निर्वाचन आयोगले शनिबार देशका विभिन्न भागमा हुने उपनिर्वाचनका लागि तयारी पूरा गरेको छ । आयोगले उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन सबै मतदान अधिकृतलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
साथै, दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एका घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्ने व्यवस्था छ ।
आयोगका सचिव देवकुमारी गुरागाईले मतदान केन्द्रको निर्माण, सर्वपक्षीय बैठक बस्ने र मतदान केन्द्र व्यवस्थित गर्नेजस्ता मतदान केन्द्रित सबै तयारी पूरा भएको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले कुनै किसिमको शङ्का, डर र त्रासमा नपरी ढुक्क र निर्धक्क भएर निर्भीकतापूर्वक मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ ।
निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिँदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।
प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा उपनिर्वाचनका लागि शनिबार मतदान हुँदैछ । गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत हुनुहुन्थ्यो । प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।
स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि उपनिर्वाचन हुँदैछ । विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदैछ ।
प्रमुख आयुक्त थपलियाले मतदाता परिचयपत्र हराएमा पनि मतदान गर्ने प्रबन्ध मिलाइएको बताउनुभयो । नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी वा सवारी अनुमतिपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य वैध परिचयपत्रबाट पनि मतदान गर्न पाइने छ ।
रासस