विश्व बाघ दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिनुहुँदै समुदाय र बस्तीस्तर बाघको महत्त्व, बाघ र मानवको द्वन्द्व कम गर्ने उपायका विषयमा ज्ञानको विस्तार गरी संरक्षणका कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।
विशेष गरी मध्यवर्ती क्षेत्रका मानिसहरूमा यस विषयमा ज्ञान दिनुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ । साथै स्थानीय बासिन्दाको वन पैदावार माथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रमहरू सञ्चालनका लागि विशेष पहल गर्नुपर्ने अत्यावश्यक रहेको समेत सन्देशमा उल्लेख गर्नुभएको छ ।
उहाँले नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि पनि बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आह्वान गर्नुभएको छ ।
साथै बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवम् सहयोगी संस्थाहरूलाई बाघ दिवसको अवसरमा सन्देश मार्फत विशेष धन्यवाद दिनुभएको छ । रासस