राष्ट्रपतिद्वारा संघीय सांसदहरूको सम्मानमा रात्रीभोज

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का नवनिर्वाचित सांसदहरूको सम्मानमा आज रात्रीभोजको आयोजना गर्नुभएको छ ।

आम निर्वाचन २०७९ बाट निर्वाचित प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूको सम्मानमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रीभोजको आयोजना गर्नुभएको हो ।

रात्रीभोज अघि राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा देशका विभिन्न क्षेत्रका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपालका कलाकारहरूले हिमाल, पहाड र तराईका विभिन्न क्षेत्रका कलात्मक सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए ।

राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरू, संघीय संसद्को दुवै सदनका सांसदहरूका साथै सुरक्षा निकायका प्रमुखहरू र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

तस्वीरः सुनिल सि बज्राचार्य, राष्ट्रपतिको कार्यालय


ताजा खबर