जनप्रतिनिधिसँग मेरो अपेक्षा:वाई पी विनय

“म सबै जनप्रतिनिधिहरुलाई विनम्र अनुरोध गर्दछु तपाईहरु जुन कार्यक्रममा जानु हुन्छ त्यो कार्यक्रमको विषयमा अध्ययन गरेर जानु होस् र त्यहि विाष्यमा मात्र बोल्नुहोस् । बेतुकका राजनीतिक गफ र बेप्रसंगका सबाल जोडेर आयोजकको मञ्च दुरुपयोग नगर्नुहोस् । जनता बाठा भै सके उनिहरु भाषण भन्दा उपलब्धी बढि खोज्छन् । भएका उपलब्धी विषयान्तर नगरिकन भन्नुहोस् । बोल्नका लागि ५ मिनेट समय निकै हुन्छ सकेसम्म पाँच देखि बढिमा १० मिनेटमा मन्तव्य सक्नुहोस् । त्यहा भन्दा बढि धैर्य गर्न सक्ने जनतानै छैनन् अहिले ।”

सयौ हजारौ जनताको मत पाएर चुनाव जितेका राजनीतिमा लामो समय योगदान दिएका र खारिएका जेल–नेल, आन्दोलन, लाठ्ठि मुड्कि सबै सहेका अनि पहिला आफ्नै दल भित्रका र पछि अर्को दलका यस्तै सबैथोक सहेका र खारिएका नेताहरुलाई जितेर जनप्रतिनिधि भएकाहरुलाई सुझाव वा उनिहरु सँग केहि अपेक्षा राखेर लेख लेखिराख्नुपर्ने त होइन तर होइन भन्ने जान्दा जान्दै पनि मनमा खड्कीएका केहि प्रश्नहरुमा जनप्रतिनिधिहरुको कार्यव्यस्तता र जिम्मेबारीको बोझले ध्यान पुग्न नसकेको हो कि भनेर जतिपनि निर्वाचित जनप्रतिनिधहरु छन् सबैको एक असल शुभचिन्तकको नताले यो लेख मार्फत म केहि अपेक्षामुलक सुझावहरु यहाँ प्रस्तुत गर्न गईरहेको छु ।

जनप्रतिनिधिहरुको मुख्य दायित्व के
मेरो बुझाईमा बर्तमान अवस्थामा निर्वाचित जनप्रतिनिधि हरुको मुख्य तीन वटा दायित्वहरु छन् ।
– पहिलो निति निर्माण
– दोस्रो योजना तर्जुमा र
– तेस्रो कार्यान्वयनको अवस्था अनुगमन तथा मूल्याङ्कन ।

यि बाहेक पनि जनप्रतिनिधहरुको अरु थुप्रै कामहरु छन् । वडा अध्यक्षले सिफारिसका कामहरु गर्नु पर्दछ, नगरका प्रमुख उपप्रमुखको काधमा संघियताको सफलता हात लगाउने जिम्मेबारी छ, नगर विकासका लागि महत्वपूर्ण अन्य कामहरु गर्नुपर्ने हुन्छन । त्यस्तै प्रदेश सभाका सदस्यहरुको पनि छ भने केन्द्रीय संसद (संघिय संसद) का जनप्रतिनिधिहरुको माथि नै उल्लेख भएको निति निर्माणको गहन जिम्मेबारी छदै छ । मैले लेखै लैख्ने गरि यहाँ खड्किएको विषय चै के हो भन्दा हाम्रा जनप्रतिनिधिहरु यि मुख्य तीन जिम्मेबारी बहन गर्न कति सक्षम भए र उनिहरु के गर्दैछन् भन्ने सवाल हो । पक्कै पनि निति निर्माणको सवालमा जनप्रनिनिधि हरुको सक्रियता सन्तोषजनक हुन सकेको छैन । केन्द्रीय जनप्रतिनिधिहरुको मुल थलो संसद देखि गाउँपालिका सम्ममा कानुन निर्माण गर्ने अधिकार छ तर जनप्रतिनिधिहरु त्यो अधिकारलाई उपयुक्त ढंगले प्रयोग गर्न सकेको अवस्थामा छैनन । संघय संसदले बेलामा कानुन निर्माण गर्न सकेको छैन । सञ्चार विधेक, गुठि विधेक लगायतका केहि विधेकहरुमा प्रयाप्त छलफल नभएको भनेर आलोचना सहनु परेको छ भने त्यसमा भएका राम्रा पक्षहरुका विषयमा बहस चलाउन नसक्दा संसदमा दर्ता गरिसकेर पनि फिर्ता गर्नु परेको अवस्था समेत छ । त्यस्तै प्रदेश सरकारले पनि कानुन निर्माणको पाटो, प्रदेशको राजधानी र नामाकरण लगायतका विषयमा गतिलो ढंगले अगाडि बढ्न सकेको छैन भने स्थानीय तहहरुले कानुन निर्माणमा अराजकता मच्चाई रहेका छन् । शिक्षक सरुवा, भर्ना, करारमा कर्मचारी नियुक्ती गर्ने, कर्मचारीको सेवा सुविधा, जनप्रतिनिधिको सेवा सुविधा, जस्ता आफू अनुकुलका र स्वार्थका विषयमा मनखुशि कपिपेष्ट गरिएका कानुन स्थानीय तहमा बनिरहेका छन् । स्थानीय तहलाई कानुन बनाउने जिम्मेबारी दिनुको मुल कारण भुगोल सुहाउदो, समाज सुहाउदो कानुन बनोस् भनेर हो । तर जनप्रतिनिधिको उदासिनता र स्थानीय तहमा भएको कर्मचारी अभावका कारण सबै जिम्मेबारी प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने वाध्यताका विच अन्यत्र बनेका कानुनमै नाम सच्चाउने तथा मन्त्रालय विभाग तिरबाट आएका नमुनामा आफ्नो स्थानीय तहको नाम थप गर्ने बाहेकको विज्ञता जनप्रतिनिधिहरुले देखाउन सकेका छैनन् ।

जनप्रतिनिधिको अर्को महत्वपूर्ण पदिय जिम्मेबारी अन्र्तगत योजना तर्जुमा पर्दथ्यो । तर यो दोस्रो जिम्मेबारीमा पनि जनप्रतिनिधिहिरुको सन्तोषजनक कार्यप्रगति देख्न पाईएको छैन । भोट बैंक हेरेर योजना हाल्ने, हिजो चुनावमा सहयोग गर्ने र नगर्नेलाई विभेद पूर्ण ढंगले बजेट विनियोजन गर्ने, बजेट खर्चको तुलनामा लाभान्वीत र त्यसबाट प्राप्त हुने प्रतिफलाई अन्दाज समेत नगरि योजना र बजेट तर्जुमा गर्ने, लोकप्रियताका लागि बजेट खर्च गर्ने, अनावश्यक ठाउँमा बजेट खर्च गर्ने, उत्पादन मुखि भन्दा सेवामुखि र खुशि पार्ने खाल्का क्षेत्रमा बजेट विनियोजन गरेको पाईन्छ । देख्दा राम्रो काम तर अनुत्पादक र भविष्यमा पु¥याउन नसकीने खाल्का काममा समेत बजेट दिएर लोकप्रियता हासिल गर्न खोजेको जस्तो देखिन्छ । ठोस विकासको योजना बनाउन सकेको पाईदैन । घर घरमा बाटो पु¥याउने लक्ष्य राखिएको पाईन्छ तर कुन मुल बाटो हो ? कुन शाखा बाटो हो छुट्टाउन सकेको पाईदैन । कुन सडकलाई कति प्राथमिकता दिनु पर्ने, कुन खानेपानी अयोजना कसरी सञ्चालन गर्नुपर्ने ? कुन सडक कहिले सम्म कालोपत्रे गरिसक्नु पर्ने ? कुन सडकलाई कति प्राथमिकता दिनु पर्ने ? कुन विद्यालयको भौतिक सुधार आवश्यक, कुन सिंचाई कुलो प्रमुख प्राथमिकतामा पर्ने जस्ता कुरामा ठोस र दिगो योजना बनाउने भन्दा पनि कार्यकर्ताहरुको कचकचको आधारमा बजेट फाल्दीने, चित्त बुझाईदिने किसिमका योजनाहरु बन्ने गरेको पाईन्छ ।

अर्को महत्वपूर्ण तेस्रो जिम्मेबारी भए गरेका योजना हरुको मूल्याङ्कन गर्ने हो । यो सवालमा त जनप्रतिनिधहरु झनै कमजोर भएको पाईन्छ । योजना कार्यन्वयन अगाडि नै आफ्नो दलको नेता कार्यकर्तालाई उपभोक्ता समितिमा राख्ने अथवा आफ्नै दलको ठकेकेदारलाई कामको जिम्मेबारी दिने कार्यमा तल्लीन भएका थुप्रै जनप्रतिनिधिबाट निश्पक्ष अनुगमनको आशा गर्नै नसकीने अवस्था छ । कतिपयले त एकाघरका परिवारका सदस्यको नाममा निर्माण कम्पनी खडा गरेर कामको जिम्मेबारी दिएको समेत पाईएको छ । यस्तो अवस्थामा गुणस्तर हिन काम हुदा समेत त्यसलाई सच्चाउन सक्ने ल्याकत जनप्रतिनिधिहरुमा पाईदैन ।

के गर्दैछन् त जनप्रतिनिधिहरु ?
पक्कै पनि गम्भिर प्रश्न यहि हो । आफ्ना मुख्य जिम्मेबारीहरु मा गतिलो ढंगले प्रस्तुत हुन नसकेका जनप्रतिनिधिहरु बोक्रे गतिविधिमा निकै सक्रिय र साह्रै नै व्यस्त भएको पाईन्छ । शिलान्यास, उद्घाटन, विमोचन, साधारण सभा, बार्षिक उत्सव, गोष्ठि, मिटिङ, सेमिनार, अध्यन अबलोकन भ्रमण र भेटघाट मुख्य त जनप्रतिनिधिहरुको व्यस्तता यतिमै केन्द्रित हुने गरेको पाईन्छ । यि सबै गतिविधि जनसम्पर्कको एउटा माध्यम हो त्यसैले शिलान्यास, उद्घाटन, गोष्ठि सभा सम्मेलनमा जानुलाई अन्यथा रुपमा लिनु हुदैन । तर ति सहभागिताहरु कति उपलब्धी मुलक भए भन्ने विषयमा हामीले गम्भिर हुनै पर्दछ । केवल उपस्थितिका लागि भएका उपस्थितिले न त जनसम्पर्क स्थापित गर्दछ न त जनप्रतिनिधिहरुको लोकप्रियता नै बढाउछ ।
मलाई सम्झना छ जनप्रतिनिधिहरु निर्वाचित भएको एक वर्ष भित्रको कुरा हो नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको अधिवेशनमा सिन्धुली जिल्लाका लगभग सबै स्थानीय तह र संघ प्रदेशका जनप्रतिनिधिहरुको सहभागि रहेको थियो । मन्तव्यको क्रममा एक स्थानीय तहका प्रमुखले रेडक्रस गतिविधि र त्यसमा आफ्नो स्थानीय तहले खेलेको भूमिका प्रष्ट्याउनुहोला भनेको, केहि थान एम्बुलेन्स किन्ने र विपत जोखि प्रतिकार्य रणनितिक योजना बनाउन बजेट विनियोजन गर्ने भनेर मुस्कीलले दुई मिनेट जति रेडक्रस संग सम्बन्धीत गतिविधि बोल्नु बाहेक आफ्नो मन्तव्यको करिव १८ मिनेट समय आफ्नो स्थानीय तहको कर प्रणाली, करको दर र दायराका विषयमा चर्चा गर्नु भयो । जिल्ला भरिबाट आएका रेडक्रस प्रतिनिधिहरुका विच यो अति अस्वभाविक भाषण थियो । यो उदाहरण मात्र हो म सबै जनप्रतिनिधिहरुलाई विनम्र अनुरोध गर्दछु तपाईहरु जुन कार्यक्रममा जानु हुन्छ त्यो कार्यक्रमको विषयमा अध्ययन गरेर जानु होस् र त्यहि विाष्यमा मात्र बोल्नुहोस् । बेतुकका राजनीतिक गफ र बे–प्रसंगका सबाल जोडेर आयोजकको मञ्च दुरुपयोग नगर्नुहोस् । जनता बाठा भै सके उनिहरु भाषण भन्दा उपलब्धी बढि खोज्छन् । भएका उपलब्धी विषयान्तर नगरिकन भन्नुहोस् । बोल्नका लागि ५ मिनेट समय निकै हुन्छ सकेसम्म पाँच देखि बढिमा १० मिनेटमा मन्तव्य सक्नुहोस् । त्यहा भन्दा बढि धैर्य गर्न सक्ने जनतानै छैनन् अहिले ।

म उतिसारो सार्वजनिक समारोहहरुमा उपस्थिति हुन्न । आफ्नो फुर्सद र आफूलाई सहभागि हुन मन लागेका अथवा यसैगरी दुई शब्द भन्न मन लागेका विषय मिलेका कार्यक्रमहरुमा सहभागि हुन्छु । म जति पनि कार्यक्रममा सहभागि भएको छु ति कार्यक्रमहरु मा उपस्थित हुने जनप्रतिनिधिहरु सबैभन्दा बढि हतारमा हुन्छन् । उनिहरुले आयोजकलाई अनुरोध गरेर आफ्नो पालो भन्दा अगाडि नै कर्मकाण्डी ढंगले आयोजकको पक्षमा मन्तव्य राखेर हिडेको पाउँछु । कतिपय जनप्रतिनिधि कि त यसरी विचैमा हिड्छन् कि अर्को कार्यक्रम सकेर कार्यक्रमको अन्तिम तिर अइपुग्छन् । म यसलाई जनप्रनिधिको असक्षमताको रुपमा लिने गर्दछु । यदि कार्यक्रम महत्वपूर्ण हो भने त्यो कार्यक्रममा पूरा समय बस्नुहोस्, कार्यक्रमको गम्भियर्ता बुझ्नुहोस्, सबैका मन्तव्य सुन्नुहोस् र आफ्नो स्थानीय तहको प्रतिनिधित्व झल्कने गरि नेतृत्वदायि अभिव्यक्ति वा निर्देशन दिनुहोस् । होइन भने भाषण गरेर हिडिदिने वा भाषण गर्न मात्र आईपुग्ने नगर्नुहोस् । यदि कुनै कार्यक्रम आवश्यक छैन महत्वपूर्ण होइन भन्ने लाग्छ भने तपाईहरु त्यहा जादै नजानुहोस् । तपाई सहभागि हुने प्राय कार्यक्रम तपाई मातहतका निकायका हुन । त्यसैले ति कार्यक्रमहरुमा गएर आफूलाई प्रमुख अतिथि बनाएकोमा वा राम्रो स्वागत सत्कार गरेकोमा वा मान मनितो गरेकोमा आभार प्रकट मात्र नगर्नुहोस् । ति निकाय कसरी चलेका छन् निर्देशनात्मक कसुधारका सन्देश दिएर फर्कनुहोस् । तपाई जनप्रतिनिधिको हैसियतमा कुनै विद्यालयमा पुग्नु भएको छ भने पढाईको गुणस्तरलाई ध्यान दिनुहोस् । व्यवस्थापन समितिका पदाधिकारीले माग्ने भौतिक निर्माण र बजेटको संरचनालाई मात्र ध्यान दिएर उनिहरुलाई आस्वस्थ पार्न म सक्दो प्रयास गर्छु, भनेर धार्निको टाउको नहल्लाउनुहोस् । विद्यार्थी संख्याको आधारमा शिक्षक छन् छैनन नोट गर्नुहोस् र आवश्यक कदम चाल्नुहोस् । त्यस्तै सहकारीहरुले साधारण सभामा बोलाउदा सहकारी वित्तिय अवस्था बुझ्नुहोस्, सञ्चालकहरुले भित्रभित्रै सकि सकेको पनि हुन सक्छ । पछि बचतकर्ताले जनप्रतिनिधिले राम्रो भनेको थ्यो आज डुव्यो नभनोस् । गैससको कार्यक्रममा जादा पनि उसका काम गराई र कार्यशैलि, हाल सम्मका उपलब्धी र त्यसको स्थायीत्व विचार गरेर मात्र गुणगान गाउनुहोस् । तपाईहरुलाई भ्रमणको चाजो मिलाईदिए बापत, विदेश लगिदिन्छु भने वापत वा एकाधपटक राजधानी पुग्ने गाडीको व्यवस्था गरिदिए वापत वा घरका कसैलाई रोजगारीमा अल्झाईदिए वापत उ प्रति कृतज्ञ भई राख्नु जनप्रतिनिधिको असल आचरण अन्तर्गत पर्ने कुरा होइनन् ।

जनप्रतिनिधिहरु अनावश्यक कार्यक्रममा जाने र अस्वभाविक व्यस्त हुने क्रमलाई रोक्नुहोस् । दिनमा पाँच सात ओटा मिटिङमा व्यस्त हुने, मिटिङको व्यस्थताले विषय वस्तु विर्सने अवस्थाको अन्त्य गर्नुहोस् । पाँच ओटा मिटिङमा भ्याई नभ्याई सहभागि हुने, एउटाको निष्कर्ष निस्केको छैन अर्कोमा सहभागि हुन हतारीने र पाँच ओटै उपलब्धी विहिन हुने अवस्थाको अन्त्य गर्नुहोस् । एउटा गर्नुहोस् राम्रो गर्नुहोस् । ठन्डा दिमागले गर्नुहोस् ।

हरेक विषय बस्तुमा जानकार हुनुहोस् र कर्मचारीको काममा हस्तक्षेप नगर्नुहोस् । आफू सिष्टममा चल्नुहोस् । कर्मचारी सबै लोकसेवा पास गरेर आएका हुन । उनिहरुलाई काम गर्ने बातावरण दिनुहोस् । आफ्नो निहित स्वार्थ पूरा नभएको नाममा कर्मचारी, लेखपाल फेर्ने मन्त्रालय तिर सरुवाका लागि नधाउनुहोस् । जो कर्मचारी भएपनि सिष्टममा काम गर्नु पर्छ, गर्छन । अनावश्यक दवाव भए मात्र हो कर्मचारीले असहयोग गर्ने । यति कुरा बुझ्नुहोस् ।

जनताको गुनासोहरु सुन्नुहोस् । खुशि पार्न आश्वासन नदिनुहोस् । बजेटले भ्याए सम्म प्राथमिकताको आधारमा काम अगाडि बढाउनु होस् । कुनैपनि योजना पूर्ण सम्पन्न गर्न सक्ने साथ्र्य राखेर मात्र काम अगाडि बढाउनु होस् । थालिएका कार्य विचमा छोड्ने अथवा अपुरो पारेर अलपत्र नपार्नुहोस् । त्यसले नकारात्मक सन्देश दिन्छ । यो विषयमा जानकार हुनुहोस् ।
आलोचनालाई सुझावको दृष्टिकोणले हेर्ने प्रयास गर्नुहोस् । सुधार गर्न सकिने ठाउँहरु रहेछन् भने आलोचना गर्नेलाई मनमनै धन्यवाद दिएर सुधार गर्नुहोस् । होइन ठाउँ नै रहेनछ भने त्यस्तो आलोचनालाई विर्सिदिनुहोस् तर मनन चाहि गर्नुहोस् ।
पार्टी पंत्ति नेता कार्यकर्ता भन्दा बढि जनता प्रति जिम्मेबार हुनुहोस् । विपक्षिको साथ लिन र विपक्षि क्षेत्रमा योजनाहरु दिन नहिच्काउनु होस् । सबै सँग मित्रवत व्यवहारका लागि प्रयत्नशिल रहनुहोस् । छिर्केलाउन र बद्नाम गराउनेहरु आफ्नै वरिपरि घुमिरहेका छन् । म हजुरकै हु भनेर सिद्याई रहेका हुन्छ । अगामी बाटो खालि गर्न आफ्नै हितैषि पार्टी भित्रकै ले बद्नाम गरिरहेका हुन सक्छन् दुरदर्शि हुनुहोस् । चनाखो बन्नु होस् ।

के जनप्रतिनिधिका काम गराई चित्त बुझ्दा छैनन त ?
पक्कै पनि यावत कुराहरु गरिरहदा यो प्रश्न पनि आउछ । तर हामीले जुन रुपमा बुझिरहेका छौ अथवा हामीलाई जुन ढंगले बुझाउने प्रयास गरिएको छ र जसरी होहल्ला सामाजिक सञ्जाल देखि मिडिया सम्ममा जसरी जनप्रतिनिधिहरुलाई बद्नाम गराउने ढंगले प्रचारबाजि भईरहेका छन अवस्था त्यस्तो छैन । त्यो केवल राजनीतिक स्वार्थमा भएका घटनाक्रम हुन । संघियताको व्यवस्थापन चरण, स्थानीय तहको कानुन निर्माण सहितको अधिकार प्रयोग गरेर विकास निर्माण गर्ने पहिलो अभ्यासको यो चरणमा केहि अलमल र अप्ठ्याराहरु पक्कै पनि छन् । ति अलमलहरुमा जनप्रतिनिधिहरु अल्मलीएको वस्तविकतालाई गलत ढंगले प्रचारबाजि गरिएको अवस्था छ । गाउँगाउँमा सिंहदरबार भनेको सिंहमात्र आयो भनेर जनप्रतिनिधिलाई आक्षेप लगाउन खोजिएको छ तर हिजो १० देखि ४० लखा भन्दा बढि बजेट नपाएका गाउँविकास समितिहरु अहिले एउटा बडा भएर करोड माथि बजेट परिचालन गर्न सक्ने अवस्थामा पुगेका छन् । अधिकृत स्तरका कर्मचारीको सेवा गाउँ गाउँबाट सुरु भएको छ । थुप्रैै सदरमुकाम आउनु पर्ने काम गाउँबाटै सम्पन्न हुन थालेका छन् । एउटा घर आगलागि हुदा राहात माग्न सिडिओकोमा नआई प्लाष्टीकको बाल्टीन र एउटा त्रिपाल नपाउने जनताले तत्काल खाना, नाना र छाना को व्यवस्था हुने गरि गाउँपालिका बाटै रहात पाउने अवस्था सृजना भएको छ । बैङ्किङ सेवा गाउँमै पुगेको छ । थुप्रै परिवर्तनहरु स्थानीय तहको निर्माण पछि भएका छन् । यि कुराहरुलाई विर्सेर हामीले जनप्रतिनिधिहरुलाई आरोप पत्यारोप मा गर्नु व्यर्थ छ ।

यो सिकाईको चरण हो र यसमा सबैले हातेमालो गरेमात्र यो सफल हुनछ । कसैले कसैलाई आरोप प्रत्यारोप गर्ने, विरोध गर्ने, निषेध गरेर व्यवस्था सुध्रिदैन । हिजो हामीले नेता बनाएर जिताएर पठाएको जनप्रतिनिधिले गाडी चड्यो मोटरसाईकल चढ्यो भनेर हामिले आलोचना गर्ने होइन उसले हामीलाई सेवा पनि दिएको छ, हाम्रो गाउँको बजेट थप्न हाम्रो गरिवि, हम्रो विकटता, हाम्रो अभालाई राज्यको माथिल्लो निकायमा पु¥याउने पुलको रुपमा पनि काम गरेको छ र गाउँमा बजेट आउदै छ, समस्या अनुसार सामाधान हुदै छ, गाउँ विकासको योजना तर्जुमा गर्दै छ भन्ने कुरा बुझ्न आवश्यक छ ।

निष्कर्ष
जनप्रतिनिधिहरुका गतिविधि पनि सन्तोषजनक छैनन र हामी जनताको आरोप पनि न्यायोचित छैनन् । जनप्रतिनिधिहरुले अनावश्यक व्यस्तता र औपचारिक कार्यक्रमको मोह त्याग्नु पर्छ र आफ्ना प्रमुख जिम्मेबारीमा ध्यान केन्द्रीत गर्नु पर्छ भने जनताले सिमित स्रोत र साधानका विच भईरहेको विकास निर्माणलाई चित्त बुझाएर एकै वर्ष एकै पटक वा यहि साल सबै विकास सम्भव छैन भन्ने कुरा बुझ्नु पर्छ । विश्वका महाशक्ति राष्ट्रहरु कुनै एक शासकले एक कार्यकालमा बनाएका होइनन । देश बन्न वीस पचास वर्ष लाग्छ । हामी धैर्य गरौ । देश विकासको बाटोमा लम्की सकेको छ । अहिलेको सकस भनेको कसैले सहि बाटो पहिल्याएर देशलाई विकासको मार्गमा डोहो¥याउला, कसैले ककसैको राजनीति सकिदेला । भोलि आफू नेता बन्न नपाईएला भन्ने चिन्तनको सकस पनि हो । हामी जनता हौ जनता भएर सोचौ जो सुकैले विकास गरेपनि हामीलाई विकास चाहिएको हो । बाद र विचरमा धेरै ध्यान नदिउ । धेरै आलोचक नबनौ, सुधारका लागि सुझाव दिउँ तर निराश हुने गरि होइन । आशाबादी हौ । हिजोको भन्दा आज धेरै सुविधा हुदै गएको छ । विकासमा तल्लो स्तरका जनताको सहभागिता र पहुँच स्थापित हुदै गएको छ । यो सत्यलाई सबैले मनन गरौ ।

सफल नेपाल साप्ताहिक मंसिर १२ गतेको अंकबाट

ताजा खबर