मनसुनी वायुको प्रभावले नेपालमा सोमबारदेखि बढी बर्षा

नेपालमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले सोमबारदेखि बढी पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मक रूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन ।

“मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामा सोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । उहाँको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना छ ।

सङ्घीय राजधानी काठमाडौँमा आज राति हल्का वर्षाको सम्भावना छ भने भोलि दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ ।

यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलिमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलिमिटर वर्षा मापन गरिएको छ । रासस


ताजा खबर