राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।
यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गर्नुभयो ।
त्यसपछि उहाँलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो ।
त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाई तथा सफलताको शुभकामना दिनुभयो ।
रासस