‘जे बिक्छ, त्यो देखाउन खोज्नु आतंक हो’ : दयाहाङ राईं

रंगमञ्चबाट अभिनय यात्रा थालेका अभिनेता हुन्, दयाहाङ राईं । उनी अहिले लोकप्रिय र व्यस्त कलाकार भएका छन् । उनको अभिनय क्षमता र प्रतिभाको खूब प्रशंसा हुन्छ । ‘दासढुंगा’, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘लुट’ लगायत फिल्ममा उनले काम गरेका छन् । अभिनेता  राईं सँगको सफल कुराकानीको सम्पादित अंशः

Dayahang Rai

दयाहाङ राईका निम्ति अब अभिनय ‘प्यासन’ रहेन, ‘प्रोफेसन’ भयो भन्ने सुनिन्छ नि ।
मैले आफैँ रोजेको काम हो यो । त्यसैले यो मेरो लागि प्यासन पनि हो, प्रोफेसन पनि हो, दुइटै हो ।

फिल्म उद्योगमा तपाईंको प्रवेश आदिवासी–जनजाति समुदायका निम्ति एउटा उपलब्धि थियो । तर, तपाईंले आफ्नो समुदायका मुद्दा र एजेन्डा बोकेका फिल्ममा काम गर्न प्रयत्न गर्नुभएन ।
सही कुरा हो यो । मैले गरेका कतिपय सिनेमाहरूले ती मुद्दाहरू बोक्दैनन् होला । म अहिले कथामा भन्दा पनि चरित्र निर्माणको प्रयत्नमा छु । सिनेमा सौन्दर्यले किनारामा परेका चरित्रलाई स्थापित गर्ने कोसिसमा छु म । त्यस कारण हामीले त्यस्ता चरित्रहरू खोजेर ल्यायौँ, जुन चरित्रमाथि मैले काम गरेको छु । राजनीतिक मुद्दा एकातिर होला, ‘आर्टिस्टिक’ मुद्दा अर्कोतिर होला । जस्तै, मैले निर्वाह गरेको ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’को क्यारेक्टरको मनोविज्ञानको विषयमा कुरा गर्दा आदिवासी जनजातिका लागि त्यो सही क्यारेक्टर थियो । किनभने, त्यो चरित्रले अन्त्यमा आफूले असाध्यै मन पराएको महिलालाई पनि उसको स्वतन्त्रताको ख्याल गरेर छोडिदिन्छ । साहित्य र कलामा राजनीतिभन्दा फरक ढंगले उपस्थिति जनाइएको हुन्छ । मैले जति गर्नुपर्ने हो त्यो गरेको छुइनँ होला, जति बोल्नुपर्ने हो त्यति बोलेको छुइनँ होला । तर, त्यसको उपस्थिति चाहिँ कस्तो रह्यो भन्ने कुरा मूल्यांकन गर्नुपर्छ जस्तो लाग्छ ।

तपाईं चर्चित अभिनेता त बन्नुभयो । तर, अभिनयमा तपाईंको आफ्नो निजत्व चाहिँ के हो त ?
म जुन समुदायको लागि काम गर्छु, म सधैँ त्यो चरित्रको रिदम समात्छु र त्यसमाथि काम गर्छु । जस्तो, सामान्य हिसाबमा हेर्दा उसको जीवनशैलीको लय के हो ? लयलाई पछ्याउने कोसिस गर्छु । त्यसमा म पनि हुन्छु र त्यो चरित्र पनि हुन्छ । मैले आफ्नो चरित्रलाई हटाएर फिल्मको चरित्रलाई पूर्ण रूपमा निर्माण गर्न सकेको छैन । किनभने, मेरो ज्ञानले त्यति नै भ्याएको छ । मैले निर्वाह गर्ने चरित्रहरूको म ब्याकस्टोरी हो । उनीहरूको भोगाइ र सामाजिक स्थितिलाई म सधैँ कोट्याउने कोसिस गरिरहेको हुन्छु  ।

व्यावसायिक हुने नाममा तपाईं अर्काे राजेश हमाल हुने खतरा छ भन्छन् समीक्षकहरू । अर्थात्, फिल्मका संख्या त बढ्ने भए, गुणस्तर बढ्ने भएन ।
यो चाहिँ मेरो मात्र कमजोरी होइन । यसमा फिल्म मेकर्स पनि दोषी छन् । अथवा, मैले जति कुरा भन्ने कोसिस गरिरहेको हुन्छु, त्यो प्रष्टसँग बुझाउन सक्दिनँ होला । तर, मेकर्सहरूले मलाई टाइपकास्ट नै भएको हेर्न रुचाउनुहुन्छ । मैले धेरैजसो फिल्ममा ह्युमर एकदमै धेरै प्रयोग गरेको छु । चरित्रलाई स्थापित गराउन ह्युमरले काम गर्छ भन्ने मलाई लाग्छ । आजभन्दा केही वर्षअघि म एक्टर हुँ भन्दा र सुटिङको सेटअगाडि पुग्दा मान्छेहरू हाँस्थे । तर, म एक्टर त हो । मैले जानेको, सिकेको नै एक्टिङ हो । त्यसो भए त्यतिबेला मान्छेहरू किन हाँस्थे त भन्दा, म त्यतिबेला स्थापित थिइनँ । म त्यतिबेला वास्तविक जीवनमा पनि मनोरञ्जनको चरित्र भएँ । मैले त्यही कुरालाई मनन गरेर रिलमा मजस्तै किनारामा पारिएका चरित्रलाई ल्याउने कोसिस गरँे । मान्छेहरू मलाई हेरेर हाँस्थे भने म पनि त्यस्तो चरित्रहरूमा काम गर्छु जसलाई हेरेर उनीहरूले मनोरञ्जन लिउन् भन्ने लागेर मैले काम गर्न थालेँ । तर, मैले नजानिदो ढंगले त्यो चरित्रहरू स्थापित गरिरहेको हुन्छु ।

No photo description available.

समीक्षकहरूले भने जस्तो खतरा चाहिँ तपाईंले महसुस गर्नुभएको छ कि छैन ?
खतरा महसुस त हुन्छ मलाई । त्यसैले म अहिले मेकर्सहरूको मनोविज्ञान के हो त ? केका लागि सिनेमा बनाउँछन् ? भन्ने बुझ्नका लागि पनि कतिपय सिनेमामा काम गरेँ । मेरो अनुभवले के भन्छ भने धेरैजसो फिल्म मेकर्सहरू दर्शकलाई सोचेर सिनेमा बनाउँछन् । उनीहरू आफ्नो लागि बनाउँदैनन् । जुन दिनदेखि आफ्ना लागि सिनेमा बनाउन थाल्छन्, त्यो दिनदेखि चाहिँ म सफल भएको महसुस गर्छु ।

भर्खरै विदेशबाट ‘लप्पनछप्पन’को सुटिङ सकाएर आइसकेपछि २० दिनमा तपाईंलाई करिब ३५ फिल्मको अफर आएछ । एउटा अभिनेताका लागि यो कस्तो अवस्था हो ?
मैले यसलाई चुनौतीको रूपमा लिइरहेको छु । मैले गरेको काम के हो त ? त्यो मेकर्सहरूले बुझ्नुभएको छ त ? अथवा, मैले काम के हिसाबले गरिरहेको छु त्यो बुझाउन सकेको छु त । तर, मैले के महसुस गरँे भने मेकर्सहरूले चाहिँ यसले यो क्यारेक्टर ग¥यो भने ह्युमर जन्माउँछ, दर्शकलाई मनोरञ्जन दिन्छ र बजारमा बिक्छ भन्ने सोच बोक्नु हुँदो रहेछ । त्यसरी मेकर्सहरू बिकाउका हिसाबले लागिरहनुभएको छ ।

अनि, तपाईंहरू बिकाउका पात्र भइरहनुभएको छ है ?
म मात्र होइन, धेरै कलाकार यसको शिकार भइरहेका छन् ।

हालै एक सिनेमासम्बन्धी बहसमा वरिष्ठ साहित्यकार आहुतिले भन्नुभएको थियो– ‘जे बिक्छ, त्यो देखाउन खोज्नु आतंक हो’ । सहमत हुनुहुन्छ ?
आहुतिजीको कुरा ठीक हो । फिल्म मेकर्स र दर्शक दुवैमा चेतना नआउञ्जेलसम्म यो भइरहेनछ । दर्शकले आफ्नोपन महसुस गर्ने फिल्म रुचाउँछन् भन्ने चेतना जुन अहिले निर्माता÷निर्देशकमा देखिन थालेको छ, त्यसरी नै यो कुरामा पनि चेतना आउन आवश्यक छ ।

जो–जो बिक्छन्, तिनीहरू नेपाली फिल्म क्षेत्रमा लामो समयसम्म नटिकेको उदाहरण यहाँ धेरै छ । त्यो खतरा तपाईंमा आइपर्ने धेरैको अनुमान छ अहिले ।
त्यो सत्य म स्विकार्छु । मैले धेरै अघिदेखि भन्न थालिसकेँ कि ममा काम गर्ने क्षमता अब हटिसक्यो । म अब टेक्निकल काम मात्र गर्छु । म अब टेकनिक लगाएर आफू कसरी बच्ने भन्ने हिसाबले मात्र काम गर्छु । तर, एउटा एक्टरले यति भनेर माफी त पाउँदैन । मैले त्यो नसकेकै काम होला । तर, मेरो जे कोसिस हो, जे लक्ष्य हो त्योभन्दा पछि हटेर काम गरिरहेको छु भन्ने महसुस चाहिँ मलाई हुन्छ ।

प्रोफेसन र प्यासन दुवैलाई ख्यालमा राखेर काम गर्दा असर चाहिँ फिल्मको गुणस्तरमा पर्छ । थिएटर, समीक्षक र सुटिङको सेटमा पुग्दा ‘मैले अब छानेर काम गर्नुपर्छ’ भन्ने तपाईंको सोच घरको चुल्होमा पुग्दाखेरि परिवर्तन हुँदो हो ?
त्यो त हो । म सच्चा कलाकार हुने कि व्यावसायिक कलाकार हुने भन्ने कुराले बेलाबेलामा मलाई पिरोलिरहन्छ । म खासमा यो क्षेत्रमा त सच्चा कलाकार हुन्छु भनेरै लागेको हो । तर, अघि भनेजस्तै बिस्तारै व्यावसायिक कलाकार हुँदै गए । त्यो पनि स्विकार्छु । व्यावसायिक पनि कतिसम्मको हुने ? त्यो कुरा होला । यो मैले मनन गर्नैपर्छ । तपाईंले भनेजस्तै घरको चुल्होमा पुगेपछि दिमागमा हान्ने त यही कुराले हो । मैले मात्र नभएर सारा फिल्मकर्मीले यही कुरा ध्यानमा राखे भने त सक्किगो त । राम्रो काम ग¥यो भने त मास त्यत्तिकै पनि आइहाल्छ नि ।

तपाईंको अफर बढेसँगै फिस पनि बढिरहेको छ कि छैन ?
कामको चापसँगै पारिश्रामिक त बढ्ने कुरा भइहाल्यो । यो त एकआपसमा परिपूरक कुरा नै हुन् । तर, यस्तो काम गर्छु भन्ने खालको डिमान्ड मसँग पनि छ, जुन चिज मैले भेटाउन सकेको छैन ।

कस्तो डिमान्ड ?
निर्माताहरूले मलाई बिर्सेर मैले निर्वाह गर्न लागेको चरित्रलाई हेर्नुप¥यो भन्ने मलाई लाग्छ । त्यो चरित्रमाथि ‘हामी’ खोज्न सक्नुप¥यो । तर, यहाँ त पहिले नै लेखकले मलाई नै सोचेर स्क्रिप्ट लेखिदिनुहुन्छ । स्क्रिप्ट पढ्नासाथ यो मलाई नै कल्पना गरेर लेखिएको हो भन्ने थाहा पाउँछु । त्यसो भइदिँदा मैले स्वतन्त्र भएर आफ्नो चरित्र निर्वाह गर्न पाउँदिनँ ।

स्क्रिप्टभित्रको के कुराले तपाईंलाई बढ्री छुन्छ र तपाईं फिल्म खेल्न तयार बन्नुहुन्छ ?
पहिलो त म फिल्मको कथा कत्तिको न्यायसंगत छ भन्ने कुरा बुझ्न खोज्छु । न्यायसंगत पाइनँ भने म चरित्रमाथि ध्यान देऊ भनेर कथामा किचकिच गर्छु । मकहाँ अफर आउने प्रायः फिल्मका स्क्रिप्टमै कमजोरी हुन्छ । स्क्रिप्टभित्र कुन समय र कहाँको कथा भन्न खोजिएको भन्ने कुरा बढी बुझ्न खोज्छु । विडम्बना, म त्यस्तो पाउँदिनँ ।

स्टेज छोडेर (वा स्टेजलाई प्राथमिकतामा नपारेर) दयाहाङले गल्ती ग¥यो भन्नेहरूलाई के भन्नुहुन्छ ?
त्यो त भन्नै मिल्दैन । किनकि, मैले स्टेज छोडेकै छैन । मण्डला थिएटरमा अहिले पनि व्यवस्थापन मैले नै हेर्ने हो । अहिले पनि दिनमा एक पल्ट भए पनि त्यहाँ पुगेकै हुन्छु । पुग्ने कोसिस गरिरहेको हुन्छु । अभिनयको हिसाबले भन्ने हो भने चाहिँ पहिले पनि मैले वर्षमा दुई–तीनटा नाटक त गर्थें । अहिले पनि वर्षमा एउटा नाटक निर्देशन र एउटामा अभिनय त गरिरहेकै छु । त्यसैले फिल्मको तुलनामा कम नाटक भएकाले यस्तो भ्रम सिर्जना भएको हुन सक्छ । र, अर्को सत्य चाहिँ के हो भने नाटकप्रति मेरो अध्ययन इत्यादिमा अलि कम चाहिँ भएको हो ।

तपाईंको अभिनय क्षमता र प्रतिभामा शंका गर्ने कुनै ठाउँ छैन । तर, तपाईंको प्रतिभाले पनि अभिनयको परम्परागत ढर्रा तोड्न त सकेन नि ।
यो ढर्रालाई पूर्ण रूपमा तोड्छु भनेर म लागेको पनि होइन । चरित्रलाई स्थापित गर्न मात्र मैले खोजेको हो । मैले केही हदसम्म गरे जस्तो पनि लाग्छ । र, अझै कोसिस जारी  छ । संसारभरि गरिने अभिनयको एक्सपेरिमेन्टहरूमा म अपडेटेड छैन । तर, आफ्नो शैलीमा ढाल्न खोजिरहेको छु । म पनि निकै लामो समयदेखि चलिआएको रसियन निर्देशक÷कलाकार कन्सटान्टिन स्टानिस्लाभ्स्कीको अभिनयको ढर्रामै अडिराखेको छु । यसलाई ब्रेक गर्न सकिरहेको छैन ।

यस पटक पनि उत्कृष्ट अभिनेताको विधामा राष्ट्रिय पुरस्कार हात पार्न सफल हुनुभएकोमा तपाईंलाई बधाई । योसँगै तपाईंले तीनपटक राष्ट्रिय अवार्ड पाइसक्नुभयो । कस्तो महसुस भइरहेको छ ?
मैले गरेको कामप्रतिको इमानदार सम्मान हो जस्तो लाग्छ मलाई यो । मैले पनि यसलाई इज्जतसाथ लिएको छु । यो सँगसँगै समाज र राष्ट्रलाई फाइदा पुग्ने गरी मैले मेरो विधामार्फत निर्वाह गर्नुपर्ने दायित्व अझै बढेको महसुस भएको छ ।

तपाईंले अभिनय गरेका थुप्रै फिल्म प्रदर्शनको तयारीमा छन् । यीमध्ये तपाईंलाई अलि बढी आशा लागेको फिल्म ?
यसको चाहिँ डिप्लोम्याटिक जवाफ होला । त्यतातिर जानुपर्दा पनि सबैले फिल्मको सेटमा जानुअघि राम्रै होला भन्ने सोचेको हुन्छ । पछि निर्मातालाई सुटिङ छिटो सकाएर फिल्म रिलिज गर्ने हतार हुन्छ । सबै निर्माता हतारोको शिकार चाहिँ बनेका छन् ।

एउटा साहित्यिक महोत्सवमा आयोजित सिनेमासम्बन्धी बहसमा तपाईंले ‘मैले ‘दासढुंगा’ बाहेक अन्य फिल्ममा गरेको अभिनयबाट सन्तुष्ट छैन’ भन्नुभएको थियो । किन ?

‘दासढुंगा’मा काम गर्नु मेरा लागि ठूलो चुनौती पनि थियो । त्यसमा मैले इमानदारसाथ काम पनि गरेँ । त्यो प्रोजेक्ट मलाई महŒवपूर्ण लागेकाले राम्रोसँग गरे होला । त्यसपछि भने व्यावसायिक रूपमा काम गर्दै गइयो । त्यही कारण म सन्तुष्ट हुन सकिनँ । तर, दर्शक सन्तुष्ट देखिए ।

Dayahang Rai

फिल्म चिन्तक नवीन सुब्बा भन्छन्, ‘नेपाली फिल्ममा आदिवासी, जनजाति, महिला र मधेशीको चरित्र चित्रण गर्ने नाममा ‘स्टेरियोटाइपिङ’ गर्ने क्रम बढिरहेको पाइन्छ ।’ तपाईंले आफू यसको शिकार भएको कत्तिको महसुस गर्नुभएको छ ?
म धेरै फिल्ममा यसरी शिकार हुन्छु । मैले यो कुरा उठाउने बित्तिकै ‘यसले जातीय कुरा ग¥यो’ भन्दै निर्मातानिर्देशकले नाक खुम्चाइहाल्छन् । तर, वास्तविकता त्यो होइन । मेरो भनाइ चाहिँ सधैँ के हुन्छ भने फिल्म बनाउने मान्छेले समाज बुझेको हुनुपर्छ । समाज नबुझीकन त्यहाँको चरित्र उठाउन मिल्दैन भन्ने मेरो तर्क रहन्छ ।

मैले कतिपय गरिरहेका भूमिका ‘टाइपकास्ट’ हुनुको कारण पनि यस्तैयस्तै हुन् । म राई हो र स्क्रिप्ट राइटरले गहिराइमा नगईकन दर्शक हँसाउने बहानामा गुरुङ, मगर, लिम्बू आदि क्यारेक्टरको प्रस्ताव ल्याउँछन् । उनीहरूलाई लाग्दो हो जनजाति सबै एउटै हुन् । कुनै पनि चरित्रको गहिराइमा नपुगीकन हचुवाको तालमा स्क्रिप्ट लेखिदिन्छन् । त्यस्तो अवस्थामा म आफैँ रिस्क मोलेर काम गर्छु । र, चरित्रलाई सक्दो न्याय दिलाउने कोसिसमा हुन्छु । किनकि, यहाँ काम गर्दिनँ भन्दा ‘यो ठूलो भएछ, स्टार भएछ’ भनेर कुरा काट्नेको कमी छैन । बुझाएर काम गरौँ भने बुझ्नेहरू कोही छैनन् । त्यसैले म बुझाउनै छोड्दिन्छु ।


ताजा खबर