एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधाभन्दा पनि कम हो ।
कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी ‘एक्स होल्डिङ्स’का कर्मचारीहरूलाई शेयर बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।
क्षतिपूर्ति योजनाले ट्वीटरको मूल्य २० अर्ब डलर तोकेको छ । यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’ (१८.७ बिलियन डलर) भन्दा केही मात्र बढी हो ।
तेस्ला इङ्क र एयरोस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारी समेत रहेका मस्कले ट्वीटरले आफ्ना कर्मचारीलाई हरेक छ महिनामा सेयर नगद गर्न अनुमति दिने बताउनुभएको छ ।
आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रूर सङ्कुचनको वर्णन गर्दै उहाँले बताउनुभएको छ, “ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्यो कि एक बिन्दुमा यो चरम आर्थिक सङ्कटको सङ्घारमा पुगेको थियो ।
यसअघि, मस्कले ट्वीटरमा शनिबार पोस्ट गरेको एक सन्देशमा भन्नुभएको छ, “ट्वीटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने अनुमान गरिरहेको छ ।”
उहाँले वार्षिक १.५ अर्ब अमेरिकी डलर को राजस्वमा गिरावट र समान रकमको ऋण–सेवा बोझको हवाला दिनुभएको थियो । ट्वीटरका बहुसङ्ख्यक शेयर होल्डर मस्कले भन्नुभयो, “कम्पनीको अवस्था अत्यन्तै डरलाग्दो स्थितिमा छ ।”
मस्कले आफ्नो नियन्त्रणमा लिएयता समूहको पेरोल सात हजार पाँच सय कर्मचारीबाट घटाएर दुई हजारभन्दा कममा झार्नुभएको छ । उहाँले २५० अर्ब अमेरिकी डलरको मूल्याङ्कनका लागि ‘स्पष्ट तर कठिन बाटो’ देखेको एएफपीलाई प्राप्त इमेलमा बताउनुभएको छ । रासस/एएफपी