चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नेपालमा हुने विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैकले सोमवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा यस अवधिमा ५८५ अर्ब ८ करोड रुपैयाँ बराबरको विप्रेषण रकम नेपालमा भित्रिएको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २९८.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो । रासस