~प्रा.डा. सुबोध सागर ढकाल
आजकाल सकुसल सुतेका मानिस मृत भेटिने गरेका खबर धेरै सुन्न र पढ्न पाइन्छ । आखिर के हो त यो समस्या ? चिकित्सकका अनुसार यस्तो अवस्था आउने धेरै कारण मध्ये श्वासप्रश्वास मुख्य हो ।
चिकित्सकीय भाषामा यसलाई अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्ने गरिन्छ । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमकै कारण पनि सकुसल सुतेका धेरै व्यक्ति मृत भेटिने गरेको चिकित्सकको भनाइ छ । सुतेको बेला ठूलो आवाजसहित लगातार घुर्नु, समय–समयमा श्वास रोकिएको महसुस हुनु, निन्द्रामा छटपटिनु, निस्सासिनु, श्वास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु र पटक पटक शौचालय जानुपर्ने अवस्था आउनु पनि यसका लक्षण हुन ।
सुत्नेक्रममा श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ‘कोल्याप्स’ हुने र जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँदा मानिसको मृत्यु हुने चिकित्सक बताउँछन् । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात पनि हुन्सक्ने ॐ हस्पिटलका वरिष्ठ छाती, स्वासप्रश्वास, सघन उपचार तथा निन्द्रा विशेषज्ञ प्रा.डा. सुवोध सागर ढकाल बताउनुहुन्छ ।
अब्स्ट्रक्टिभ स्लिप एप्निया भएमा देखिने लक्षणहरुः
बिहानीपख टाउको दुख्नु, दिउँसो झुपझुप निन्द्रा लाग्नु, एकाग्रता कमजोर हुनु, झर्को लाग्नु , राती ठुलो आवाज सहित लगातार घुर्नु, समय समयमा सास रोकिएको महशुष हुनु, निस्सासिने र सासफेर्न बल गर्नुपर्ने हुनु, निन्द्रमा बेचैनी हुनु, पटक पटक शौचालय जानुपर्ने यो समस्या भएको थाहा पाउने मुख्य मुख्य लक्षणहरु हुन् ।
कस्ता मान्छेलाई हुनसक्छ अब्स्ट्रक्टिभ स्लिप एप्निया ?
मोटोपना भएका,धूम्रपान र मद्यपान गर्ने,घाँटीको लम्बाइ छोटो भएका, नमिलेका दाँत र तलको चिउँडो सानो भएका, मुटु र मिर्गौला रोगका बिरामीहरुमा यो समस्या हुन्सक्छ ।
अब्स्ट्रक्टिभ स्लिप एप्नियाबाट बच्ने उपायहरुः
तौल सन्तुलित राख्ने, नियमित व्यायम गर्ने, सुत्ने कोठामा टिभि नराख्ने,सुत्ने र उठ्ने सन्ुलित तालिका बनाउने,खाना खाने बित्तिक्कै नसुत्ने,सुत्नुभन्दा तीन घन्टा अघि खाना खाने,उत्तानो परेर नसुत्ने,देब्रे र दाहिने कोल्टे परेर सुत्ने, धुमपान र मद्यपान नगर्ने गरेमा यो समस्यावाट बच्न सकिन्छ ।
अब्स्ट्रक्टिभ स्लिप एप्नियाको परिक्षण र उपचारः
अब्स्ट्रक्टिभ स्लिप एप्निया भए नभएको पत्ता लगाउँन एप्निया हाइपोनिया इन्डेक्स– एएचआई जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा श्वासनली कति पटक कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ । उल्लेखीत समस्या भएकाहरुले समयमै एएचआई जाँच गराउँनु पर्ने ॐ हस्पिटलका वरिष्ठ छाती, स्वासप्रश्वास, सघन उपचार तथा निन्द्रा विशेषज्ञ प्रा.डा. सुवोध सागर ढकालको सुझाव छ ।
काटमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा पनि आधुनिक सुविधा सम्पन्न स्लिप स्टडि ल्याव रहेको र दक्ष तथा अनुभवि चिकित्साकर्मीको निगरानीमा स्लिप स्टडि गरी सहि तरिकावाट सो समस्या पहिचान र निदान गर्ने र आवश्यक उपचार गर्ने व्यवस्था रहेको छ ।