~भीमप्रसाद अधिकारी
१.भुमिका: शिक्षालाई जीवनको अभिन्न अङ्गको रुपमा स्वीकार गरिएको छ । यस अर्थमा शिक्षा जीवन हो । शिक्षाले मानिसलाई वास्तिविक रुपमा मानव भएर जीवन यापन गर्न सिकाउँछ । शिक्षाबिनाको जीवनको कसैले पनि कल्पना गरेको हुँदैन । जानेर वा नजानेर थाहा भएर वा थाहा नभएर जुनसुकै परिस्थितिमा पनि मानिसले शिक्षा लिइरहेको हुन्छ । जीवनमा शिक्षा लिने र दिने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । कतिपय सन्दर्भमा जीवन पनि शिक्षा भइरहेको हुन्छ र कतिपय सन्दर्भमा शिक्षा पनि जीवन भइरहेको हुन्छ । व्यक्ति ,समाज र राष्ट्रका लागि शिक्षा सधैं चाहिरहन्छ । शिक्षाको आवश्यकता जसलाई पनि र जहिले पनि परिरहन्छ । आज विश्वमा मानव समुदायले प्राप्त गरेका सम्पूर्ण वैभवहरु , उन्नति र प्रगतिका कथाहरु , विस्मय र आश्चर्यहरुसँग शिक्षा जोडिएको छ । मानव सभ्यताको उत्थान , निर्माण र विकासमा शिक्षाको भूमिका नै सर्वोपरि रहेको छ । यद्यपि यससँग लगन , परिश्रम र उत्साह साथसाथै हुनुु आवश्यक पर्छ । शिक्षाले भोलिको विश्वको स्वरुप देखाइदिएको छ । हामीले हाम्रो भोलिको दिन कस्तो हुने छ भनेर आज कलपना गरेनौं भने समयले हामीलाई अँध्यारो खाडलमा छोडेर जाने छ । आजका प्रत्येक नेपालीले भोलिको नेपालको कल्पना गर्नुपर्दछ । आजको शिक्षामा भोलिको नेपालको चित्र देख्ने उत्सुकता नेपाली आँखामा हुनुपर्दछ । मूलत ः शिक्षा सरकारको दायित्व हो । शिक्षाको अभिभारा सरकारले नै लिुपर्दछ । तर, दुुर्भाग्यपूर्ण नियति के रहेको छ भने हाम्रो देशमा सरकार कहिल्यै पनि हुँदैन र यहाँ सधैं शासक हुन्छ । वास्तवमा आज हाम्रो सरकार छैन । यो सरमार नै होइन । यहाँ उपासकको रजगज छ । लगभग देशमा गडबडको खतरा जहिले पनि रहिरहन्छ । वर्तमानका शासक र तिनका उपासकलाई आजको शिक्षाको अवस्थाबारे कुनै जानकारी छैन अनि भोलिको नेपालको बारेमा तिनको कुनै चासो , सरोकार र चिन्ता पनि छैन ।
२.विषय प्रवेश: शिक्षा नागरिकको अनिवार्य आवश्यकता हो । सरकारको पहिलो प्राथमिकता हो । देश विकासको मुख्य आधार हो । जनता शिक्षित नभएसम्म राज्यका कुनै पनि प्रयासहरु सफल हुँदैनन् । प्रजातन्त्र लोकतन्त्र जजसलाई जे जे राम्रो लाग्छ त्यही त्यही भनौं शब्दमा विवाद छैन यो समस्या नै होइन तर मुख्य सवाल के हो भने शिक्षाको विकास नभएसम्म प्रजातन्त्र पनि संस्थागत हुन सक्दैन । प्रजातन्त्रले जिम्मेवारी र जबाफदेहताको माग गर्दछ तर व्यवहारमा विचारलाई लाद्ने र जनतालाई सास्ती दिएर जबरजस्तीसँग काम फत्ते गर्ने चलन लोकप्रिय छ । शिक्षाले प्रजातन्त्रका लागि काम गर्नुपर्छ र प्रजातन्त्रले पनि शिक्षाका लागि अवसर उपलब्ध गराउनुु पर्दछ । हाम्रो नियति के छ भने शिक्षाले प्रजातन्त्रका लागि काम गर्न पनि सक्दैन र प्रजातन्त्रले शिक्षाका लागि जुन अवसर उपलब्ध गराउनुपर्ने हो त्यो अवसर उपलब्ध गराउन पनि सक्दैन । देश विकासको रुपरेखा शिक्षाले कोर्नुु पर्दछ । शिक्षाको दायित्व प्रजातन्त्रले स्वीकार गर्नुपर्दछ । शिक्षामा प्रजातन्त्र जोडिनुुपर्दछ । प्रजातन्त्रमा शिक्षा जोडिनुु पर्दछ । शिक्षा र प्रजातन्त्र दुुई भिन्न भिन्न चिज हुँदै होइनन् । शिक्षा एकातिर र व्यवस्था अर्कोतिर । यो हुनु नै हुँदैन । शिक्षाको प्रसङ्गमा कुरा चल्दा वर्तमान शिक्षाले देशलाई भोलि कहाँ पुुर्याउँछ भनेर त्यसको अनुमान गर्न आवश्यक हुन्छ । निजी क्षेत्रको प्रशंसा गर्दा निजी क्षेत्रले उत्पादन गरेको शैक्षिक जनशक्तिको खपत कहाँ गएर भएको छ भन्ने हेर्नुुपर्छ । सामुदायिक शिक्षाको चर्चा गर्दा सामुदायिक शिक्षामा गरिएको लगानी र सामुदायिक शिक्षाले मुलुकको समग्र शैक्षिक विकासमा कति योगदान गरेको छ भनेर विश्लेषण हुनुपर्दछ । सामुुदायिक शिक्षाको समर्थकले निजी क्षेत्रको आलोचना गर्ने र निजी क्षेत्रको शिक्षाको योगदानको समर्थकले सामुदायिक शिक्षालाई नकारात्मक आँखाबाट हेर्ने जस्तो सस्तो र सजिलो कामतिर कम मात्रामा ध्यान जानुपर्दछ । देश जनताका लागि हो । आजका लागि मात्र होइन भोलिका लागि पनि हो । देश भोगीका लागि मात्र होइन जोगीका लागि पनि हो । ज्ञानको मूल्य बोध गरेर । शोध र अनुसन्धान गरेर सत्य र तथ्य प्रमाणित गरेर शिक्षाले आफ्नो शुद्धतालाई बचाइ राख्नुुपर्दछ । हाम्रो धर्मशास्त्रले भन्छ कि पृथ्वीमा ज्ञानभन्दा शुद्द अरु केही चिज हुँदैन । छ त त्यस्तो ?
३. शिक्षा सवाल एक सन्दर्भ अनेक: शिक्षाको बजार निकै विस्तृत र फराकिलो भइसकेको छ । संभावनाका सबै ढोकाहरु खुुला छन् । शिक्षामा जोसुकैले पनि लगानी गर्न पाउने र चाहेअनुसार शुल्क असुुल गर्न पाउने खुकुलो व्यवस्था छ । यसकारण , निजी क्षेत्रले अन्यत्र उचित लगानी गर्ने वातावरण नपाएपछि शिक्षामा मन खोलेर लगानी गरेको छ । शिक्षाको गुणस्तरको क्षेत्रमा निजी क्षेत्रको एकलौटी हैकम रहेको छ । वास्तवमा शैक्षिक गुणस्तरको सवालमा निजी क्षेत्रको योगदान निकै प्रशंसनीय रहेको छ । शिक्षामा निजी क्षेत्रले जुन प्रतिफल दिएको छ त्यसको तुलनामा सरकारी नियन्त्रणमा रहेका सामुदायिक निकायबाट प्राप्त प्रतिफल अत्यन्तै निराशाजनक रहेको छ । शिक्षाको बजारमा निजी क्षेत्रको राज छ । यहाँनेर सरकार अत्यन्तै निरीह र कमजोर बनेको देखिन्छ । शिक्षामा सोलोडोलो निजी क्षेत्रको बलियो पकड रहेको छ । ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा , साना सहरी क्षेत्रबाट ठूला सहरी क्षेत्रमा , ठूला सहरी क्षेत्रबाट राजधानी काठमाण्डूूमा र राजधानी काठमाण्डूूबाट पनि विदेश पलायन प्रवृत्ति तीव्र रुपमा झाँङ्गिदै गइरहेको छ । उच्च घरानाका केटाकेटीहरु सरकारी स्कुल कलेजमा पढ्न जाँदैनन् । निजी शिक्षण संस्थामा अध्ययन गर्नुु सम्भ्रान्तवर्गको इज्जत , मान , सम्मान र प्रतिष्ठाको विषय बन्न गएको छ । सरकारी अनुदानमा सञ्चालित शिक्षण संस्थाहरुमा विद्यार्थी भए पनि ती विद्यार्थी निरीह छन् । तिनका अभिभावक निरीह छन् । आर्थिक सामाजिक रुपमा पछि परेका गरिब तथा विपन्नवर्गका जनताका छोराछोरीले अध्ययन गर्ने सामुदायिक शिक्षण संस्थाहरुमा लगानीको खोलो बगाइदिए पनि त्यो लगानी बालुवामा पानी खन्याए जत्तिकै हुन गएको छ । सरकारी नियन्त्रणमा रहेका शिक्षण संस्थाहरुको व्यवस्थापन अत्यन्तै नाजुक र कमजोर रहेको छ । जनताले आफ्ना छोराछोरीको शिक्षादक्षिाका लागि सरकारी शिक्षण संस्थालाई रोज्नुु बाध्यता मात्रै हुन गएको । सामुदायिक शिक्षाको क्षेत्रमा काम गर्नका लागि उत्साहजनक वातावरण छैन । सधैंभरि अपजस , गालीगलौज , निन्दा , घृणा र आलोचना मात्रै सुनिरहनुपर्ने नियतिबाट शिक्षकवर्ग अत्यन्तै निराश र कुण्ठित छ । सञ्चालकहरुलाई दायित्वबोधको अनुुभूति गराउन सकिएको छैन । परिस्थिति यति असहज छ कि सरकारी शिक्षण संस्थामा रहेर काम गर्नेले कहीँ कतै गर्व पाउँदैन । न कसैलाई बधाइ भन्न पाउँछ न त कसैबाट बधाइ र शुुभकामना भन्ने प्रिय आवाज सुुन्न पाउँछ । शिक्षालाई जीवनसँग जोडिएन । जीवनलाई शिक्षासँग जोडिएन । केबल धेरै उपलब्धि मात्रै खाेिजयो । थोरैलाई कसरी धेरै बनाउने भन्ने चिन्तन गरिएन । जनवादी शिक्षाको हुुङकार गर्ने क्रान्किारी नेताहरु नै शासन सत्ताको माथिल्लो तहमा हुँदा पनि जनवादी त के सामान्य पूूँजीवादी सुधारवादी ढँचाको वरिपरिसम्म पनि शिक्षा पुुग्न सकेन । शिक्षा के हो र यसले मानिसलाई के दिन्छ भनेर आम जनतालाई अहिले पनि भन्न सकिएको छैन । वास्तवमा कुनै पनि सरकारले शिक्षाको विकासका लागि ठोस योजना र कार्यक्रम नै ल्याउन सकेन । अहिले पनि राजा महेन्द्रकालीन २०२८ सालको शिक्षा ऐन जीवतै छ । हाम्रो शिक्षाले जनताका छोराछोरीलाई अल्छे बनाउने । लुुुटेर खान सिकाउने । देशको लागि योगदान गर्न प्रेरणा नदिने । जनतालाई ठग्ने । ठगी गरेर ज्यान पाल्न सिकाउने । शोषण गर्ने । कहीँ कतै कसैले पनि इमानदार बन्नुुु नपर्ने । यस प्रकारको कमजोर संस्कार सिकायो । शिक्षा जीवनका लागि हो कि जीवन शिक्षाका लागि हो भनेर बहस गर्ने हो भने हामीले यो बहसमा निकै समय खर्च गर्नुुुपर्ने हुन्छ । निश्चय नै शिक्षा जीवनका लागि हो र जीवन शिक्षाका लागि होइन तर जीवन र शिक्षा निरपेक्ष वस्तुु होइनन् । शिक्षाबिनाको जीवन सम्भव छैन । यस अर्थमा शिक्षा जीवन हो । जीवनमा सिकाइको कुनै सीमा हुँदैन । सिक्ने जीवनबाट नै हो । यस अर्थमा जीवन स्वयम् नै शिक्षा हो । जीवन भोगाइबाट सिकेको ज्ञान संग्रह गरेर जीवनलाई सार्थक बनाउने नै जीवनको उद्धेश्य हो । जीवनको बिम्ब के हो ? वास्तवमा जीवन भनेको के हो ? जीवन कस्तो हुनुुपर्छ ? के हामीले बाँचेको जीवन जीवन जस्तो छ त ? के हामीले भोगेको जीवन जीवन जस्तो छ त ? मानिसले कल्पना गरेको जीवन र मानिसको आफ्नै आँखाले देखेको जीवन अनि साँच्चिकै मानिस आफैंले भोगेको जीवन कति समान छ कति भिन्न छ भनेर जीवनलाई फरक फरक कोणबाट हेर्नुपर्ने हुन्छ । वास्तवमा जीवन बिलकुल भिन्न छ । बिलकुल फरक छ । आजको प्रत्येक मानिस आधुनिक चेतनाबाट सुसज्जित भएको छ । आजको प्रत्येक मानिस आधुनिक वैज्ञानिक विचारधाराबाट प्रभावित छ । सारा नेपालीहरु नवीनतम चेतनाबाट सुुसज्जित भएर जीवनको अस्तित्व खोजिरहेका छन् । आफूू बाँचेको समकालीन नेपाली समाजमा जीवनका मूल्यहरुको खोजी गर्दा जीवनका अनेक चित्रहरु स्मृतिमा आउँछन् । के यसमा सन्तोष गर्ने ठाउँ छ त ?
हामी शिक्षाको कुरा गर्छौं । देश बनाउन कस्तो शिक्षा चाहिन्छ त्यो कुरा कहिल्यै गर्दैनौं । यो शिक्षाले देश बन्छ कि बन्दैन भनेर सोच्दैनौं । सोच्न लगाउँदैनौं । खोज गर्देनौं । शोध गर्दैनौं । जिन्दावाद र मूर्दावादको मानसिकताबाट हामी माथि उठ्न सकेका छैनौं । मनपरी गर्न पाउनुपर्छ भन्ने हाम्रो मुख्य यही एउटा माग रहँदै आएको छ जुन सबैको साझा मागभित्र पर्छ । देश लुट्न पाउनुपर्छ भन्ने हाम्रो सर्वोपरि महत्वको एउटा माग छ जुन सबैको साझा माग हो भन्ने स्पष्ट नै छ । हामीलाई सत्ता चाहिन्छ । हामीलाई सत्ताको आड र भरोशा चाहिन्छ । सत्ताको तावेदारी गरेर कहिल्यै नअघाउने जातका मानिस हामी । हामी एउटा हातमा झण्डा बोक्छौं र अर्को हातमा डण्डा बोक्छौं । झण्डा र डण्डा बोकेर उद्धण्ड बन्दै हिँड्ने हाम्रो बानी । यसबाट हाम्रा विद्यार्थीले के सिक्छन् ? के प्रेरणा ग्रहण गर्छन् ? कुरा धेरै गर्छौं हामी । काम थोरै गर्छौं हामी । यसरी हामी केबल यथास्थितिमा बाँचेका छौं । बाँच्नुलाई मात्रै उपलब्धि ठान्दछौं । लक्ष्य र उद्धेश्यबाट हामी निकै टाढा छौं । हामीले देशको लागि केही सोचेनौं । हामीले यो देशका लागि केही पनि गर्न सकेनौं । भोलिको नेपालले । भोलिका नेपाली जनताले । हाम्रो पालाको इतिहास खोज्लान् । अध्ययन अनुसंधान गर्लान् । त्योबेला वास्तविक रुपमा हाम्रो मूल्याङ्कन हुने छ । अहिले त हामीलाई के के न गर्यौं भन्ने छ । हामीले के गर्यौं रे ? आफ्नै लागि पनि सोच्न सकेनौं । हामीबाट देश त बनेन बनेन हामी आफूू स्वयम् पनि बन्न सकेनौं । हामीले राजा हटायौं । मरेको राजालाई हटाएको हो हामीले । ज्यूूँदो राजा हटाउन सक्ने तागत हामीसँग थिएन । हामीले धर्म हटायौं । संविधानबाट हटायौं , जनताको आस्थाबाट हटाउन सकेको छ र ? न त राजा हटाउन सकेको छ न त धर्म हटाउन सकेको छ । यहाँ फरक के छ भने पार्टीहरुको राष्ट्रपति हुन्छ र उसले तलव भत्ता खान्छ । जनताको राजा हुन्छ र उसले आफ्नै कमाइ खान्छ ।
भोलिको नेपाल कस्तो बनाउने भन्ने मुख्य भूमिका शिक्षाको हुन्छ । हामी कल्पना गर्छौं । पक्कै पनि भोलिको नेपाल एउटा बलियो नेपाल बन्न सकोस् । समृद्ध नेपाल र सम्पन्न सुखी नेपाली जनता हुन सकून । बिहारी बङ्गाली मात्रै हैन संसारका एकसेएक मुलुकबाट मानिसहरु नेपाल आउँन लालायित बनून । दक्षिण भारतबाट इण्डिएनहरु नेपाल आऊन । मुम्बई , मद्रास , कर्नाटक , महाराष्ट्र , उडिसा र केरलाबाट इण्डिएनहरु नेपाल आऊन । त्यसो भयो भने त्यहाँको संस्कार यहाँ आउँछ । नेपालीले संस्कार सिक्न पाउँछ । युरोपियनहरु , अमेरीकनहरु नेपालमा बसाइँ सराइ गरेर आऊन् । त्यसमा फरक के पर्छ र ? हामीले उनीहरुबाट राम्रो संस्कार सिक्न सक्छौं जुन हामीसँग छैन । खराब कुरा त उहिल्यै भित्रिइसकेको छ । हामीले छाडा हुन सिक्यौं विदेशीबाट । आफन्तबाट टाढा हुन सिक्यौं विदेशीबाट जुन बिर्सिनु आवश्यक छ । यस्तो छ कि हामी नसिक्नुुपर्ने अनावश्यक कुरा सिकिरहेकाछौं र सिक्नैपर्ने असल कुरा सिक्नबाट बञ्चित भएकाछौं ।
देश विकासको योजना अनुसार नै शैक्षिक जनशक्ति विकासको योजना गरिन्छ । शिक्षाको लगानी भविस्यको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नका लागि हो । कुन कुन क्षेत्रमा कस्तो कस्तो जनशक्तिको आवश्यकता छ भन्ने आधारमा शिक्षाको प्रबन्ध गर्नुपर्ने हुन्छ । पाठ्यक्रम त्यसैका आधारमा तयार गरिन्छ । शिक्षण योजना त्यही आधारमा तयार गरिन्छ । के हाम्रा शासक यसमा प्रष्ट छन् त ? यसमा कुनै विवाद छैन कि विकासका लागि उच्च दक्षतायुुक्त प्राविधिक जनशक्तिको आवश्यकता हुन्छ । दक्षताका पनि अनेक क्षेत्र हुन्छन् । डाक्टर इञ्जिनिएर पाइलट व्यवस्थापक बैंकर्स अध्यापक जस्ता उच्च सिपयुक्त दक्ष जनशक्ति उत्पादन देशको आवश्यकताका आधारमा गरिनुपर्दछ । दक्ष जनशक्ति कुनै पनि देशमा बेरोजगार हुँदैन । विकासलाई गति दिने हो भने यस्तै खालका उच्च दक्षतायुक्त प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएर त्यस अनुसारको आन्तरिक तयारी गर्नुपर्छ ।
शिक्षाको गुणस्तर सम्बन्धी अनेक सवालहरु रहेका छन् । कतै शिक्षामा गुणस्तर भएन भनेर गुनासो गरिएको छ त कतै उत्पादित जनशक्तिले स्वदेशमा रोजगारी पाएन भन्ने गुनासो पनि छ । दक्ष व्यक्तिले स्वदेशमा रोजगारी पाएको छैन भने हामीलाई अव दक्ष जनशक्ति चाहिएन भन्ने अर्थ लगाउनुपर्ने हुन्छ तर यथार्थ त्यो पनि होइन । देश विकासको लागि उच्च सिप र क्षमतायुक्त शैक्षिक जनशक्तिको सधैं आवश्यकता परिरहन्छ । समस्या के हो भने हाम्रो शिक्षा पद्धतिमा जनशक्ति आवश्यकता र परिपूूर्तिको कुनै खास योजना नै छैन । जताततै शिक्षा नै शिक्षा भन्ने होहल्ला गरिन्छ । पढ्नुुपर्छ पढ्नुपर्छ भनिन्छ तर के पढ्नुुपर्छ , कति पढ्नुपर्छ र पढेर के गर्नुुपर्छ यो कहिल्यै पनि भनिँदैन किनभने यसको योजना नै सरकारसँग हुँदैन । डाक्टर पढ्ने र राजनीतिमा संलग्न हुने हा भने त्यहाँ लगानी खेर गएको मान्नुुपर्ने हुन्छ । जन्मसँगै व्यक्तिलाई राजनीतिको पाठशालामा राखिदिने र जीवनभर व्यक्ति राजनीतिमा नै संलग्न रहिरहने हो भने त्यो देशका लागि बेकार हुन्छ ।
शिक्षा केबल शिक्षा मात्रै पनि होइन । शिक्षा राजनीति हो र राजनीति पनि शिक्षा हो । राजनीति असल पनि हुन्छ । राजनीति खराब पनि हुन्छ । यो जहाँ पनि हुने त्यही हो । नेपालको राजनीति सही बाटोमा हिँड्न सकेन । नेपालको राजनीति मूल्य मान्यता नैतिकता विचार आस्था सिद्धान्त दर्शनबाट निर्देशित हुन सकेन । सत्ता मोह नै राजनीतिको पहिचान बन्यो । जसरी पनि सत्ता । जहिले पनि सत्ता । सधैं सभापति । सधैं अध्यक्ष । सधैं प्रधानमन्त्री । एउटा व्यक्ति सधैं राजनीतिमा रहिरहने र एउटै व्यक्तिले बारम्बार पद पाइरहने अवस्थाले व्यवस्था विकृत भयो । लोकतन्त्रको सौन्दर्य रहेन । आजको नेपालमा जति पनि राजनैतिक सामाजिक आर्थिक समस्याहरु छन् । यी समस्याहरुको जिम्मेवार शिक्षा पनि हो । राजनीति पनि हो ।
देशले बारम्बार नोक्सान खप्न सक्दैन । एक दशकसम्म मुुलुक हिंशात्मक आन्दलोलनको चपेटामा पर्यो । विकास मिार्ण ठप्प भए । राज्य संयन्त्र ध्वस्त भयो । शान्ति सम्झौतापछि विस्तारै तङ्ग्रिन थालेको मुलुक अहिले पनि कैयौं अवरोध बाधा व्यवधानहरुको सामना गरेर अस्तित्व रक्षाका लागि घस्रिरहेको छ । मधेस आन्दोलन , जनजाति आन्दोलन , थारु आन्दोलन , एमसिसी आन्दोलन अनेक नाममा अनेक आन्दोलन सधैं आन्दोलन नै आन्दोलन भइरहनाले जनताका कैंयौं अधिकारहरु हनन भएका छन् र देशलाई ठूूलो नोक्सान भएको छ ।
द्वन्द्वबाट मान्छेले बाँच्नका लागि जे पनि हुनुुपर्छ भन्ने सिक्यो । द्वन्द्वकालमा मान्छे लुुट्न पाइन्छ भनेर माओवादी बन्न समेत मान्छे तयार भयो । कति मान्छे बाँच्नका लागि माओवादी भए होलान् । कति मान्छे ठग्नका लागि माओवादी भए होलान् । कति मान्छे माग्नका लागि माओवादी भए होलान । ठग्नका लागि र ्माग्नका लागि माओवादी भएकाले माओवादलाई सिद्धान्तको रुपमा स्वीकार गरेर त्यस अनुरुप काम गर्ने सम्भावना नै थिएन । भएन पनि । आफ्ना व्यक्तिगत फाइदाका लागि मान्छे माओवादी क्रान्तिकारी भयो र भइरह्यो । मान्छे लुटपिटमा संलग्न भइरह्यो । माओवादीले जस्तासुकै मान्छेलाई पनि राजनीतिमा निम्त्यायो र पार्टीलाई हावा भरिएको बेलुन बनायो । शान्ति प्रक्रियामा आएपछि माओवादी निरन्तर सत्ताशीन छ तर हिजो युद्धकालमा आफैंले उठाएका कतिपय शैक्षिक सवालहरुमा माओवादी नाजबाफ छ । माओवादीका ठुुलठुला क्रान्किारी नेताहरु नै धेरै पटक शिक्षामन्त्री भए तर शिक्षामा कुनै सुधार भएन । सुधारको कुनै संकेत छैन ।
देश पहिलो प्राथमिकतामा हुन्छ । व्यक्ति दोस्रो । देशभन्दामाथि कोही पनि हुँदैन । हामीले देशका लागि सके जति योगदान गर्नुपर्छ । देश सबैको साझा हो । सबै मिलेर देश बनाउनुपर्छ । एक्लैले केही पनि गर्न सकिँदैन । देश बनाउने शिक्षाले हो । आज शिक्षामा गरेको लगानीले भोलिको देशको स्वरुप निमार्ण हुन्छ । शिक्षामा लगानी भन्नाले आर्थिक लगानी मात्रै हो भन्ने बुुझ्नुु हुन्नुु । शिक्षामा सबैको लगानी छ । जनताको पनि लगानी छ । विद्यार्थीले पढ्नका लागि जुन समय दिन्छ त्यो पनि लगानी नै हो ।
नागरिकलाई कस्तो शिक्षा दिने र त्यसका लागि कस्तो परिपाटी बनाउने भन्ने सरकारसँग योजना हुनपर्छ । शिक्षित युवाहरुको निरन्तर विदेश पलायन भइरहेको छ । युवाहरु मदुरको रुपमा विदेशिए पनि विज्ञको रुपमा विदेशिए पनि त्यो देशका लागि घाटा नै हुन्छ । युवाहरु विदेश गएर देश सून्य झैं भएको छ । बौद्धिक पलायन होस् वा अन्य कुनै पनि प्रकारको विदेश पलायन हुने अवस्थाले देशको परिस्थिति राम्रो छ भन्ने बुुझाउँदैन । युवाहरुमा देशका लागि काम गर्नुपर्छ भन्ने भावना हुनुपर्छ । युवाहरुमा देशका लागि केही गरौं भन्ने प्रेरणा जगाउँन सक्नुुपर्छ । हाम्रो शिक्षा पद्धतिबाट उत्पादन भएका जनशक्तिहरु विदेशी भूमिमा खटिएका छन् । यसबाट देशको विकास हुँदैन । हाम्रो शिक्षा पद्धतिबाट युवाहरु बेरोजगार बनेर निस्किएका छन् । वस्तुु तथा सेवाको उत्पादन अत्यन्तै न्यून छ । अर्थतन्त्र रेमिटान्सबाट चलेको छ । युवावर्गले विदेशी भूूमिमा बगाएको पसिनाबाट अर्थतन्त्र धानिनुु र राष्ट्रिय उत्पादन हुँदै नहुनुु । राजश्वबाट कर्मचारीको तलवभत्ता व्यहोर्न हम्मे हम्मे पर्नु । वैदेशिक ऋण र सहायताबाट विकास खर्च धान्नु पर्ने अवस्था हुनुु । दलहरु सरकार बनाउन र गिराउनमा नै अलमलिनुुबाट देश गम्भिर समस्यामा छ भन्ने सूचित हुन्छ । शिक्षा खराब भयो भने सबैथोक खराब हुन्छ भन्ने भनाइ छ । शिक्षा ध्वस्त भयो भने देशको सम्पूूर्ण थिति र परम्परा कानुन र व्यवस्था ध्वस्त हुुन्छ भन्छन् बुुझ्नेहरु । यस कारण पहिलो सुधार शिक्षाबाट नै हुनपर्छ । पहिलो प्रयास शिक्षालाई सुधार गर्नका लागि नै हुनुुपर्दछ । हामीले नागरिकलाई असल बनाउनका लागि शिक्षा दिनुु परेको हो । नागरिकलाई देशका लागि योग्य बनाउनका लागि असल शिक्षा दिनुुपरेको हो । दलाल ठग लुटेरा हत्यारा बलात्कारी चोर लफङ्गा पतित भ्रष्ट बनाउनका लागि शिक्षाको आवस्यकता पर्दै पर्दैन । अब हामीले गुणस्तरको बहस गर्दा शिक्षाको बजारमा टिक्ने बिक्ने खप्ने डट्ने गुुणस्तरको पक्षमा बहस गर्नुपर्छ । आफ्नो देशप्रति गौरव गर्ने । देशलाई महान् ठान्ने । विदेशको प्रलोभनमा नफस्ने । राष्ट्रवादको भावना भएको । देशप्रेमी एउटा योग्य असल इमानदार कर्मठ जिम्मेवार नागरिक राष्ट्रको गहना हो ।
अबको गुुणस्तर ज्ञान , सीप र दक्षतामा मात्रै सीमित हुन सक्दैन । बानी व्यवहार आचार स्वभाव रुचि प्रवृत्ति समग्रमा गुुणस्तर खोज्नुुपर्छ । प्रविधिमा दक्ष र विज्ञ भएर मात्रै पुुग्दैन । असल नियत । त्याग र सेवाभावको सोच भएको नागरिक हामीलाई चाहिन्छ । हामीलाई भ्रष्टाचारलाई प्रोत्साहन नगर्ने असल नेता चाहिन्छ । हामीलाई जनतालाई दुख नदिने प्रशासक चाहिन्छ । हामीलाई असल शिक्षा दिने असल आचरण भएको शिक्षक चाहिन्छ । हामीलाई रावश्व ठगी नगर्ने व्यापारी चाहिन्छ । हामीलाई बोल्न खोज्दा मुख थुन्न अग्रसर नहुुने प्रहरी चाहिन्छ । हामीलाई जथाभावी सडकमा हल्ला नगर्ने जनता चाहिन्छ । हामीलाई थिति मिलाउने । अनुशासन सिकाउने । शुुद्ध मन र पवित्र विचार भएको मन्त्री चाहिन्छ । हामीलाई समयमा मलखादको आपूूर्ति गर्नसक्ने कृषिमन्त्री चाहिन्छ । हामीलाई देशका लागि सोच्ने विचारक चाहिन्छ । प्रशासनिक क्षमता भएका व्यवस्थापक चाहिन्छ । अर्थतन्त्रलाई मजबुत बनाउने बैंकर्स चाहिन्छ । सबै थिति परम्परा बिग्रिएको छ । यसलाई सुधार गर्नसक्ने इमानदार मान्छे चाहिएको छ । आजको शिक्षाले भोलिको आवस्यकतालाई सम्बोधन गर्नसक्नुुपर्दछ । हामीलाई त्यस्तो शिक्षा चाहिएको छ जसले भोलिको सुन्दर नेपालको कल्पनालाई साकार पार्न सकोस् ।
४. निष्कर्ष: शिक्षा क्षेत्र युवाहरुलाई बेरोजगार बनाएर बिचमा नै अलपत्र छाडिदिने गैरजिम्मेवार नबनोस् । देशको वर्तमानको आवस्यकता र भविस्यमा थप हुने आकांक्षा समेतलाई सम्बोधन गर्न सक्ने सामथ्र्य शिक्षासँग हुनपर्छ । देशको आवश्यकतालाई परिपूूर्ति गर्नसक्ने योजना अनुसार शिक्षामा समसामयिक सुधार हुनुु जरुरी छ । आजको शिक्षा व्यवस्थाले भोलिको नेपाल कस्तो हुँदैछ भन्ने संकेत गर्दछ । आजका संकेतहरु भोलिका लागि शुुभ फलदायी हुुने देखिँदैनन् । देश ओरालो लागेको छ । युवा विदेशिएका छन् । देशमा रोजगारीको अवसर छैन । अर्थतन्त्र कमजोर छ । राष्ट्रिय उत्पादन कमजोर छ । यही अवस्था रहिरहे आजको शिक्षा वर्वाद हुने र भोलिको नेपाल कमजोर भएर जाने हुनसक्छ जुन नेपाली जनताको मनमा गहिरो दुख हुने विषय हो । यसले नेपाली जनतालाई सुखी र समृद्ध बनाउँदैन । यसमा पक्का छ ।
समाप्त