प्राकृतिक सुन्दरता र ऐतिहासिक गाथामा बैभवशाली सिन्धुली

~सागर कुमार ढकाल

सर्वाधिक छन्द मिलाएर लेखिएको पंडित उमानाथ शास्त्री सिन्धुलीयको महान साहित्यिक कृती मकवानी बाला विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश छ । मकवानी बाला महाकाब्यकी बाला अर्थात बडामहाराजाधिराज पृथ्वीनारायण शाहकी पत्नी इन्द्रकुमारी मकवानी राज्यका राजा हेमकर्ण सेनकी छोरी थिइन । विभिन्न राजनीतिक महत्वकांक्षाले पृथ्वीनारायण शाहले राजकुमारीको डोला स्विकारेनन् र इन्द्रकुमारीले माइतमै वस्नु पर्यो । कुनै दिन राजकुमारी आफ्नो सहयोगी कञ्चुकीसँग पिताको राज्य घुम्ने क्रममा एउटा सुन्दर उपत्यकामा पुग्छीन् जसको सुन्दरताले उनलाई आकर्षित गर्दछ र उनले झटपट् कञ्चुकीलाई सोध्छीन् यो कुन सुन्दर उपत्याका हो ?

कञ्चुकी भन्छिन् ,

दिन्छिन् प्रकृतिले झल्का
जहाँ कैलाश घामको
उज्यालो भो उही स्थान
सिन्धुली शुभ नामको ।

वास्तवमा सिन्धुली प्राकृतिक रुपमा सुन्दर छ र उत्तिकै बैभवशाली छ ऐतिहासिक गाथाहरुबाट । बिक्रमको चौधौं शताब्दीको एकदम उत्तरार्धतीर नै अर्थात वि.सं. १३८१ तीर सिम्रौनगढका राजा हरिसिंह देव दिल्लीका वादशाह गयासुद्घिनको आक्रमणमा परि राज्यच्यूत हुनुपर्दा तत्कालिन मकवानपुर राज्य अर्थात अहिलेको सिन्धुली जिल्लाको हरिहरपुर गढीमा आई वसेका थिए । इतिहासले भन्छ यीनै राजाको नामबाट हरिहरपुरगढी भएको हो । सिन्धुलीको ऐतिहासिक महत्वका प्रमाणहरु यीनै राजाको पालादेखि भेटिन शुरु हुन्छ । हरिहरपुरगढीमा यीनले वनाएको दुर्ग बडो कलात्मक छ र यो अर्थमा पनि रणनीतिक महत्वको किन छ भने यो वहुभुजाकार रुपमा ढुंगाबाट वनाइएको छ र अद्भूत अवस्थितिमा छ । त्यसैले पनि पुरै आकारमा आउने गरी यो संरचनाकोे फोटो जमिनबाट खिच्न सकिदैन । बेलुनमा चढेर वा हेलीकोप्टरको प्रयोग गरेमा यसलाई क्यामेरामा कैद गर्न सकिन्छ । हरिसिहदेवले मरिणखोलाका छेउछाउका क्षेत्रहरुमा वनाएका मन्दिर, दरवार, कोतहरु आजसम्म पनि कि त पुजिएर रहेका छन् की भग्नावशेषबाट नै ऐतिहाँसिक विपुलता प्रदर्शन गरेर वसीरहेका छन् । उपत्यकामा तलेजु भवानी यीनै राजाकी पत्नी देवलदेवीले सिन्धुली हुँदै लगेकी हुन् । पछि जयस्थिती मल्ल पनि हरिसिंह देवको नातीनी ज्वाईको नातामा वाँधिएका थिए ।

सिन्धुलीगढी : ऐतिहासिक गतिविधिहरुको केन्द्र

सिन्धुली जिल्लाको दुम्जा गाउँ निवासी स्व.विद्वान पंडित गोविन्द दाहालले मधुपर्कमा सिन्धुली जिल्लाको कुशेश्वर महादेवको उत्पतिको सम्बन्धमा लेख्नु भएको थियो । प्राचिन कालमा धर्मपालका सन्तान तथा नेपालका राजा सुधन्वा एक पटक सीताको स्वयंवर हेर्न जनकपुर गएका वखत राजा शिरध्वज जनकका भाई कुशध्वज जनकसँग खटपट भएपछि सुधन्वा स्वयंवर छोडि हिडे । राजा शिरध्वज जनकले उनलाई तुरुन्त फर्काउ भनेपछि कुशध्वज जनक सुधन्वालाई अनुनय विनय गर्दै पछि लागे तर सुधन्वा फर्केनन् । दिनहरु विते तर सुधन्वा फर्किन नमाने पछि आत्मग्लानी र पश्चतापले कुशध्वज जनकले रोशी र कौशिका नदीको संगम स्थलमा देहत्याग गरे । पछि यी कुशध्वज जनकले देहत्याग गरेको स्थानमा स्थापना भएको मन्दिर नै हालको कुशेश्वर महादेव हो भनेका छन् । यदी यस कुरामा सत्यता छ भने जनकपुर, सिन्धुलीमाढी, दुम्जा हुदै वनेपा काठमाण्डौ सम्म जाने वर्तमान अवस्थासम्म चलनचल्तिमा रहेको यो बाटो अहिले पनि पनिकुशेश्वर महादेवको मन्दिर हुँदै वनेपा काठमाण्डौतीर लाग्दछ । तसर्थ यो पनि प्रमाणित हुन्छकी प्राचिनकालदेखि नै यो बाटो अस्तित्वमा थियो । नेपालको इतिहासका बिभिन्न कालखण्डमा सिन्धुलीको नाम आउनुमा यो एउटा हिन्दुस्थान र काठमाण्डौं जाने बाटोमा पर्ने सुन्दर स्थान भएकोले पनि हो । जानकी मन्दिरमा भएको ताम्रपत्रमा तत्कालिन मकवानी राजा राघवनरेन्द्र सेन आफुलाई पराक्रमी सिन्धुल प्रतिकले पुकारिन चाहन्थे भन्ने उल्लेख छ र यीनै सिन्धुल प्रतिक राजाको नामबाट यो स्थानको नाम सिन्धुली रहन गएको हो भन्ने कुरा जनरल मातृका प्रसाद कोइराला र महानन्द सापकोटाले भनेका छन् ।

इतिहासकार लुजियानो पेटेकका अनुसार चौधौं शताब्दीको अन्ततीर वि.सं. १३८१ मा राज्यच्यूत भएका कर्णाटबंशी राजा हरिहरसिँहदेव पनि सिन्धुलीको तीनपाटन, दोलखा हुँदै उपत्याका पस्ने यात्रामा थिए । दुर्भाग्यबस् उनी हालको सिन्धुलीमाढी भन्दा केही पर दक्षिणपूर्वी स्थानमा अवस्थित सुन्दरवस्ती तीनपाटनमा विते तर उनकी श्रीमती देवलदेवी, मन्त्रि चण्डेश्वर र राजकुमार जगतसिं उपत्यकासम्म पुगी लिच्छिवी कालको राजपाठ हत्याउन समेत सक्षम भए । यीनले पनि दोलखासम्म पुग्न सिन्धुलीगढीको बाटो प्रयोग गरेका थिए । इतिहासकार डा.पेशल दाहालले आफ्नो पुस्तक नेपालको इतिहासमा राजा शिवसिं मल्लले कान्तिपुर राज्यलाई सिन्धुलीसम्म फैलाएको कुुरा उल्लेख गरेका छन् । यो वि.सं. १६५५ तीरको घटना हो । यसै समयताका सिन्धुलीको कमलामाई मन्दिरमा कलात्मक चाँदीको कमलको फुल चढाइएको छ जसमा वि.सं. १६६५ लेखिएको छ । जो मन्दिरको खजानाको रुपमा अध्यावधिक रहेको छ । तशर्थ सत्रौं शताब्दीताका पनि काठमाण्डौका राजाहरुले सिन्धुलीगढीको बाटो हुँदै सिन्धुलीमाढी तथा यहाँ अवस्थित कमलामाई शक्तिपिठमा दर्शनार्थ आउने गरेको प्रमाणित हुन्छ । नेपालको इतिहास पेज नं. १६७, डा. पेशल दाहाल लेख्नु हुन्छ– वि.सं. १७४६ को फाल्गुण महिनामा तत्कालिन मोरङ र विजयपुरका वादशाहसँग बार्ता मार्फत सम्बन्ध स्थापित गर्न कान्तिपुरे भारदारहरु सिन्धुली आएका थिए । यसैगरी वि.सं. १७४८ असोजमा मोरङ र विजयपुरका तत्कालिन बादशाह इन्द्र विधाता सेन कान्तिपुर गई राजा भुपालेन्द्र मल्लसँग भेट गरेका थिए । यी सोह्रौ सताब्दीमा भएका कुटनीतिक यात्रामा पनि सिन्धुलीगढीको वाटो प्रयोग भएको थियो ।

सिन्धुलीगढी : एउटा अनुपम युद्धगाथा

भारतवर्षमा तत्कालिन समयमा इस्टइण्डिया कम्पनीले उत्तर भारतको वंगाललाई अपार साधन र श्रोतको केन्द्र मानेर आँखा गाडिरहेको थियो । जसको छिमेकमा हाम्रो टुक्रा टुक्रा भएको सानो राज्य नेपाल पनि पर्दथ्यो । अंग्रेजको कुत्सित आसयलाई बंगालका तत्कालिन शासक मिरकासिम, अवधका नवाव तथा मुगल सम्राट मिलेर करीव ६० हजार फौजी दस्ताको सहयोगबाट धुलो चटाउने उद्घेश्यले युद्धारम्भ गरे । उता कम्पनीले करिव ७०७२ को सेनाको सहयोगले २२ अक्टोबर १७६४ मा भारतको बक्सार भन्ने स्थानमा त्यो घमासान युद्धको डटेर प्रतिकार गर्यो अन्तत्वोगत्वा कम्पनी तर्फकै जित भयो । बक्सारको युद्धमा भएको भारतीयहरुको मोर्चाको हारले भारतको भविष्य र सार्वभौमसत्तालाई अंग्रेजको पोल्टामा राखिदियो । यो पराजयले एकातीर २० औं शताब्दीको मध्यसम्मभारतलाई अंग्रेजको गुलाम भएर वस्नुपर्ने भाग्य यही युद्धमा भएको हारले कोरीदियो भने अर्काेतर्फ अंग्रेजहरुमा यो विजयले मात लाग्न थाल्यो ।

यता पृथ्वीनारायण शाह नेपाल एकिकरणको अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै आइरहेका थिए । उनले दुई शक्तिशाली राज्यहरु मकवानपुर र किर्तिपुरलाई क्रमशः वि.सं. १८१९ र वि.सं. १८२३ मा पराजित गरी गोर्खाराज्यमा गाभेपछि निश्चयनै कान्तिपुरलाई दख्खल गर्नुपर्ने वाध्यता आइसकेको थियो । यस अवस्थामा उल्टै तत्कालिन कान्तिपुरे राजा जयप्रकाश मल्लले तत्कालिन वंगालका गभर्नरसँग फकिर रामदास र उमदा (मुसलमान ब्यापारी) लाई दूत वनाई सहयोगको याचना गरे । भारतमा बक्सारको विजयउन्मादमा मस्त भएको अंग्रेजको आँखा स्वभाविक रुपले वंगाल नजिकैको सानो तथा प्राकृतिक श्रोतको विपुलता भएको देश नेपालतीर गाडिन थालेको थियो । जयप्रकाश मल्लले गोर्खा विरुद्घ लड्न आवश्यक पर्ने सैनिक सहयोगकोलागि गरेको याचनाले इस्ट इन्डिया कम्पनी अन्तर्गत वंगालका तत्कालिन गभर्नर ह्यारी वेरेल्स्टलाई के खोज्छस् काना आँखो भनेजस्तै भयो । ह्यारीले जयप्रकाश मल्लाका दुइजना दूतहरुसँग कान्तिपुरको अवस्थिति मागे । फकिर रामदास र उमदाले गभर्नर ह्यारीलाई दिएको कान्तिपुर र गोर्खा सम्बन्धि सूचना यस प्रकार थिए :-

  • गोर्खासँग कुल ५००० लडाकु सैनिकहरु छन् । जसमध्ये २००० जना नेपालमा छन् ।
  • पटनादेखि पनौतीसम्म ९६ कोस छ र यो ११ वटा विसौनीमा पूराहुन्छ ।
  • वागमतिनदीबाट हरिहरपुर भएर पनि नेपाल पुगीन्छ तर यो १९ विसौनीमा पूराहुन्छ ।
  • ठण्डा मौसम भएकोले औलोको संक्रमण हुदैन ।

श्रोत : के.सी. चौधरी, एङ्गलो नेप्लीज रिलेसन्स, क्यालकताः माडर्न बुक एजेन्सी पेज १६ र १७
यी सवै सूचना तथा फेहरिस्त पाएपछि गभर्नर ह्यारी वेरेल्स्टले आफ्ना मातहतका निकायहरुलाई यथाशिघ्र सहयोग उपलब्ध गराउनको लागि आदेश दिए । जसअनुरुप कलकत्ताबाट कप्तान किनलोकको नेतृत्वमा कम्पनीतर्फका र भारतीयतर्फका गरी करिव २४०० सेनाहरु १८ कम्पनीमा विभाजित भई काठमाण्डौ तर्फ चल्यो । वास्तवमा सिन्धुली गढीको युद्ध  गोर्खालीको लागि जिवन की मरणको यूद्व थियो । त्यसैले पृथ्वीनारायण शाहले यस युद्धमा चुनिएका र विश्वासी सेनानायकहरु पठाएका थिए । किर्तिपुर जिताउने श्रीहर्ष पन्त र मकवानपुर जिताउने काजी बंशराज पाण्डे जो कालु पाण्डेका साखै छोरा थिए लाई दक्षिणी मोहडा तर्फको आरम्भकै दुर्ग पौवागढीमा तैनाथ गरिएका थिए । पौवागढी, सिन्धुलीगढी क्षेत्रको सवैभन्दा संवेदनशील स्थानमा अवस्थित छ । यसैगरी सिकारी अफिसर वंशु गुरुङ्ग र खजान्ची विरभद्र उपाध्याय माथिको दुर्ग ठूलो गढीमा तैनाथी थिए । यस यूद्घमा गोर्खालीहरुले आफ्नो बहादुरी र साहस देखाए । किनलोक नेतृत्वको कम्पनी सेनाको नराम्रोसँग पराजय भयो । १६०० कम्पनी सेनाहरु यस युद्धमा मारिए भने कप्तान किनलोक सहित बचेका ८०० सेनाहरु रौतहटमा वसी मालपोत उठाई पराजयको रिस पोख्न थाले ।

सिन्धुलीगढीको पराजयपछि बेलायतलाई तत्कालै भएको घाटा

सिन्धुलीगढीको लडाईमा नराम्रोसँग पराजित भएको समाचारले निश्चय पनि तत्कालिन समयको माहाशक्ति राष्ट्र बेलायतको सैनिक शक्तीको वैभवमाथि प्रश्न चिन्ह खडा भयो । करिव ३ वर्ष अगाडिमात्र तत्कालिन समयका शक्तिशाली राष्ट्रहरु फ्रान्स, स्पेन र क्यानडालाई अमेरिकाबाट लखेट्न सकेको साथसाथै फ्रान्सलाई भारतको पोन्डिचेरीबाट पनि खेदेर भारतमा एकल साम्राज्य स्थापना गर्न सकेको तथा नवाव र सम्राटका करिव ६० हजार सेनालाई भारतको बक्सारमा सहजै परास्त गरी तत्कालिन अवस्थाका महाशक्तिहरुले वर्षाैदेखि आँखा गाडेको भारतको बंगाललाई समेत आफ्नो अधिनमा ल्याउन सफलभएको महाशक्ति राष्ट्र बेलायत उत्तरी भारतको सिमानामा पर्ने सानो देशमा गोर्खाली फौजबाट नराम्रोसँग पराजित भएको थियो । यसले गर्दा बेलायत दक्षिण भारतमा हैदर अली विरुद्ध  युद्ध  छेड्न अनकनाउन थाल्यो भने उता हैदर अली सिन्धुलीगढीमा वेलायती सेना पराजित भएको सुनी तत्कालिन वेलायतको शत्रु फ्रान्ससँग सैन्य सहयोग मागि तुरुन्तै लडाई छेड्ने मनस्थितिमा थियो । सिन्धुलीगढीमा अंग्रेजीसेना पराजित भएपछि हैदरअलीले बेलायती सेनालाई निकै भयभित वनाईरहे ।
केही विख्यात अमेरिकीहरु जोन एडम्स, स्यामुएल एडम्स तथा थोमस पाएनले वेलायती शासन सेनाको चम्किलो यूनिफर्म र धुर्ततामा अडिएकोछ र हिन्द माहासागरका इन्डियन भूमीहरुमा जनताको आत्माबाट यो विरुद्ध  छेडेको युद्धमा वेलायत सधै पराजित भईरहेको छ त्यहाँ यूनियनज्या (बेलायतको झण्डा) च्यातिन थालिसकेको छ भनेर अमेरिकी स्वतन्त्रताको लागि कलम चलाउन थालेका थिए । वंगालका तत्कालिन गवर्नर ह्यारी वेरेन्स्टले बंगालमा कब्जा जमाउनाको कारण केपुचिन पादरीहरुको संख्या बढाई क्रिश्चियानीटीको प्रचार प्रसार गर्ने र नेपाल र तिब्बतमा ब्यापार वढाउने थियो । सिन्धुलीगढीमा भएको पराजयले ह्यारीको सवै सपना चकनाचुर भयो । सिन्धुलीगढीमा बेलायती सेना नराम्रोसँग पराजित भएपछि तत्कालिन वंगालका गभर्नर ह्यारी वेरेल्स्टको २ वर्षको कार्यकालमा गभर्नर पद खुस्कियो ।

(सन्दर्भ श्रोत :  मोडर्न हिस्ट्री अफ भारत, अ न्यू इभालुएसन्, वि.एस. ग्रोवर एन्ड एस.पाल. पेज नंं.८१, एस. चन्द यान्ड कं. )

सिन्धुलीगढीको यूद्घलाई विदेशी इतिहासकारहरुले कसरी लेखेका छन् ?

सिन्धुलीगढीको लडाईका जिम्मेवार ब्यक्ति तथा इस्ट ईन्डिया कम्पनी अन्तर्गत तत्कालिन बंगालका गभर्नर ह्यारी वेरेल्स्ट आफैले लेखेको पुस्तक ‘अ भ्यूज अफ द राइज, प्रोग्रेस याण्ड प्रेजन्ट स्टेट अफ इङ्गलिस् गभर्नमेन्ट इन बेङ्गाल’ भन्ने पुस्तकमा दक्षिणी भारतमा हैदर अलीलाई फ्रान्सिसी सहयोग प्राप्त भई इस्ट इन्डिया कम्पनीसँग फ्रान्सले प्रतिसोध साध्ने प्रयत्न गरिरहेको हुनाले गोर्खासँगको यूद्घमा इस्ट इन्डिया कम्पनीका सेनालाई प्रभावकारी तरिकाले फर्मेसन गर्न नसकेको कारणले गोर्खासँग पराजित हुनु परेको थियो साथै इष्ट ईण्डिया कम्पनीले पुनःआक्रमणको रणनीति अवलम्बन नगरिएको हो ।
डा.आर.के.पुर्थीको नेप्लीज गोर्खा भन्ने पुस्तकको द गोर्खा कन्क्वेष्ट भन्ने पाठको पेज नं. ३५ मा किनलोक कठिन भु–बनौट, जंगल युद्धको अज्ञानता तथा मलेरियाको कारणले गोर्खालीसँग हारेका हुन भनेकाछन् ।
नयाँ दिल्लीस्थित अनमोल पब्लीकेसनबाट प्रकाशित टि.आर.बैद्यको एडभान्स हिष्ट्री अफ नेपाल भन्ने पुस्तकको फर्मेसन अफ ग्रेटर गोर्खा भन्ने पाठमा इस्ट ईन्डिया कम्पनीका सेनाहरु हार्नुको कारण खोलानाला, वाढीपैह्रो तथा भोकको कारणले हो भनेर उल्लेख गरेका छन् ।
जोन पार्करको द गोर्खाज : द इनसाईड स्टोरी अफ वल्र्डस् मोष्ट फियर्ड सोल्जर्स भन्ने पुस्तकको पेज ३८ मा सन् १७६७ (वि.सं. १८२४) मा भारतको उत्तरी सिमाना नजिकको नेपालको तराई क्षेत्रमा बेलायती सेनाहरु मलेरियाको कारणले नराम्रोसँग थलिईसकेका थिए जसको कारणले गोर्खा विरुद्ध को लडाईमा यिनीहरु पराजित भएका थिए भनेकाछन् ।

सिन्धुलीगढीको यूद्ध किन अनुपम र ऐतिहासिक हो ?

सिन्धुलीगढीको लडाई तत्कालिन समयमा असाधारण थियो । बेलायती साम्राज्यवादलाई तत्कालिन अवस्थाको संसारमा कसैले हराउन सकेका थिएनन् तर त्यो अजेय शक्ति सिन्धुलीगढीमा नराम्रोसँग पराजित भयो ।

सिन्धुलीगढीको यूद्धलाई अनुपम र ऐतिहासिक मान्नुपर्ने आधारहरु यसप्रकार छन्ः

  • सिन्धुलीगढीको यूद्धमा अठारौं शताब्दीभरी पहिलो पटक इष्ट इन्डिया कम्पनीका सेनाहरु (बेलायती सेनाहरु) ले हार खाएका थिए । यसपछि अर्थात करिव १४ वर्षपछि अमेरिकीहरुसँग वेलायती सेनाहरु हारेर सन् १७८३ मा भर्साइल्स सन्धी गरेका थिए ।
  • सिन्धुलीगढीको यूद्धमा गोर्खालीले कम्पनी सेनालाई पराजित नगरेको भए सिङ्गो नेपालको निर्माण असम्भव थियो ।
  • तत्कालिन समयमा बेलायत महाशक्ति राष्ट्र थियो । सिन्धुलीगढीमा गोर्खालीसँग यूद्ध हुनुभन्दा करिव ४ वर्षमात्र अगाडि बेलायतले अर्काे शक्तिसाली देश फ्रान्सलाई धुलो चटाएर आएको थियो । यस्तो शक्तिशाली देशको सेना सिन्धुलीगढीमा नराम्रोसँग पराजित भएको थियो ।
  • नेपालको छिमेकी राष्ट्र भारतमा तत्कालिन समयमा इष्ट ईन्डिया कम्पनीले भारतका राज्य रजौटाहरुलाई ध्वस्त वनाउँदै आफ्नो हुकुमत कायम गर्दै आइरहेका थिए । भारतमा प्लासीको यूद्घ तथा बक्सारको यूद्धमा भारतीय राजा, योद्घा तथा राज्यहरुको अवसान भएको थियो । यस्तो शक्तिशाली निकायसँग विर गोर्खालीहरुले डटेर मुकाविला गरे र उनीहरुलाई नराम्रोसँग हराएर अखण्ड नेपालको परिकल्पना साकार पार्न सहयोग भएको थियो ।
  • तत्कालिन अवस्थामा अमेरिकामा बेलायत एकमात्र देशले शासन गरिरहेको थियो । उसले स्पेन र क्यानाडा जस्ता शक्तिशाली राष्ट्रलाई अमेरिकाबाट चुटेर निकालिदिएको थियो ।

सिन्धुलीगढीको विजयमा तीथि मितिको अन्यौल

नेपालको आधुनिक इतिहाँसमा एउटा सुनौलो अक्षरको इतिहास सिन्धुलीगढीको लडाई हो भन्ने कुरामा फरक मत पक्कै हुने छैन होला । इतिहासले कहिलै नविर्सने गाथा बनेको यो लडाई यस अर्थमा पनि छ की यदी यस गढीमा गोर्खाली सेना पराजित भएको भए सायद आजको यो सिङ्गो र नेपाली जनता संप्रभु भएको राष्ट्र नेपाल हुने थिएन होला । यति विरतापूर्ण गाथाबाट सज्जित यो स्थल अति उपेक्षाको कारणबाट निष्प्राण तुल्य रहेको बेला पत्रकार महासंघ सिन्धुलीले कार्तिक २४ गतेलाई राष्ट्रिय स्वाभिमान दीवस भनेर भब्यताका साथ २०६७ साल देखि विजय उत्सव मनाउन थालेको हो र हाल विगत केहि वर्ष देखि कमलामाई नगरपालिकाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको सहयोगमा नै भव्य रुपमा कार्तिक २४ गते नै विजय उत्सव मनाउने कार्यलाई निरन्तरता दिदै आएको छ । वास्तवमा कार्तिक २४ नै किन भन्ने सन्दर्भ पनि नउठेको होइन । सिन्धुलीगढीको लडाईको नेपाली र नेपालको इतिहास लेख्ने विदेशी इतिहासकारहरुले दिएको मितिले तादम्यता पाउन नसकेको अवस्थामा मकवानी बाला माहाकाब्यका काब्यकार पंडित उमानाथ शास्त्रि सिन्धुलियले आफ्नो महाकाब्यको मकवानी बाला किन ? भन्ने पृष्ठमा लेखिएको ऐतिहासिक अन्धकारमा अल्मलिनु भन्दा आफ्नै देशमा भेट्टिएका सामाग्रीहरुलाई मुख्य मान्नु प¥यो भन्ने भनाई प्रति आस्था राख्दैे दुम्जा घर भएका विद्वान पंडित गोविन्द दाहालले लेख्नु भएको तलको सानो कवितांशको आधारमा महिना कात्तिकलाई लिइएको हो ।

घुसे फिरंगी शस्त्रसाथ गढीमा निर्भिक मन साथ थ्यो,
मान्थे कम्पनी स्वयं समर विजयीको अघि आउने थ्यो,
कात्तिकको सीतसाथ गौरी सिरका हावा झन चिसो थ्यो,
अल्लो सिस्नु बारुला अरु किटहरु सब भैँ मै तैनाथि थ्यो,
चिल्यो अचाक्ली तर छैन रिपुहरु किट पतङ्ग छन् मैदानमा,
शास्ती अहिल्यै भइसक्यो कप्तान ज्यू खेपिन्न गोर्खा यहाँ ।

२०६८ भाद्र ३१ शनिवारको नागरिक अक्षरमा विद्वान जगदिश घिमिरेज्यूले सिन्धुली गढीको लडाँई असोज १५ मा नै भएको हो भनेर किटानी गर्नूभएको सन्दर्भ अनिश्चितताको अन्धकारमा जुनकिरी देखेजस्तो भएपनि अझ यसमा केही अन्यौलता भने पक्कै नै छ । विद्यालंकार एस.के.ले तीथि मिति नदीएर गोर्खाेने उत्तर भारत नजदिककी एक पहाडि दूर्ग मे किनलोचको बुरी तरह से हरा दिया मात्र भनेका छन् । विश्वविद्यालयले मान्यता दिएका केही पुस्तकहरुमा सिन्धुली गढीको यूद्घको तीथि मिति पनि फरक फरक पाइन्छ । आधुनिक नेपालको इतिहास भन्ने पुस्तकमा डा. सुरेन्द्र के.सी. १७६७ को अक्टोवरमा २४०० सेना लिएर पटनाबाट काठमाण्डौ तीर हिडे भन्नु हुन्छ । तर अक्टोवरमा पटनाबाट हिड्दा कति दिनमा सिन्धुली आएर लडाई छेडियो भन्ने सन्दर्भ मौन छ । नेपालको राजनीतिक इतिहासमा डा. पिताम्बर लाल यादव पनि त्यसैगरी पटनाबाट हिडेको मिति मात्र लेख्नु हुन्छ (सन् १७६७ को अक्टोवर १७ का दिन क्याप्टेन किनलोक पटनाबाट हिडे । यस्तै देवी प्रसाद शर्मा कडेलको आधुनिक नेपालको इतिहासमा किनलोकको सैन्यदल मध्य सेप्टेम्बरमा जनकपुर आइपुगको सन्दर्भ उल्लेख छ । इतिहासका यी सन्दर्भहरुले सिन्धुलीगढीको यूद्घ वि.सं. १८२४ (सन् १७६७) मा भएको हो भन्ने कुरामा सन्देह भएन तर महिना र गते बार भने आँकलननै गर्नुपर्ने हुँदा विद्वान पंडित गोविन्द दाहालका कवितांश प्रति सादर आस्था राख्दै सिन्धुलीवासीले मनाउँदै आएको स्वाभिमान दिवस कार्तिक महिनामा मनाउँदा ऐतिहासिक अन्यौलता दूर हुने देखियो ।

अन्तमा, सिन्धुलीगढी नेपालको मात्र नभएर विश्वकै ऐतिहासिक सम्पदा हो । भनिन्छ संसारकै ठूला ठूला साम्राज्यबादी नियतका लडाईहरुमा बिरलैमात्र हार खाएको बेलायति नेतृत्वको फौजले यो गढीमा नराम्रोसँग पराजय भोग्नु परेको छ । कहिलेकाही यस गढीलाई हेर्न आउने बेलायतीहरुलाई यो स्थान तीमिहरुलाई हामीले हराएको स्थान हो भन्दा स्विकार्न मान्दैनन् । बरु भन्छन् (हामी कहिल्यै हारेनौ वरु जनताको मतको मर्यादा गरेका छौं । यहाँ कसरी हाम्रो हार हुन सक्छ ? अहिलेको हाम्रो दुर्दशालाई हेरेर उनिहरु हाम्रा कुरा पत्याउन मान्दैनन् । हुन पनि हो नियतीले हामीलाई माथि आउन दिएन । अस्थिर राजनीति, शक्तिको लागि दाउपेच, एकतन्त्रि र गुलामी शासन, स्वार्थको राजनीति जस्ता कुराहरुले हामी दुर्गतीमा पुग्यौ । तर जे भए पनि सिन्धुलीगढी सवै नेपालीहरुको स्वाभिमानको गाथा हो, विरताको कथा हो, राष्ट्रभक्ति र उत्सर्गको नमूना हो ।  यहाँ आएर एकपटक संकल्प गरौं जय जय जय नेपाल सुन्दर शान्त विशाल । अहिले सिन्धुलीगढीसम्म पुग्न कालोपत्रे सडक छ । गढी सँगै नेपाली सेनाले प्रवर्दर्धन गरेको युद्ध संग्रहालय रहेको छ ।  त्यसैले हरेक वर्षको कार्तिक २४ गते सिन्धुलीगढीमा हुने स्वाभिमान दिवसमा सहभागि होऔं । स्वाभिमान दिवसलाई सफल बनाऔं ।

ढकालसँग एविसि टेलिभिजनमा दण्ड गुरुङले गर्नुभएको कुराकानीको रेकर्डः

 


ताजा खबर