दीर्घकालसम्म एकता टिक्न सकेन । थोरै समय पनि टिकेन । यसबाट कम्युनिष्टहरु आपसमा मिल्न सक्दैनन् र मिले पनि टिक्न सक्र्दैनन् भन्ने अर्थ लाग्न सक्छ । अर्को अर्थ के पनि लाग्नसक्छ भने कम्युनिष्ट नामधारण गर्ने सबै कम्युनिष्ट होइनन् । साँचो कम्युनिष्ट को हो भन्ने एकिन गर्न अझै केही चुनावलाई हेर्नुपर्ने हुन्छ । अहिलेका कम्युनिष्टहरु सत्ताको फोहोरी खेलमा ज्यान फालेर होमिएका छन् । मूल्य , मान्यता , सिद्धान्त , विचार , दर्शन भन्दा पनि क्षणिक रुपमा सत्ताको आडमा बसेर राजनीति गर्ने सजिोलो उपायको खोजमा कम्युनिष्टरु दिग्भ्रमित भएकाछन् । यो निर्वाचन कम्युनिष्टहरुलाई पहिचान गर्ने र कम्युनिष्ट पार्टीको हैसियत परीक्षण गर्ने निर्वाचन पनि हो । किनभने कम्युनिष्ट पार्टीहरु नै दुई भागमा विभाजित भएका छन् । विगत चुनावमा कम्युनिष्ट मत विभाजन मात्रै हुँदै आएको थियो । यो चुनावमा लेनदेन हुन लागेको छ । कम्युनिष्टका विरुद्ध नै कम्युनिष्ट खडा भएको यो निर्वाचन अनौठो हुनेछ । खाय गरी यस निर्वाचनले एमालेको वास्ततविक शक्तिको निर्धारण गरिदिने अपेक्षा आम रुपमा गरिएको छ ।
३. राजनीतिक खेलको नियमः राजनीति शक्ति आर्जनका लागि खेलिने खेल हो । राजनीतिमा जायज नाजायज नैतिक अनैतिक भन्ने हुँदैन । संघर्षबाट शक्ति आर्जन गर्नु र आर्जित शत्तिको प्रयोगबाट सत्ताको बागडोर हातमा लिनु नै राजनीतिको चरम उदेश्य हुन जान्छ । विभिन्न उदेश्य लिएर निश्चित राजनैतिक लाभ हासिल गर्नका लागि राजनैतिक संगठनहरु निमार्ण भएका हुन्छन् । प्रत्येक राजनैतिक दलहरुले आप्mनो दलको उदेश्य हासिल गर्नका लागि एउटा खास बाटो अवलम्बन गर्दछ । त्यो ठीक पनि हुन सक्दछ र बेठीक पनि । राजनैतिक दलको इमानदारिता र विस्वसनीयताको जाँच गर्ने जनताले हो । प्रजातन्त्रमा यस कारण जनतालाई जनार्दन भन्ने गरिन्छ । हरेक आवधिक निर्वाचनमा जनताले आप्mनो विवेक प्रयोग गरेर शासकलाई शासन गर्ने अधिकार प्रदान गर्दछन् । जनताबाट अनुमोदित भएपछि शासकले शासन गर्ने वैधानिकता प्राप्त गर्दछ । जनताबाट अनुमोदित भएपछि कुनै पनि राजनैतिक दल शासन गर्नका लागि तोकिएको समय अवधिसम्मका लागि योग्य ठहरिन्छ । प्रजातन्त्रको विस्वव्यापी मान्यता यही हो ।
४. संसदीय राजनीतिमा नेपालको आफ्नो अनुभवः हाम्रो देश नेपालमा प्रजातन्त्रको त्यति लामो इतिहास छैन । प्रजातान्त्रिक अभ्यासको कमीले गर्दा यदाकदा यहाँ प्रजातन्त्र कुण्ठित हुने गर्दछ । हाम्रा शासकहरुले प्रजातन्त्रका नाममा अनर्थ नगरेका पनि होइनन् । प्रजातन्त्रका नाममा सत्ताको चरम दुरुपयोग गर्नु हाम्रो जस्तो मुलुकका लागि त्यति अनौठो कुरा होइन । नेपाल बेलायत वा अमेरीका होइन र त्यहाँको जस्तो प्रजातान्त्रिक संस्कार खोजेर यहाँ पाइँदैन पनि । त्यसैले नेपालको सन्दर्भमा भारत अमेरीका बेलायतको जस्तो प्रजातान्त्रिक आचरण पाउँन सकिँदैन । असल नियतल राम्रो होस् भन्ने अपेक्षा राख्नु स्वाभाविकै हो तर हाल त्यसको बाटो निकै टाढा छ । हाम्रा नेताहरुमा राजनैतिक संस्कार , मूल्य र मान्यताको सामान्य छाप समेत बस्न सकेको छैन । सत्ताको भोक र तिर्खाले हाम्रा नेताहरुको मति बिगारिदिएको छ । व्यवहारिक शोचको निमार्ण र शासकीय चरित्रको निमार्ण हुन कैयन वर्ष लाग्न सक्छ । विभिन्न उतार चढावले गर्दा व्यवस्था स्थिर हुन सकेको छैन । अहिले नै यिनै नेताहरुले केही चमत्कार गरिहाल्लान् भन्ने मान्न सकिँदैन । हाम्रा नेताको योग्यता जति छ त्यति नै अपेक्षा राख्नुपर्छ हामी जनताले पनि । कतै हाम्रा अपेक्षाहरु नै बढी पो भएकी भन्ने पनि आभास हुन्छ कहिलेकाहीँ ।
५. निर्वाचनको आन्तरिक तयारी पूराः आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेश सभा सदस्यका लागि निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रशासनले प्रशासनिक चाँजोपाँजो मिलाएको छ । सुरक्षाकर्मीहरु परिचालित भएका छन् । निर्वाचन आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । राजनैतिक दलहरु उत्साहका साथ निर्वाचनमा सहभागी भएका छन् । मतदाताहरु मतदान हुने दिन पर्खिरहेका छन् । निर्वाचनका लागि सहज वातावरण निमार्ण गर्न सबैको समन्वयात्मक भूमिका आवश्यक पर्छ । मूलतः निर्वाचन राजनैतिक दलहरुका लागि सबभन्दा बढी महत्पूर्ण हुन्छ । निर्वाचन नै राजनैतिक दलका लागि हो । राजनैतिक दल तयार भएपछि जस्तोसुकै वातावरणमा पनि निर्वाचन सम्पन्न हुन्छ । विगतमा जस्तो यस निर्वाचनमा सुरक्षा चुनौति कम छ । राजनैतिक दलका आपसी विवादबाहेक अन्य सुरक्षा चुनौति यसपटक छैन ।
६.मुख्य प्रतिस्पर्धाः यो निर्वाचनमा सम्पूर्ण राजनैतिक शक्ति एक भएर ने क पा एमालेका विरुद्धमा उभिएका छन् तर तैपनि मुख्य प्रतिस्पर्धा चाहिँ एमाले र नेपाली काँग्रेसका बीचमा नै हुने देखिन्छ । विगतका ठूला राजनैतिक दल एमाले र काँग्रेस नै हुन् । केही स्वतन्त्र व्यक्ति र स्वतन्त्र समूहले राजनीतिमा फेरबदल ल्याउन सक्ने गरी गतिविधि गरेको भए तापनि एमाले काँग्रेसलाई चुनौति दिन सक्ने राजनैतिक शक्तिको जन्म भइहालेको छैन । काँग्रेसलाई मियो बनाएर गठबन्धन बनाएका दलहरुको प्रभाव सबै जिल्ला र सबै निर्वाचन क्षेत्रमा नभएको हुनाले अधिकांश स्थानमा एमाले काँग्रेसका बीचमा नै मुख्य प्रतिस्पर्धा हुनेछ ।
७. रोचक प्रतिस्पर्धाः संसदीय इतिहासमा पहिलो पटक नेपाली काँग्रेसले अन्य दलसँग गठबन्धन गरेर कतिपय निर्वाचन क्षेत्र आप्mना सहयोगी दलका लागि छोडिदिएको छ । संभवतः नेपाली काँग्रेसले यति धेरै निर्वाचन क्षेत्रमा उम्मेदवार नदिएर खालि छोडेको यो पहिलो पटक हुनुपर्छ । यसबाट बामतालमेल र बामएकताको बहस गर्ने कम्युनिष्ट घटकहरुका बीचमा यस पटक सिधै निर्वाचन हुने भएको छ । भनेपछि बामपन्थी बामपन्थीका बीचमा सिधा टक्कर हुने भएको छ । जसले जिते पनि ती निर्वाचन क्षेत्रबाट बामपन्थी नै विजयी बन्ने छन् । काँग्रेसले एमालेको प्रभाव र बिस्तार रोक्नका लागि माओवादी र अन्य एमाले विरोधी कम्युनिष्टलाई साथमा लिएको भएतापनि निर्वाचनमा बामपन्थी नै निर्वाचित भएर आउने सुनिश्चित भएकाले कम्युनिष्ट प्रभावलाई रोक्न भने काँग्रेस असफल नै हुनेछ ।
८.निर्वाचन परिणामबारेको अनुमानः धेरैको अपेक्षा छ कि यस पटक गठबन्धन नै अग्र स्थानमा आउनेछ तर गठबन्धन आफैंलाई भने त्यति भरोशा र विश्वास छैन । ग्रामीण क्षेत्रका मतदातालाई सजिलै प्रभाव पार्न सक्ने भएतापनि सहरी क्षेत्रका मतादातालाई त्यति सजिलै प्रभाव पार्न नसकिने भएको हुनाले गठबनधनलाई कतिपय निर्वाचन क्षेत्रमा सकस पनि छ । विचार , सिद्धान्त र दर्शन नमिल्ने धारसँगको गठबन्धन भएको हुनाले कतिपयले गठबन्धनलाई नरुचाएको पाइन्छ । एमाले पराजित गर्ने उद्धेस्यका साथ गठबन्धन बनेको हुनाले गठबन्धनभित्र जित्ने भन्दा पनि हराउने उद्धेस्य प्रवल रहेको देखिन्छ । अन्ततः निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसक्ने र निर्वाचान पछााडि सरकार गठनका लागि अर्को फरक प्रकृतिको गठबन्धन बन्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । गठबन्धनले सरकार गठनकाबारेमा नबोल्नु , गठबन्धनका तर्फबाट को प्रधानमन्त्रीको उम्मेदवार हो भन्ने तोक्न नसक्नु , साझा नीति र साझा कार्यक्रम घोषणा गर्न नसक्नु र सत्ता सहयात्राका लागि साझा अवधारणा निमार्ण गर्न नसक्नु गठबन्धनको ढुलमुलपन हो भन्न सक्ने आधार देखिन्छ ।
९. एमालेको भविस्यः कुनै पनि दलले निर्वाचनमा एक्लै बहुमत पुर्याउन नसक्ने अवस्थामा एमालेको बहुमतको सरकार बन्छ भनेर भनिदियो भने त्यो हास्यास्पद हुनजान्छ । यस पटक एमालेका लागि निक्कै ठुलो चुनौति छ । लोकप्रिय पार्टी हुँदा हुँदै पनि मत परिणाम एमालेको पक्षमा आइहाल्छ भन्ने अनुमान गर्न सकिन्न । एमालेका कार्यकर्ता कत्तिको इमानदार छन् भन्ने परीक्षण यो निर्वाचनमा हुँदैछ । जहाँसम्म जनताको कुरा छ एमाले जनप्रिय पार्टी हो । यो पार्टी जनताको प्यारो पार्टी हो । तरपनि एमाले यति खेर परीक्षणको घडीमा छ । एमाले भनेको नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीको पर्याय हो । एमाले रहँदैन भने कम्युनिष्ट पनि रहँदैन । नेपालमा कम्युनिष्ट पार्टी रहन्छ भने त्यो एमाले नै रहन्छ । कम्युनिष्ट भनेकै एमाले हो र एमाले मात्रै कम्युनिष्ट हो भन्ने दिन पनि आयो नेपालमा । कम्युनिष्टको सरकार ढाल्ने कम्युनिष्ट हुँदैन तर नेपालमा हुन्छ । नेपाल त्यस्तो देश हो जहाँ कम्युनिष्ट सरकार बन्छ र कम्युनिष्टकै कारण सरकार ढल्छ पनि । अन्यत्र त्यस्तो हुँदैन तर नेपालमा हुन्छ । एमालेको भविस्य बताउने ज्योतिष नेपाली जनता हुन् । त्यही कुराको निर्धारण हुन निर्वाचन हुँदैछ । निर्वाचनअघि एमालेको भविस्य यस्तै हुन्छ भनेर भन्ने हतार गर्नु राम्रो होइन । यदि नेपालमा कम्युनिष्ट रहन्छ भने त्यो भोलिको एमाले नै हुनेछ र यदि नेपालमा कम्युनिष्ट हुँदैन र नेपालमा कम्युनिष्ट चाहिँदैन भने एमाले पनि चाहिँदैन र त्यसो हुने हो भने भोलिको नेपालमा कम्युनिष्ट नहुने भएपछि एमाले हुँदैन । एमाले नहुने भएपछि अरु कम्युनिष्ट हुने सम्भावनको अन्त्य हुन्छ । कम्युनिष्ट बचाउने नै एमाले हो । बचाए एमालेले बचाउँछ नबचााए कसैले बचाउन सक्दैन । जबसम्म एमालेले मदनभण्डारीको जनताको बहुदलीय जनवादको राजनैतिक मार्गदर्शक सिद्धान्त शिरोधार्य गर्छ तबसम्म नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व रहन्छ ।
१०. काँग्रेसको भावी दिशाः नेपाली काँग्रेस परम्परागत रुपमा कम्युनिष्ट विरोधी पार्टी हो । प्रतिबन्धित अवस्थामा हुँदासमेत कम्युनिष्टसँग सहकार्य गर्न आनाकानी गर्दैआएको काँग्रेसले माओवादी लगायतका एमाले विरोधी उग्रबामपन्थी दललाई साथमा लिएर हिँड्नु र उग्रवादी कम्युनिष्टहरुले काँग्रेसलाई नै राजनीतिको मियो मानेर हिँड्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसबाट विगतमा माओवादी एजेण्डालाई सजिलै पारित गरिदिएको काँग्रेस माओवादी कै राजनीतिक विचारधारामा डोरने पो हो कि भन्ने अनुमान गर्ने पनि छन् । प्रजातान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा सँगै रहेको नरम कम्युनिष्ट भनेर विस्वले पत्याएको एमालेसँग मित्रवत प्रतिस्पर्धा नगरेर माओवादीलाई साथमा लिएर हिँड्ने काँग्रेस नेतृत्वको कडा आलोचना गर्ने पङती पनि काँग्रेसभित्रै छ । काँग्रेस आप्mनो सिद्धान्तबाट विचलित भएको अनुमान गर्नेहरु पनि छन् । यसबाट यो भन्न सकिन्छ कि काँग्रेस भोलिको राजनीतिक कार्यदिशाकाबारेमा स्पष्ट हुनसकेको छैन । एमालेसँग प्रतिस्पर्धा गर्न सुविधा हुने देखेर काँग्रेसले माओवादी लगायतकालाई साथमा लिएको हो भने त्यो काँग्रेसका लागि भोलि काउछाको माला सरह हुने देखिन्छ । हिजो पनि धर्मनिरपेक्षता , हिन्दू राष्ट्र र राजतन्त्रकाबारेमा काँग्रेसले विचार नगरी निर्णय गरेको हो । माओवादी एजेण्डामा बहकिएर महङ्गो संघीयता मुलुकमाथि लाद्न काँग्रेस सहमत भएको हो । काँग्रेस निरन्तर माओवादी एजेण्डामा हिँडिरह्यो भने काँग्रेस कसरी काँग्रेस रहन सक्छ भनेर चिन्ता गर्ने पनि छन् ।
११. निष्कर्षः निर्वाचनपछि ताजा जनादेशसहित मुलुकले नयाँ सरकार पाउँछ । प्रजातान्त्रिक प्रणालीहरु मजबुत हुन्छन् । राजनैतिक मतमतान्तर घटेर जान्छ । केही नयाँ राजनैतिक दलहरुको उदय हुन्छ । राजनैतिक दलको आकार प्रकार फेरिन्छ । कोही ठूला हुन्छन् । कोही साना हुन्छन् । निर्वाचनमा जथाभावी खर्च हुने हुनाले महङ्गी बढ्छ । दलहरुले निर्वाचनमा गरेको खर्चको मूल्य जनता चुक्ता गर्न बाध्य हुनेछन् । यसलाई रोक्न कसैले सक्ने छैन ।