मङ्सिर १५ गते । पहिलो किस्ताबापतको रकम बुझेर पनि निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडित लाभग्राहीका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विशेष सहयोग कार्यक्रम ल्याएको छ ।
सरकारले उपलब्ध गराएको पहिलो किस्ताको ५० हजार रुपियाँ बुझिसकेर पनि सर्तअनुसारको आवास निर्माण गर्न नसकेका वा काम सुरु गरेर पनि विभिन्न कारणले सम्पन्न गर्न नसकेका लाभग्राहीका लागि प्राधिकरणले व्यक्तिगत तहमा नै पुगेर कारण पत्ता लगाउने र आवश्यक सहयोग गर्ने योजना बनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्नुहुन्छ, “अब निजी घर बनाउन बाँकी रहेका हरेक लाभग्राहीसमक्ष पुगेर घर नबन्नुका कारण बुझ्ने र बनाउन चाहनेलाई के कस्तो सहयोग गर्नुपर्ने हो, त्यो उपलब्ध गराउनेतर्फ प्राधिकरण केन्द्रित हुने योजना बनाएका छौंँ । ”
त्यस्तै वृद्धवृद्धा मात्रै भएको, १६ वर्षमुनिका बालबालिका, एकल महिला वा अपाङ्गता भएका व्यक्तिजस्ता जोखिम वर्गमा परेका लाभग्राहीका लागि पनि प्राधिकरणले विशेष सहयोग उपलब्ध गराएर निजी आवास निर्माणलाई अन्तिम रूपमा पु¥याउने योजना बनाएको छ । यसका लागि प्राधिकरणले स्थानीय तहमार्फत करिब एक हजार डकर्मी र २५० भन्दा बढी सामाजिक परिचालक खटाउने योजना अगाडि सारेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
प्राधिकरणले तयार पारेको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार निजी आवास पुनःनिर्माणका लागि सात लाख ७६ हजार ९२२ जनाले अनुदान सम्झौता गरेकोमा हालसम्म चार लाख ७९ हजार ५४५ लाभग्राहीले घर निर्माण गरिसकेका छन् । यो करिब ६१.७ प्रतिशत हो । त्यस्तै एक लाख ८९ हजार १४१ निर्माणाधीन अवस्थामा छन् । यी घर सम्पन्न हुँदा करिब ८६ प्रतिशत उपलब्धि हासिल हुन्छ । त्यसबाहेक बाँकी २४ प्रतिशतमध्ये कतिले आवास बनाउन चाहेका छन् वा कतिले अन्य विकल्प भएकाले बनाउन नचाहेका छन् ।
ठडिए विद्यालय
विभिन्न ठूला दातृ निकायहरूको सहयोग जुटेका कारण सार्वजनिक विद्यालय पुनःनिर्माणमा भने उल्लेख्य उपलब्धि हासिल भएको प्राधिकरणको दाबी छ । भूकम्पका कारण क्षति भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म पाँच हजार ६३ विद्यालय पुनःनिर्माण भइसकेका छन् । बाँकी एक हजार ८१९ विद्यालय पुनःनिर्माणका क्रममा छन् । प्राधिकरणले यस वर्ष शतप्रतिशत विद्यालयमा नै पुनःनिर्माणको काम थालनी गर्ने योजना अगाडि बढाएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।
सम्पदामा समस्या
भूकम्पपछिको पुनःनिर्माणको सन्दर्भमा धेरैको आँखा ठोकिने सम्पदा पुनःनिमाणलाई थप गति दिनका लागि प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा ऐतिहासिक धरोहर र सम्पदा बस्तीका लागि छुट्टै एकाइ खडा गरेर काम थालेको प्रमुख ज्ञवालीले बताउनुभयो । सम्पदा पुनःनिर्माणको कार्य पुरातŒव विभागबाट हुँदै आए पनि त्यसलाई थप सहयोग पु¥याउन र सम्पदा बस्तीमा केन्द्रित भएर काम अगाडि बढाउन यस्तो निकाय खडा गरिएको उहाँको भनाइ छ । विश्वसम्पदा सूचीमा परेका क्षेत्रका केही महìवपूर्ण सम्पदा पुनःनिर्माण भइसकेका छन् । केही बन्दै छन् ।
काठमाडौंको वसन्तपुर र हनुमानढोका क्षेत्रका नौतले दरबार, गद्दी बैठक, दस अवतारको मन्दिर, काष्ठमण्डपजस्ता सम्पदा निर्माण भइरहेका छन् । माजु देव, गद्दी बैठक र नौतले दरबारबीचको भागलगायत अन्य केही मन्दिर बन्न बाँकी छन् । पाटन र भक्तपुरका क्षतिग्रस्त सम्पदा धमाधम पुनःनिर्माण भइरहेका छन् । भक्तपुरको चाँगुनारायणको मन्दिर जीर्णोद्धार भए पनि त्यससँगै रहेको दस अवतारको मन्दिर, वरपरका सत्तल निर्माण हुन सकिरहेको छैन ।
प्रबलीकरण र पुनःनिर्माण गर्नुपर्ने कुल ८९१ सम्पदामा हालसम्म ३८० वटाका पुनःनिर्माण र प्रबलीकरण भइसकेको छ भने १२३ वटा निर्माणाधीन अवस्थामा छन् । सम्पदा पुनःनिर्माणको कार्य बढी नै जटिल भएकाले यो कार्य सम्पन्न गर्न अझै केही वर्ष लाग्ने प्राधिकरणले जनाएको छ । सम्पदा पुनःनिर्माणमा भारत सरकारले गरेको प्रतिबद्धताअनुरूप करिब पाँच अर्ब रुपियाँ पनि प्राप्त भइसकेकाले अब पुनःनिर्माणको कार्यले गति लिने विश्वास ज्ञवालीले व्यक्त गर्नुभयो ।
भूकम्पकै कारण क्षति भएका ४१५ वटा सार्वजनिक भवन पुनःनिर्माण गर्नुपर्नेमा ३११ वटाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने करिब एक सय पुनःनिर्माणका चरणमा रहेको प्राधिकरणको तथ्याङ्क छ । बाँकी ४१५ वटा सार्वजनिक भवन पुनःनिर्माणकोे पर्खाइमा छन् ।
रासस