सफल नेपाल प्रतिनिधिले बारा पुगेर महागढीमाई नगरपालिकाकी उपमेयर तारादेवी कानुसंग गररेको कुराकानीको सम्पादित अंश …
० विश्वप्रशिद्ध गढीमाई मेलाको चहलपहल कस्तो छ ?
— प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाको तयारी महागढीमाई नगरपालिकाले तीन महिना अगावैदेखि गरिरहेको थियो । यसको सम्पूर्ण तयारी पूरा भइसकेको छ र श्रद्धालुहरूसमेत आउन सुरू भइसकेको छ । हामीले यो ऐतिहासिक र धार्मिक मेलालाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न लागिपरेका छौं । अहिले श्रद्धालुहरूको उपस्थिति बाक्लिँदै गएको छ ।
० नगरपालिकाको तर्फबाट के कस्तो कार्य भएको छ ?
— महागढीमाई नगरपालिकाले आफ्नो तर्फबाट सक्दो तयारी गरेको हो । देश तथा विदेशबाट समेत आउने श्रद्धालुहरूलाई मध्यनजर गर्दै हरेक किसिमको व्यवस्था गरेको छ । नगरपालिकाले आफ्नो तर्फबाट शुद्ध खानेपानीका लागि धाराहरू जडान, दिसापिसाव गर्ने व्यवस्थित सौचालय, प्राथमिक उपचार, रातिको समयका लागि विद्युतको व्यवस्था, बास बस्नका लागि टेन्टहरू, निःशुल्क खानाको व्यवस्था लगायतको व्यवस्था गरेको छ । विभिन्न ठाउँहरूबाट आएका श्रद्धालुहरूलाई कुनै किसिमको समस्या नहोस् भन्ने कुरा विशेष ध्यान नगरपालिकाले पु¥याएको छ । विगतको समयमा जुन किसिमका समस्याहरू श्रद्धालुहरूले भोग्नुपर्दथ्यो, त्यस्तो अवस्था अहिले आउँदैन । शान्ति सुरक्षा व्यवस्थापनका लागि ठाउँ–ठाउँमा प्रहरी प्रशासन पनि खटाइएको छ । यदि श्रद्धालु भक्तजनहरूलाई कुनै समस्या भयो भने हामीले तुरून्त स्वयम्सेविकाहरू परिचालन गरेका छौं।
० गढीमाई मेलामा कहाँ–कहाँबाट श्रद्धालुहरू आउने गर्छन् ?
— नेपालका हरेक क्षेत्रबाट श्रद्धालुहरू आउने गर्छन् । साथै, छिमेकी मित्रराष्ट्र भारतबाट पनि धेरै मात्रामा श्रद्धालुहरू आउँछन् । नेपालका भन्दा पनि भारतका श्रद्धालुहरू बढी आउने गरेको देखिन्छ । त्यसैले, गढीमाई प्रतिको श्रद्धा दिनप्रति दिन बढ्दै गएको छ । गढीमाईको महिमा अन्तर्राष्ट्रियस्तरमा प्रशिद्ध भइरहेको छ ।
० गढीमाई मेला खासगरी पशुबलीको नामले पनि प्रख्यात भएको देखिन्छ, यस वर्ष कतिसम्म पशुबली दिइनेछ त ?
— यो गढीमाई मेलामा पशुबली दिने परम्परा पहिलादेखि नै चलिआएको छ । गढीमाईको महिमा नै अपरम्पार छ । पशुबलीलाई हामीले चाहेर पनि रोक्न सकिरहेका छैनौं । श्रद्धालुहरूको मनको पुग्छ भने आफै आउनुहुन्छ । त्यसैले, यसपटक ५० हजारभन्दा बढी नै पशुबली दिइनेछ जस्तो लागिरहेको छ ।
० कुन–कुन पशुहरूको बली दिइने चलन छ त ?
— गढीमाईलाई खसी, राँगा, परेवा लगायतका पशुबली दिने गरिन्छ । दिनप्रति दिन यहाँ बली दिनेहरूको संख्या बढ्दै गएको छ । त्यसैले, यसपटक त लाखसम्म पनि पुग्ने अनुमान गरिएको छ ।
० गढीमाई मेलामा दिने पशुबलीलाई रोक्नुपर्ने आवाज पनि उठिरहेको छ, यसलाई कसरी लिनुभएको छ ?
— गढीमाई मेलामा दिने पशुबलीलाई हामीले रोक्न सक्ने अवस्थामा छैनौं । तर, जसले रोक्नुपर्छ भन्छन्, उनीहरूले जनचेतना जनाउनुपर्छ । हामीले कसैलाई पशुबली दिनुस् भनेर भनेका हुँदैनौं, सबैले आस्था र श्रद्धाका साथ आउँछन् । श्रद्धालुहरूको मनोकांक्षा पूरा हुन्छन्, भाकल पूरा हुन्छ अनि आफै स्वस्फूर्तरूपले पशुबली दिइन्छ । कसैमाथि करचाप छैन । गढीमाईको भक्तिमा यति ठूलो शक्ति छ कि मान्छेको सोचेको कुरा पूरा हुँदा आस्थाका साथ पशुबली दिन आउँछन् ।
० भनेपछि गढीमाई मेलामा दिइने पशुबलीलाई रोक्न अप्ठयारो छ ?
— गढीमाई मेलामा दिइने पशुबली रोक्न अप्ठ्यारो मात्रै होइन, धेरै अप्ठ्यारो छ । जसले गढीमाईमा पशुबली प्रथा रोक्नुपर्छ भन्छन्, पहिला उसले नै माछामासु खान छोड्नुप¥यो । तर, आफू मासु खाने र पशुबली प्रथा रोक्नुपर्छ भन्ने भाषण गरेर हुन्छ ? यसको ज्वलन्त उदाहरणको रूपमा अस्ति मात्र वीरगन्जमा घटेको घटनालाई लिन सकिन्छ । वीरगन्जमा केही मान्छेहरूले बलीप्रथा रोक्नुपर्छ भनेर अभियान चलाउँदै थिए र त्यसपछि तिनीहरू आफै होटेलमा मासुभात खाँदै थिए । त्यस्ताहरूलाई युवाहरूले पाठ सिकाइसके । पशुबली रोक्नुपर्छ भन्नेहरूले यो गढीमाई मेला हुने पशुबलीलाई मात्र हेर्ने गरेका छन् । तर, काठमाडौंमै हेर्ने हो भने दिनहुँ हजारौंको पशुबली दिइरहेका हुन्छन् । त्यसलाई रोक्नुपर्छ भन्ने कसैले आवाज उठाउँदैन । तर, धर्म र आस्थाको नाममा हुने पशुबलीलाई मात्रै रोक्नुपर्छ भन्नु कतिको उचित हो ? तर, गढीमाई मेला जब पाँच वर्षपछि एकचोटि श्रद्धालुहरूले पशुबली दिँदा यसलाई रोक्नुपर्छ भन्ने भाषण गर्न थाल्छन् । वास्तवममा पशुबली राम्रो होइन, तर यसका लागि व्यापकरूपमा जनचेतना जगाउनुपर्ने आवश्यक छ ।
० गढीमाई मेलाको पशुबली प्रथा रोक्नु भनेको धर्ममाथिको प्रहार हो ?
— हो, हामीलाई त त्यस्तै लाग्छ । किनभने यहाँ त पाँच वर्षमा एकचोटि पशुबली हुन्छ तर, काठमाडौं त दिनहुँ हजारौं पशुहरू भैंसी, खसी, सुँगुर, कुखुरा लगायतका बली दिइन्छ । त्यो कुरा किन अरूले देख्दैनन् । जब–जब गढीमाई मेला आउँछ तबतब यसलाई रोक्नुपर्छ भन्नुको अर्थ त आस्थामा प्रहार गर्न खोजेको प्रष्ट बुझिन्छ ।