नेपाल एसिया कप क्रिकेटको पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको छ ।
मुल्तान क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा जितका लागि तीन सय ४३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय चार (१०४) रनमा समेटियो । नेपालले पाकिस्तानको सिनियर टोलीसँग पहिलो पटक एकदिवसीय खेल खेलेको हो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाउनुभयो । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सक्नुभएन । नेपालले १४ रन जोड्दा सुरुवाती तीन ब्याट्सम्यान गुमाएको थियो ।
बलिङमा पनि सानदार प्रदर्शन गरेको पाकिस्तानका लागि सदाब खानले चार विकेट लिनुभयो । शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले दुई दुई तथा नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरका ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनाएको थियो ।पाकिस्तानका लागि बाबर आजम र इफ्तिखर अहमदले शतकीय पारी खेल्नुभयो ।
बाबरले एक सय ५१ र इफ्तिकरले एक सय नौ रन बनाउनुभयो । बाबरले एक सय ३१ बलमा १४ चौका चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । इफ्तिखरले ७१ बलमा ११ चौका चार छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो ।
मोहम्मद रिजवानले ४४, फखार जमानले १४ रन बनाउनुभयो । इमाम उल हक र अघा सलमान पाँच पाँच रनमा आउट हुनुभएको थियो । बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट लिनुभयो । करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो ।
नेपालले समूहको अर्को खेल सेप्टेम्बर ४ तारिख भारतसँग श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।
समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरु श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो । रासस