प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गर्नुभएको छ ।

अन्तर व्यवस्थापिका संघ (आईपीयु)को १४६ औँ महासभामा भाग लिन मनामामा रहनुभएका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गर्नुभएको हो ।

सभामुख घिमिरेले आईपीयुको १४६ औँ महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिनुभयो । उहाँले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । ‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उहाँको भनाइ थियो ।

सभामुख घिमिरेले नेपाल–बहराइन सिधा उडान हवाई उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौँमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराउनुभयो । सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इसा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिनुभएको थियो ।

जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरूले इमान्दारितापूर्वक काम गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिनुभएको थियो ।

रासस