काठमाडौं चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सघन उपचार (आइसियू) नर्सिङको आधारभूत कार्यशाला शुरु भएको छ ।
सघन उपचार विभागमा कार्यरत नर्सहरुलाई दक्ष बनाउन क्रिटिकल केयर डेभलोपमेन्ट फाउन्डेशन र क्रिटिकल केयर नर्सेस् एसोसिएशनको अगुवाइमा शुरु भएको कार्यशालाले सघन उपचरमा विशेष योगदान दिने अपेक्षा गरिएको छ ।
कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ॐ हस्पिटल संचालक समितिका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले नेपालको सघन उपचार शिक्षामा योगदान गर्न पाएकोमा ॐ हस्पिटल परिवार गौरवान्वित भएको बताउनुभयो । यस किसिमका विशेष कार्यशालाले नेपालको स्वास्थ्य उपचारलाई थप उचाई प्रदान गरेको र विश्वका राम्रा अस्पताल सरहको बनाउनेमा आफु विश्वस्त रहेको जिकिर गर्नुभयो ।
स्वागत मन्तव्यमा ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले ॐ हस्पिटलले नर्सहरुको सिप र दक्षता अभिबृद्दि गर्न यस किसिमका कार्यशाला र तालिमहरु नियमित रुपमा गर्दै आएको जिकिर गर्नुभयो । उहाँले यस किसिमका तालिमहरुले नर्सिङ सेवाको स्तर बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
समबोधनका क्रममा ॐ हस्पिटलका सघन उपचार विशेषज्ञ तथा क्रिटिकल केयर डेभलोपमेन्ट फाउण्डेशनका संस्थापक सदस्य डा. प्रमेश सुन्दर श्रेष्ठले नेपालको सघन उपचार बिगतको तुलनामा निकै स्तरिए भएको बताउनुभयो । यस किसिमको तालिमले सघन उपचार सेवालाई थप स्तरिय बनाउने र सफलता दर समेत बढ्ने अपेक्षा गर्नुभयो । देशभरका अस्पतालमा स्तरिय सघन उपचार सेवा प्रदान गर्ने लक्षलाई समेत यस किसिमका कार्यशालाले टेवा पुर्याउने उहाँको विश्वास रहेको छ ।
कार्यशालाको उद्घाटन मन्तव्यका क्रममा क्रिटिकल केयर नर्सेस् एसोसिएशनकी अध्यक्ष विमला श्रेष्ठले सघन उपचारमा काम गर्ने नर्सहरुलाई लक्षित गरेर आयोजित कार्यशाला अत्यन्त प्रभावकारी रहेको र उपचारका सिलसिलामा उपयोगि हुने जानकारी दिनुभयो । कार्यशालामा उत्साहजनक रुपमा सहभागि भई ज्ञान र सिप सिकेर कार्यस्थलमा फर्कन सहभागिहरुलाई आग्रह समेत गर्नुभयो ।
त्यसैगरी, क्रिटिकल केयर नर्सेस् एसोसिएशनकी उपाध्यक्ष समेत रहनुभएकी क्रिटिकल केयर नर्सेस ट्रेनिङ प्रोग्रामकी संयोजक कविता सिटौलाले चाइनिज युनिभर्सिटी अफ नर्सिङ हङकङ र अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकहरुसँगको सहकार्यमा विशेष तालिम र सिप लिएर आएका ट्रेनरहरुले प्रशिक्षण दिने कार्यशाला अत्यन्त प्रभावकारी रहेको र ७५ औं ब्याचलाई प्रशिक्षण दिन उपस्थित हुन पाँउदा गौरवान्वित भएको बताउनुभयो ।
क्रिटिकल केयर नर्सका रुपमा काम शुरु गरेका नव प्रवेशी नर्सहरुलाई सघन उपचार बारे ज्ञान सिप प्रदान गर्ने र गम्भीर अवस्थाका विरामीको स्याहार सुसारकालागि दक्ष बनाउने उद्देश्य सहित संचालित कार्यशालामा देशभरका बिभिन्न अस्पतालको सघन उपचार कक्षमा कार्यरत ४३ जना नर्सहरुको सहभागिता रहेको छ।
कार्यशालाको उद्घाटन सत्रमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर आइसियूका डाक्टरहरु र नर्सहरुसँगै अन्य बिभागका डाक्टर र नर्सिङ स्टाफहरुको उल्ल्ख्य सहभागिता रहेको थियो ।
ॐ हस्पिटलले यस अघि २०१९ मा र २०२१ मा दुइवटा बेसिक फर नर्सेस कार्यशाला सम्पन्न गरिसकेको छ । रासस