एमडीजीपी अध्ययन गरेका चिकित्सकलाई फेमिली फिजिसियन पनि भनिन्छ । जसले कुनै पनि रोगका बिरामीलाई सर्वप्रथम परीक्षण गरी उनीहरूको विद्यमान अवस्थाबारे विस्तृतमा अध्ययन गर्ने, आवश्यक ल्याब परीक्षण गर्ने तथा अन्य परीक्षणहरू गरी उनीहरूको रोगको निदान गर्दै औषधिको सिफारिस गर्दछन् । एमडीजीपी अर्थात् फेमिली फिजिसिजन त्यस्ता विशेषज्ञ चिकित्सक हुन्, जसले जीवनका हरेक पाइलामा आउने समस्यालाई समाधान गर्न पहल गर्दै बिरामीको गुणस्तरीय स्वास्थ्य सेवा र सही रोगको पहिचानमा उचित निर्णय लिन ठूलो योगदान पुर्याएका हुन्छन् । बिरामीको शारीरिक परीक्षणमात्र नभई, उनीहरूको दैनिक जीवनसँग सरोकार राख्ने, सामाजिक, मानसिक तथा संवेदनात्मक पक्षसँग प्रत्यक्ष सरोकार राख्दै उचित समाधान निकाल्न हरबखत प्रयासरत हुन्छन् ।
नेपालमा सन् १९८२ मा त्रिभुवन विश्वविद्यालयमा प्रथम पोस्ट ग्य्राजुयट कार्यक्रम सुरुवात गरेर एमडीजीपी विशेषज्ञ चिकित्सकहरूको उत्पादन थालिएको थियो । मधुमेह, थाइराइड, उच्च रक्तचापजस्ता दीर्घकालीन रोगहरूको प्रत्यक्ष निगरानीका लागि फेमिली फिजिसियन सधैँ जोडिएका हुन्छन् । त्यसैले पनि त्यस्ताप्रकारका बिरामीले आफ्नो दैनिक जीवनमा भोग्नुपरेका सम्पूर्ण समस्याहरूलाई नजिकबाट नियाल्दै वास्तवमै उनीहरूको सहयात्रीका रूपमा काम गर्ने प्रथम विशेषज्ञ चिकित्सक नै फेमिली फिजिसियन हुन् ।
त्यसका साथै कुनै अन्य रोगका बिरामीहरूको थप उपचार आवश्यक परेमा उचित मार्गनिर्देशन गर्न, उपचार प्रक्रियामा पहिचान गरिएका परीक्षणहरूका बारेमा सम्बन्धित विषय विशेषज्ञसँग परामर्श गर्न तथा थप उपचारका लागि सम्बन्धित चिकित्सक तथा स्वास्थ्य संस्थामा प्रेषण गर्नसमेत फेमिली फिजिसियनले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । स्वास्थ्य सेवाको प्रारम्भिक चरणदेखि दीर्घरोग लागेका बिरामीहरूसँगको निरन्तर सामिप्यता, उनीहरूको दैनिक परामर्शका लागि समेत फेमिली फिजिसियनले महत्वपूर्ण योगदान पुर्याइरहेको हुन्छ । त्यसैले यस क्षेत्रमा संलग्न चिकित्सकहरूको व्यापकताका लागि नेपाल सरकारले आवश्यक दरबन्दीको सिर्जना गर्दै सरकारी स्वास्थ्य संस्थाहरूमा उपलब्धता गराउनुपर्छ । साथै, निजी स्वास्थ्य संस्थामा आउने कुनै पनि बिरामीको सहज उपचारका लागि समेत सर्वप्रथम फेमिली चिकित्सकको परीक्षणपश्चात् मात्र उनीहरूको सल्लाहबमोजिम अन्य विशेषज्ञ चिकित्सकहरूमा जाने पद्धतिको विकास हुन सकेमा स्वास्थ्य संस्थामा देखिने अनावश्यक भीड नियन्त्रण हुन्छ । यसबाट बिरामीले सहज उपचार पाउने सक्छन ।
ग्रामीण तहबाट स्वास्थोपचारका लागि धेरै खर्च गरेर आउने बिरामीलाई सहज उपचार गर्न तथा उनीहरूको स्वास्थ्यको सम्पूर्ण रेखदेखका लागि समेत फेमिली फिजिसियनले महत्वपूर्ण भूमिका हुन्छ । अनावश्यक रूपमा सामान्य प्रकृतिका रोगहरूको पहिचान नै नगरी विशेष चिकित्सक खोज्नेक्रममा उनीहरू भौँतारिरहने हुनाले समेत त्यसका उचित समाधानका लागि समेत यस क्षेत्रमा काम गर्ने चिकित्सकले विशेष योगदान पुर्याउँदै आएका छन् । मानव स्वास्थ्यमा देखापर्ने कुनै पनि समस्याको फेमिली चिकित्सकलाई परीक्षण गराई स्वास्थ्य सेवामा आईपर्ने कुनै पनि कठिनाइबाट जोखिम कम गर्न सकिन्छ ।
नेपालको संविधानले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुने छैनन् भनी मौलिक हककै रूपमा स्थापित भइसकेको विद्यमान अवस्थामा गुणस्तरीय स्वास्थ्य सेवाका लागि समेत यस क्षेत्रका चिकित्सकहरूले गहन भूमिका निर्वाह गरिरहेका छन् । २१औँ शताब्दीको स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सकहरूलाई परीक्षण गराउने परिपाटीलाई व्यवस्थित र मर्यादित बनाउँदै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनसमेत फेमिली फिजिसियनको अपरिहार्यता रहँदै आएको छ । विकसित मुलुकमा सबैभन्दा पहिला स्वास्थ्य परीक्षण गर्ने चिकित्सक भनेको फेमिली फिजिसियन नै हो । सायद त्यसैले होला हामी एमडीजीपी अध्ययन गरेको चिकित्सकहरूलाई फेमिली चिकित्सकका रूपमा पहिचान गरिएको छ ।
नेपालको सन्दर्भमा फेमिली फिजिसियन चिकित्सकहरूको काम, कर्तव्य र जिम्मेवारीबारे कमै मात्रामा जानकारी पाइने गरिन्छ । त्यसैले गुणस्तरीय स्वास्थ्य सेवाप्रवाहका लागि सर्वप्रथम प्रत्येक गाउँपालिकामा एकजना फेमिली फिजिसियनको उपलब्धता हुन सकेमा नेपाल सरकारले अङ्गीकार गरेको सर्वव्यापी स्वास्थ्य सेवालाई सार्थक बनाउन सकिन्छ । त्यतिमात्र होइन, सम्पूर्ण नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि तथा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको जनस्वास्थ्य सेवा नीति २०७५ लाई यथोचित कार्यान्वयन गर्नका लागि समेत फेमिली फिजिसियनहरूको दरबन्दी वृद्धि गरी स्थानीय तहसम्म पुर्याउनु अनिवार्य छ । तबमात्र नेपाल सरकारले परिकल्पना गरेको गुणस्तरीय स्वास्थ्य सेवा र सबैको पहुँचका लागि सार्थक हुन सक्दछ ।
नेपालको स्वास्थ्य नीतिअनुरूप प्रत्येक स्थानीय तहमा एकजना चिकित्सक अनिवार्य रूपमा उपस्थित गराउने निर्णयलाई सान्दर्भिक तुल्याउन प्रत्येक मेडिकल कलेजमा रहेका एमडीजीपीको विभागलाई पूर्ति गरी गुणस्तरीय चिकित्सक उत्पादन गर्नुपर्छ । मेडिकल कलेजमा सङ्कायको अभाव रहेको सम्बन्धमा सम्बन्धित निकायले यस कुरालाई गम्भीर मनन गरी दु्रत मार्गमा त्यसको व्यवस्थापन गर्नुपर्दछ । त्यसका साथै सरकारी स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सकहरूको आकर्षणका लागि समेत पर्याप्त मात्रामा दरबन्दी सिर्जना गरी उनीहरूको क्षमता अभिवृद्धिका लागि यथेष्ट व्यवस्थापन गर्नुपर्छ । यसो गरेमा मात्र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सकिन्छ । स्थानीय तहसम्म स्वास्थ्य सेवाको पहुँचका लागि फेमिली फिजिसियनको उत्पादन बढाउनुका साथै उनीहरूको कार्यक्षमतालाई समय–समयमा अद्यावधिक गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान पु¥याउन सकिन्छ । त्यसैले सो सम्बन्धमा नीति निर्माण तहमा बसेकाहरूले यस सम्बन्धमा गम्भीर विचार गर्नुपर्ने देखिन्छ ।