१४ मंसिर, काठमाडौं । कास्कीसहित ३७ जिल्लाका ५२ सीटमा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । तर, अपेक्षाअनुसार मत नखसेको निर्वाचन आयोग आफैंले स्वीकार गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ क, दाङ ३ ख र बाग्लुङ २ खमा शनिबार मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित ४८ स्थानीय तहमा पनि मतदान भएको छ ।
सबैभन्दा बढी हुम्ला र रौतहटमा ८५ प्रतिशत मत खसेको छ । हुम्लाको खार्पुनाथको उपाध्यक्षका लागि उपचुनाव भएको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव भएको कास्की २ मा ६३.४८ प्रतिशत मत खसेको छ ।
यस्तै भक्तपुरमा ७०, बाग्लुङमा ६१ र दाङ ६७ प्रतिशत मत खसेको छ । धरान उपमहानगरमा ५९.१३ प्रतिशत खसेको छ । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि भएको चुनावमा १६.ं४ प्रतिशत मत खसेको छ । यो उपचुनावमा खसेको सबैभन्दा कम प्रतिशत मत हो । यस वडाको नतिजा नेकपाको पक्षमा गएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपचुनावमा अपेक्षाअनुसार मत नखसेको स्वीकार गरे । ‘धरानमा हामीले भनेजति मत खसेन । प्रतिनिधिसभा र प्रदेशसभामा पनि लगभग ६५ प्रतिशत मत खसेको छ । यो ७० हाराहारी हुन्छ भन्ने हाम्रो आँकलन थियो’, उनले भने ।
यद्यपि यसै कारण उपचुनाव प्रभावकारी भएन भन्न नमिल्ने थपलियाले बताए ।
मतदानका क्रममा कास्की, दाङ, सर्लाही लगायतका पाँच स्थानमा मतदान केन्द्र नजिकै बिस्फोटका घटना भए पनि त्यसले मतदानलाई असर नगरेको आयोगले जनाएको छ । ती घटनामा कुनै हताहती भएन ।
आयोगका अनुसार मतपेटिका संकलनसँगै सर्बदलीय बैठक राखेर मत गणना सुरु हुनेछ । र, १२ घन्टाभित्र ५० प्रतिशत स्थानको मत परिणाम पनि आइसक्ने छ ।
प्रतिक्रिया0