पछिल्ला वर्षहरूमा नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । बीमा कम्पनी तथा शाखा संख्या विस्तार, सरकारको प्रोत्साहन, नियामक नीतिलगायत कारण बीमाको दायरा बढेको हो । यद्यपि अर्थतन्त्र मन्दी उन्मुख बन्दाको असर अन्य व्यावसायिक क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि परेको छ । प्रस्तुत छ, जीवन बीमा व्यवसायको वर्तमान अवस्था, आर्थिक सुस्तीको असर, बीमा प्रडक्ट लगायत विषयमा जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलसँग गरेको सफल कुराकानीको सम्पादित अंश …
अहिले जीवन बीमा व्यवसायको अवस्था कस्तो छ ?
विगतका ५–७ वर्षमा नेपालमा बीमाको पहुँचमा निकै वृद्धि भएको देखिन्छ । अहिले झन्डै ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा छन् । कोरोना महामारीमा पनि बीमा क्षेत्रको विकास र विस्तार रोकिएको थिएन । अहिले भने मन्दीको केही प्रभाव देखिएको छ । समग्र बीमा क्षेत्रलाई नै असर गरेका बेला सिटिजन लाइफ पनि यसबाट अलग छैन ।
बीमाको पहुँच विस्तार हुनुमा के के कारण छन् ?
बीमाको दायरा बढ्नुमा कम्पनीको संख्या, सचेतना र सरकारको सक्रियता मुख्य कारण छन् । बीमा ऐनमै बीमा विकासको कार्यक्रम गर्नुपर्ने भनिएको छ । विगतमा भन्दा अहिले बीमाको सचेतना बढेको छ । तर विद्यालय तहदेखि नै बीमाबारे पढाउन आवश्यक छ । यस्तै नेपालमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बीमा अनिवार्य गरिएको छ । कर्जा लिनेहरूले पनि लघुबीमा गर्नुपर्ने भएकाले बीमा छोटो समयमै धेरै मानिसको पहुँचमा पुगेको छ ।
अहिले बीमालेख त्याग गर्नेहरू बढेका देखिन्छन् । कारण के होलान् ?
बीमालाई बचतको रूपमा पनि लिने गरिन्छ । त्यसैले स्रोतहरू खुम्चिँदा आर्थिक आवश्यकता पूर्ति गर्न बीमितले बीमालेख त्याग गरेको पाइन्छ । अर्थतन्त्रको मन्दी उन्मुख अवस्थाका कारण विगत वर्षको तुलनामा अहिले बीमालेख त्याग गर्नेको संख्या बढेको देखिए तापनि ६५० अर्ब रुपैयाँको पोर्टफोलियोमा १२–१४ अर्ब बराबरको बीमालेख त्याग हुनु धेरै रकम होइन ।
नेपालमा जीवन बीमामा के कस्ता प्रडक्ट छन् ?
दक्षिण एसियाका सबैजसो मुलुकमा एउटै किसिमका प्रडक्ट भएको पाइन्छ । बचतसँग सम्बन्धित बीमाका प्रडक्ट धेरै छन् । नेपालमा बीमालेख परिपक्व हुँदा बचत रकमका साथै बोनस पनि आउने किसिमका प्रडक्ट छन् । सिटिजन लाइफमै यस्ता प्रडक्ट ९ प्रकारका छन् ।
बीमा क्षेत्रभन्दा अन्य क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल पाइन्छ भनिन्छ नि ?
यसमा व्यक्तिको आवश्यकता र बुझाइले पनि फरक पार्छ । कतिपय व्यापारीले जोखिम न्यूनीकरणका लागि बीमा गर्छन् भने जागीर गर्नेहरूले अनिवार्य बचतका लागि समेत बीमा गर्छन् । लगानीका विभिन्न उपकरणमध्ये बीमा पनि एक हो । बीमाले लगानीलाई विविधीकरण गर्न मद्दत गर्छ । बीमाबाट पनि बजारका अन्य क्षेत्रले दिने बराबरको प्रतिफल पाउन सकिन्छ ।
सञ्चालनमा रहेका बीमा कम्पनीलाई नयाँ लघु बीमा कम्पनीको प्रवेशले कस्ता चुनौती थपिएका छन् ?
नयाँ कम्पनीको प्रवेशसँगै पक्कै पनि चुनौती थपिएको छ । तर उहाँहरू भर्खरै आउनुभएकाले कसरी अगाडि बढ्नुहुन्छ, हेर्न बाँकी नै छ । बजार सबैलाई खुला भएकाले अवसर र चुनौती सबैलाई उत्तिकै छ । नयाँ कम्पनीले ल्याउने प्रडक्ट, दिने सेवा र भुक्तानीमा धेरै कुरा निर्भर हुन्छ । तर राम्रो सेवा दिने बीमा कम्पनीहरूलाई बजारमा अवसर प्रशस्त छन् ।
प्राधिकरणले निर्धारण गरेको चुक्तापूँजी कसरी पुर्याउने योजना छ ? कम्पनीका भावी योजना के के छन् ?
सिटिजन लाइफले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आइपिओ निष्कासन गर्दै छ । आइपिओ र कम्पनीको नाफाले प्राधिकरणले निर्धारण गरेको ५ अर्ब रुपैयाँ चुक्तापूँजी सजिलैसँग पुग्छ । अबका केही वर्षमा विभिन्न रणनीति बनाएर कम्पनीलाई विश्वासिलो ब्राण्ड बनाउने योजना छ । यस्तै लगानीकर्ताका लागि उच्च प्रतिफल दिने, अभिकर्ता र युवालाई कामका लागि आकर्षक कम्पनी बनाउने र गुणस्तरीय सेवा एवं उत्कृष्ट प्रडक्ट ल्याउने योजना छन् ।
सिटिजन लाइफको आइपिओमा लगानीकर्ताले किन लगानी गर्ने ?
सिटिजन लाइफले दीर्घकालीन लगानीकर्तालाई उचित प्रतिफल दिन्छ । कम्पनीको वित्तीय अवस्था अन्य प्रतिस्पर्धी कम्पनीको भन्दा राम्रो छ । कम्पनीको रिजर्भमै १ अर्ब रुपैयाँभन्दा बढी छ । कम्पनीको ९० प्रतिशतभन्दा बढी लगानी दीर्घकालीन प्रतिफल आउने क्षेत्रमा भएकाले राम्रो प्रतिफल दिनेमा लगानीकर्ता ढुक्क हुनुभए हुन्छ ।
सर्वसाधारणले कुन प्रकारको बीमा गर्दा फाइदा हुन्छ ?
बजारमा बीमाका विविध किसिमका प्रडक्ट भएकाले आफ्नो आवश्यकता र प्राथमिकता हेरेर बीमालेख छनोट गर्नुपर्छ । जस्तै, कुनै व्यक्तिलाई पेन्सनको आवश्यकता छ भने पेन्सन प्रडक्ट लिनुपर्छ ।
बीमा कम्पनीको सेवाबारे गुनासो पनि सुनिन्छ । अहिले सेवाको गुणस्तरमा केही सुधार भएको छ ?
अहिले जीवन बीमा कम्पनीहरूमा त्यस्तो समस्या खासै छैन । विगतमा जस्तो दाबी भुक्तानीमा पनि समस्या छैन । बीमा कम्पनीहरूको सेवाको गुणस्तरमा पहिला भन्दा धेरै सुधार भएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले हजारौं संख्यामा भुक्तानी गर्दा २००-३०० गुनासो मात्र प्राधिकरणमा पुग्ने गरेको छ । विगतको तुलनामा समग्र बीमा व्यवसायमा धेरै नै सुधार भए तापनि थप सुधार गर्न सकिने ठाउँ प्रशस्त छन् ।