मलंगवा : सर्लाहीको सदरमुकाम मलंगवामा रहेको सर्लाही जिल्ला अस्पतालमा शुक्रबार दिउँसो आगलागी भएको छ ।
आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कम्प्युटर, ल्यापटप, फ्रिजलगायत विद्युतीय उपकरण तथा औषधि समेत जलेको छ । आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
विद्युत् सर्ट भएर अस्पतालको माथिल्लो तलाबाट आगलागी सुरु भएको बताइएको छ । प्रहरी, स्थानीयबासिन्दा, व्यापारी र अस्पतालका कर्मचारीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको स्थानीय व्यापारी सुवास गुप्ताले बताए ।
मलंगवा नगरपालिका कार्यालयको दमकल नहुँदा आगो नियन्त्रण गर्नमा समस्या भएको गुप्ताले बताए । करिब ३० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । हरिवन नगरपालिकाबाट आउँदै गरेको दमलक मलंगवा नपुग्दै आगो नियन्त्रणमा आएको हो ।