‘मान्छे जीवित छ भने कामना र सपनाले नै जिउँदो हुन्छ। कामनाको कुनै अन्त्य हुँदैन। जुन दिन कामना अन्त्य हुन्छ तपाईं जिउन छाड्नुहुन्छ।’
भारतका उर्दू कवि गुलजार (८८) सँग विविध परिचयको फुर्को गाँसिएको छ- गीतकार, लेखक, पटकथाकार, फिल्म निर्देशक। उनलाई यस युगका महान् उर्दू कविहरूमध्ये एक मानिन्छ। फिल्म बन्दिनी (सन् १९६३) मा सङ्गीतकार एसडी बर्मनसँग सहकार्य गर्दै गीतकारका रूपमा यात्रा शुरू गरेका उनले त्यसपछि अनेकौं दिग्गज कम्पोजरसँग काम गरे। गीत लेखनबाट फड्को मार्दै फिल्ममा पटकथा, संवाद लेख्न थालेका उनले सन् १९७१ मा मेरे अपनेबाट निर्देशनमा हात हाले। उनी निर्देशित आँधी (१९७५), मौसम (१९७५), इजाजत (१९८७) जस्ता फिल्म निकै रुचाइएका छन्।
१८ अगस्ट १९३४ मा तत्कालीन ब्रिटिश भारतको दिना (हाल पाकिस्तानमा पर्ने) मा शिख परिवारमा जन्मेका सम्पूर्णसिंह कालरा सिर्जनाको संसारमा होमिंदै पहिचानको खोजीमा लाग्दा गुलजार नाम कमाए। खास गरी हिन्दी सिनेमामा गरेका कामबाट परिचित उनी साहित्यको दुनियाँमा पनि उत्तिकै सक्रिय र प्रिय छन्। कविताका साथै कथा, उपन्यास पनि लेखेका उनका रावी पार (१९९९), रात पश्मिने की (२००२), सेलेक्टेड पोइम्स (२०१२), मिलो से दिन (२०१३), टू (२०१८), एक्चुअल्ली आइ मेट देम (२०२२) लगायत पुस्तक प्रकाशित छन्।
गुलजारसँग बीबीसी हिन्दीका विकास त्रिवेदीले फरक कोणबाट गरेको संवादको सम्पादित अंश:
तपाईंले आजसम्म अनगिन्ती अन्तर्वार्ता दिनुभयो। कतिपय प्रश्नको उत्तर त कैयौं पटक दिनुभयो होला। के कुनै यस्तो प्रश्न छ, जुन सोधियोस् भन्ने चाहनुहुन्थ्यो, तर आजसम्म सोधिएन?
म त चाहन्थें, मसँग प्रश्न नै नसोधियोस्। प्रश्न कठिन कुरा हो। त्योभन्दा कठिन हो जवाफ। प्रश्नले तपाईंलाई अप्ठेरोमा पार्न सक्छ। यसैले मलाई कसैले प्रश्न नगरोस् भन्ने मेरो चाहना हुन्छ। कसैले केही पनि नसोधोस्। अपेक्षा गर्छु, हरेक पटक उही जवाफ दिएँ, हरेक पटक मेरा जवाफ त बदलिंदैनन्।
समयसँगै अनुभव बदलिन्छ र त्यसको जवाफ बदलिन्छ। किनकि त्यसले दायरा फराकिलो पार्छ। उर्दू महोत्सव ‘जश्न-ए-रेख्ता’ र ‘जयपुर लिटरेचर फेस्टिभल’ मा कैयौं चोटि गएको छु। तपाईं एक-एक घण्टा, दुई-दुई घण्टा जतिसुकै सायरी, साहित्य सुनाउनुस्, त्यसपछि मान्छेहरूले प्रश्न गर्दा फिल्मका दुई-चार गीतको विषयमा सोधे। कसैले पनि साहित्यको विषयमा सोधेनन्।
प्रश्न गर्नेहरू धेरै पटक यहाँसम्म पुग्छन् कि, लाग्छ अब ‘रेखाजीले विवाह किन गर्नुभएन’ भनेर सोध्नेछन्। तब धेरै निराश हुन्छु। घण्टौं शायरी सुनाऊ, अनि मान्छेहरू सोध्छन्- फलानो गीत तपाईंले कसरी लेख्नुभयो? त्यो स्थितिमा के गर्नु? तब नख्शब (जार्चवि) सा’बको शेर सम्झिन्छु- ‘घबरा के जो हम सर को टकराएँ, तो अच्छा हो’।
नसरीन मुन्नी कबीरसँग तपाईंको कुराकानीमा आधारित पुस्तक जिया जलेमा लेखिए अनुसार, चेन्नईमा दिल से (सन् १९९८) फिल्मको ‘जिया जले’ गीतको रेकर्डिङ गराइरहँदा लता मंगेशकरले ‘म त अन्धो भए जस्तो लाग्यो’ भन्नुभएछ। तपाईं स्टुडियोमा गएर बसेपछि मात्रै रेकर्डिङ पूरा भएको थियो रे। त्यो पूरै किस्सा बताइदिनुस् न।
त्यो घटना के थियो भने, प्राय: रेकर्डिङ स्टुडियोहरूमा काँच लगाइएको हुन्छ, जसबाट गायक, सङ्गीतकार, गीतकार एक-अर्कालाई देख्न सक्छन्। औंलाको इशाराले एक, दुई, तीन भन्दै काउन्टडाउन दिन पनि सकिन्छ। तर, त्यो गीत रहमान सा’ब (एआर रहमान)को स्टुडियोमा रेकर्डिङ हुँदै थियो। लताजी पहिलो पटक रहमानको सङ्गीतमा गीत गाउँदै हुनुहुन्थ्यो। स्टुडियोको बनावट गायकले सङ्गीतकारलाई देख्न नसक्ने किसिमको थियो। बाहिरको कुनै सङ्केत र इशारा देख्न सकिंदैनथ्यो। त्यस्तोमा गायकलाई आफ्नो कानमा गाइरहे जस्तो मात्र लाग्ने भयो।
लताजीले मलाई बोलाएर भन्नुभयो, “मैले त केही पनि देखिनँ।” मैले बुझें, यो मनोवैज्ञानिक प्रभाव हो। त्यसैले म स्टुडियोभित्रै टूल लगेर बसें। मलाई निर्देशक मणि रत्नमले नबस्नू भन्दै थिए, तर म बसें र बीचमा रहेर यताबाट उता कुनै कुरा भन्नुपरेमा बताएँ पनि।
‘मेरा कुछ सामान तुम्हारे पास पडा हे’ जस्तो सरल तर भावुक बनाउने पंक्ति। अर्कातिर, ‘११६ चांद की रातें एक तुम्हारे कांधे का तिल’ जस्तो धेरैले रुचाएको तर कठिन हरफ। बलिउडमा गुलजार सा’ब जस्तो नलेख्नू भनेको पनि सुनिन्छ। के आजको समयमा गीतबारे मानिसहरूको बुझाइ कमजोर हुँदै गएको छ भन्ने तपाईंलाई लाग्छ?
जुन भाषामा फिल्म चलिरहेको छ, त्यसमै गीत लेखिंदै छ। गीतको लवज अलग छैन। फिल्मको संवाद बुझिन्छ भने गीत पनि बुझिनुपर्ने हो। हो, यो त्यो लवज होइन, जुन सन् १९४७ भन्दा अघि थियो। कथ्य र अभिव्यक्तिको शैली त समयसँगै बदलिन्छ। साँच्चै भन्नुपर्दा, अहिले तपाईंले जिन्स लगाउनुभएको छ, यो पहिरन पनि त पहिले थिएन। तपाईंको पहिरन बदलियो, खाना बदलियो। कुराकानी, किताब, फिल्म, सङ्गीत सबथोक बदलिइसक्यो, अनि गीतको भाषा चाहिं बदलिंदैन र?
सङ्गीत, चित्रकला, कविता जस्ता कलाका जति पनि हाँगा छन्, ती जिन्दगीसँग जोडिएका छन्। समय बदलिंदै जाँदा समस्या बदलिंदै छ र तिनको समाधान पनि। खानपिन पनि परिवर्तन हुँदै छ। कतै यात्रामा निस्किँदा हतारमा छौं भने बसेर कढी-भात त पकाउँदैनौं, बर्गर समातेर बाटो लाग्छौं। तपाईंको जिन्दगीको रफ्तार बदलिरहेको छ भने सङ्गीतको रफ्तार पनि त बदलिइरहेको छ।
म तपाईंलाई स्वीकार गरिरहेको छु भने तपाईंको लवज पनि स्विकारिरहेको छु। म आफ्नो समय, आसपासको माहोल स्वीकार गरिरहेको छु भने बाँकी चिज पनि स्विकारिरहेको छु। आजको समयमा बाँच्ने र कुरा चाहिं मिर्जा गालिबको समयको गर्ने त हुन सक्दैन।
तपाईं उर्दू र अंग्रेजीमा लेख्नुहुन्छ। अधिकतर हिन्दीमा पढिनु/सुनिनुहुन्छ। करीब ३४ भाषाका सयौं कविका सिर्जना अनुवाद गर्नुभएको छ। ‘लस्ट इन ट्रान्सलेशन’ अर्थात् अनुवादमा मुख्य चीज नै हराउनु कति ठूलो चुनौती हुन्छ?
हरेक भाषाको आफ्नो भाव हुन्छ। भारतमा यति धेरै भाषा छन्। यिनको आपसमा सम्पर्क हुन जरुरी छ। हामी अंग्रेजीमा अनुवाद गर्दा पनि पश्चिमा देशहरूका लागि होइन, आफ्नै देशका लागि गरिरहेका छौं। हामीकहाँ यति समृद्ध र ‘क्लासिक’ भाषाहरू छन्, हामीलाई आफ्नै एउटा माध्यम भाषा चाहिएको छ।
कल्पना गर्नुस्, तमिलको शायरी हिन्दीमा पढ्न पाइयोस्। हिन्दीको शायरी गुजरातीमा आओस्। हामीकहाँ अंग्रेजी माध्यम भाषा बनेको छ। तर, हाम्रा सांस्कृतिक विषयको पूर्ण अनुवाद गर्नै कठिन हुन्छ। ‘पनघट’, ‘सिउँदोको सिन्दूर’ बुझाउन सक्दैनौं। अंग्रेजीमा यो बताउन लामो शब्द जोड्नुपर्ने हुन्छ। जस्तै, ‘मंगलसूत्र’ लाई अंग्रेजीमा बुझाउनुको साटो आफ्नो कुनै भारतीय भाषामा बुझाउने कोशिश गरे कुनै न कुनै शब्द भेटिन्छ। किनकि सांस्कृतिक रूपमा हामी एक हौं। यसैले देशभित्रकै एकअर्को भाषामा अनुवाद गर्न धेरै जरुरी छ।
कतिपय वेला हामी ‘गागर’, ‘मटकी’ को कुरा गरिरहेका हुन्छौं, तर कुनै भाषामा त्यो स्त्रीलिङ्ग र कुनैमा पुलिङ्ग हुन जान्छ। अनुवादमा अर्थभन्दा बढी अनुभूति महत्त्वपूर्ण हुन्छ। अनुवाद गर्न दुवै भाषामा जानकार हुन धेरै जरुरी हुन्छ।
तपाईंको जन्मभूमि दिना (हाल पाकिस्तानमा) देखि मुम्बईसम्मको सफरमा कुनै यार छन्, जो जीवनको मोडमा छुटे र अहिले याद आउँछन्?
दिना पनि याद आउँछ, दिल्लीको सब्जीमन्डी पनि, जहाँ म हुर्कें र बढें। त्यहाँबाट म बम्बई आएँ। अहिले बम्बई पनि बदलिइसक्यो, मुम्बई भएको छ। यहाँको ट्राम याद छ, जसमा खूब यात्रा गरियो। लेखकहरूको संगठन ‘प्रोग्रेसिव राइटर्स एशोसिएशन’ पनि सम्झिन्छु। त्यो जमानामा कैयौं ठूला लेखक देख्थें। ट्राममै हुन्थ्यो लेखकहरूको बैठक। साहिर लुधियानवी, कृश्न चन्दर, राजेन्द्र सिंह बेदी, जां निसार अख्तरहरूलाई सुन्थें। सुनेर निकै प्रभावित भइन्थ्यो र केही सिकिन्थ्यो पनि।
जावेद सिद्दीकीको अनुहार याद आउँछ। त्यो वेला जावेद अख्तरसँग भेट भएको थिएन। कार्यक्रमहरूमा सिर्जना सुनाउन युवा लेखकले मौका नै पाउँदैनथे। ती घाघडान लेखकहरूको सामु हामीले हाम्रो रचना सुन भन्ने कुरा पनि सुहाउँदैनथ्यो। उनीहरू हाम्रो काँधमा हात राखेर हौसला भने दिन्थे।
तपाईंले १९६३ देखि अहिलेसम्म लेखिरहनुभएको छ। कैयौं सरकार आए र गए। तर, पछिल्लो समय फिल्महरूले कठिनाइको सामना गर्नुपरेको देखिंदै छ। तपाईंलाई अहिलेको समय मुश्किल लाग्छ कि पहिले पनि यस्तो समय थियो?
आजको पिंढीका फिल्महरू निकै तीखो र चर्को बोल्छन्। हाम्रो जमानमा त कुनै पात्रलाई मन्त्री भन्न समेत छूट थिएन। मैले आँधी फिल्ममा एक पात्रलाई मिनिस्टर भनेको थिएँ, त्यो सेन्सरबाट स्वीकृत भएन। विगतमा अहिलेभन्दा धेरै कठिनाइ थिए।
आजको पुस्ता फिल्ममा खुलेर अभिव्यक्त भएको देखिन्छ। कठिन विषयवस्तु पनि समातेको छ। जस्तो– म आफ्नी छोरी मेघनाको नाम लिऊँ या राकेश मेहरा वा विशाल भारद्वाजको चर्चा गरौं, यो पुस्ता खुलेर फिल्म बनाउँछ। उनीहरू हिम्मतका साथ कुरा गर्छन्। यो पुस्ता बोल्न जान्दछ। यसमा निकै गर्व लाग्छ। यो गजबको पुस्ता हो। सत्य बोल्छ र मुखको सामुन्नेमै बोल्छ। मलाई लाग्छ, आजको फिल्म हाम्रो जमानाको भन्दा बढी स्वतन्त्र छ। मेरो देश यस पुस्ताको हातमा छ। ठूलो सन्तोष छ, अब म ढुक्क भएर जान सक्छु। यति धेरै सन्तोष छ।
तपाईंले माथि मेघनाको नाम लिनुभयो। मेघना चार कक्षामा पढ्थिन्। उनले पियानो बजाउन नजानेपछि तपाईंले पहिलो पटक उनीसँग रिसाउँदै भन्नुभयो, “बसिराख। जबसम्म पियानो राम्ररी बजाउन जान्दिनौ तबसम्म बजाइराख।” के तपाईंसँग पनि कोही यसरी रिसाएको थियो, जबसम्म ढङ्ग पुर्याएर लेख्न सक्दैनौ तबसम्म लेखिराख भनेर?
हाम्रो जमानामा लेख्ने कुरा गर्दा भनिन्थ्यो- ‘हट, छोडिदेऊ कलम। बडो कवि बन्नुपरेको! जाऊ पसलमा बस।’ किनकि त्यो समयमा लेखक हुनु कुनै ठूलो खूबी मानिंदैनथ्यो। आज पनि लेखक आफ्नो किताबबाट बाँच्न त सक्दैन। तर, आज लेखकका लागि अरू पनि कैयौं पेशा छन्। हाम्रो जमानामा लेखन कर्म रोजगारीको साधन थिएन। कृश्न चन्दरजीका कैयौं प्रसङ्ग निकै चर्चित छन्। दैनिक घरमै बसिरहेको देखेपछि उहाँकी पत्नीले तपाईं के काम गर्नुहुन्छ भनेर सोधिछन्। उहाँले लेख्ने गर्छु भन्नुभएछ। पत्नीले फेरि सोधिछन्- त्यो त ठीक छ, तर काम चाहिं के गर्नुहुन्छ?
जावेद अख्तरले मसँगको एक अन्तर्वार्तामा ‘बिंडी जलइले’ गीतको विषयमा तपाईंसँग ईर्ष्या लाग्ने बताउनुभएको थियो। तपाईंलाई पनि अख्तरको कुनै गीतप्रति ईर्ष्या लाग्छ?
म त जावेद सा’बप्रति मात्रै ईर्ष्या गर्छु, उहाँले जे लेख्नुहुन्छ। उहाँको स्मरणशक्ति र बोलीप्रति पनि ईर्ष्या गर्छु। उहाँ मभन्दा राम्रो लेख्नुहुन्छ। मैले नज्म पनि सुनाएको थिएँ, ‘वो कमबख्त मुझसे अच्छा लिखता है।’
‘बिंडी जलइले’ जावेद सा’बलाई मन पर्दा हौसला बढ्छ। जुन गीतबारे मान्छेहरू आलोचना गरिरहेका होऊन्, त्यसलाई कसैले प्रशंसा गरेमा जावेद सा’बसँग सोध्नुस् उहाँलाई पनि मन पर्छ भनिदिन्छु। त्यो गीतमा खराबी केही थिएन पनि।
बम्बईको सिनेमा संसारदेखि अलग साहित्यको अलग्गै संसार छ। हिन्दी साहित्य जगत्मा तपाईंको लगातार आउजाउ भइरहेको छ। कवि केदारनाथ सिंहसँग तपाईंले कैयौं पटक मञ्च साझा गर्नुभएको थियो। उहाँसँग तपाईंको सम्बन्ध कस्तो रह्यो?
तपाईं देख्न सक्नुहुन्छ, म साहित्यको माहोलमा रहें। केदारनाथ सिंहजीसँग निकै राम्रो सम्बन्ध रह्यो। उहाँसँग धेरै प्रिय सम्बन्ध थियो। मैले उहाँका किताबहरू मगाएको थिएँ। केही मसँग थिए, थप अरू मगाएँ। उहाँका किताबको एक सँगालो प्रकाशन गर्ने चाहना छ।
एआर रहमान, मणि रत्नम सा’ब र गुलजार सा’ब। फिल्मी दुनियाका यी तीनको जोडीले गरेका कामले निकै प्रशंसा पाएको थियो। आजको समयमा कुनै यस्तो दोस्रो समूह बनिरहेको देख्नुहुन्छ?
विशाल भारद्वाज धेरै राम्रो काम गरिरहेका छन्। लेखक हुन्, कम्पोजर पनि र निर्देशक पनि। यी तीन खूबी जुन तपाईंले हामी तीन जनामा देख्नुभयो, त्यो एकै व्यक्तिमा समेटिएको छ र ती हुन् विशाल भारद्वाज।
गुलजारले कैयौं पुस्ताको मनको घाउ आफ्नो सिर्जना मार्फत पुरिदिएका छन्। के गुलजार सा’बको मनमा पनि कुनै घाउ छ, जुन यत्तिकै बसेको छ?
मान्छे जीवित छ भने कामना र सपनाले नै जिउँदो हुन्छ। कामनाको कुनै अन्त्य हुँदैन। जुन दिन कामना अन्त्य हुन्छ तपाईं जिउन छाड्नुहुन्छ।