सूर्य नेपाल गल्फ टुर २०२२-२३ आज सुरु हुँदै

सूर्य नेपाल गल्फ टुर २०२२–२३ को छैटौं प्रतियोगिताको रूपमा सूर्य नपाल च्यालेन्ज रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा आज मंगलबार देखी सुरु हुँदै छ, जहाँ प्रो–एमेच्योर गल्फरबाट उत्कृष्ट प्रदर्शन अपेक्षा गरिएको छ ।

चारदिने ७२ होलको प्रतियोगितामा व्यावसायिक गल्फर (प्रो) ३० र एमेच्योर ८ गरी ३८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले सोमबार जनाएको छ । नम्बर एक प्रो शुक्रबहादुर राई भने प्रोफेसनल गल्फ टुर अफ इन्डिया–पीजीटीआईको प्रतियोगितामा सहभागी हुने क्रममा भारतमै भएकाले सूर्य नेपाल च्यालेन्ज नखेल्ने एनपीजीएका महासचिव दीपक आचार्यले बताए ।
शुक्र कर्णाटक गल्फ संघको बैंगलुरुस्थितमा कोर्समा आइतबार सम्पन्न डन्कन टेलर ब्ल्याक बुल च्यालेन्जमा २ अन्डर २८६ खेल्दै ५७ औं स्थानमा रहेका थिए । युरोपियन टुरकै कार्यक्रम च्यालेन्ज टुर पीजीटीआईअन्तर्गत ३ लाख अमेरिकी डलर पुरस्कारको अर्को प्रतियोगिता ‘द च्यालेन्ज २०२३’ खेल्न पाउने आशामा उनी बैंगलुरुमै छन् ।

अघिल्लो साता गोकर्ण गल्फ क्लबमा भएको सूर्य नेपाल सेन्ट्रल ओपनमा २३ अन्डर २६५ को उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी चुम्दा शुक्रले समिम खानको १५ वर्ष पुरानो चार दिने प्रतियोगितामा कीर्तिमान स्कोर बराबरी गरेका थिए । त्यसक्रममा उनले दोस्रो चरणमा ११ अन्डर ६१ खेल्दै नयाँ कीर्तिमान (१८ होलमा सबैभन्दा राम्रो प्रदर्शन) पनि बनाएका थिए ।

उनको अनुपस्थितिमा एमेच्योरद्वय सुभाष तामाङ र सद्भव आचार्यसँगै डिफेन्डिङ च्याम्पियन भुवन (उमेश) नगरकोटी, गत वर्षको उपविजेता जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्कालगायतले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सुभाष र सद्भवले गत साता ढाकामा भएको ३६ औं बंगलादेश ओपन एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाललाई टिम स्पर्धाको स्वर्ण पदक दिलाएका थिए ।

‘नम्बर एक खलाडी नभए पनि अरू ३–४ खेलाडी कुनै पनि बेला राम्रो नसक्ने देखिएको छ,’ पूर्वनम्बर एक प्रोसमेत रहेका आचार्यले भने, ‘टुरमा खारिँदै आएर खेलाडीहरूको प्रदर्शन राम्रो देखएको छ ।’

एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, ‘सेन्ट्रल ओपनमा खेलाडीहरूले राम्रो प्रदर्शन गरेका थिए । कीर्तिमान बनाएका थिए । आरएनजीसीको कोर्स अवस्था राम्रो छ र यहाँ पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरेका छौं ।’

कुल ५ लाख ४५ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा विजेताले १ लाख, उपविजेताले ६५ हजार, तेस्रोले ४६ हजार, चौथोले ३८ हजार र पाँचौं हुनेले ३४ हजार पाउनेछन् । ३६ होलको खेलपछि शीर्ष २१ प्रो र उत्कृष्ट ६ एमेच्योर ‘कट’ बनाएर अन्तिम दुई चरण (३६ होल) का लागि छनोट हुनेछन् । कट बनाउने प्रोले कम्तीमा १० हजार पुरस्कार हात पार्ने छन् । रासस


ताजा खबर