भारतमा हुन लागेको जी–२० सम्मेलन महत्त्वपूर्ण जलवायु सम्बन्धी मुद्दाबाट पछि हटिरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रमुखले बताउनुभएको छ ।
सम्मेलनअघि दिएको एक वक्तव्यमा राष्ट्रसङ्घका जलवायु परिवर्तनमामिला प्रमुख सिमोन स्टिएलले जलवायु आपतकालीन अवस्थालाई सम्बोधन गर्ने सन्दर्भमा सम्मेलन अपर्याप्त रहेको प्रतिक्रिया दिनुभएको छ ।
विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको झण्डै ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताहरूको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ ।
सिमोन स्टिएलले नैरोबीमा अफ्रिका जलवायु शिखर सम्मेलनको साइडलाइनमा चीनका राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिका कारण जी–२० को दुई दिने बैठकमा महत्त्वपूर्ण विषयमा कम प्रगति गर्ने देखिएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
मुख्य मुद्दाहरूको वरिपरि अझै पनि छलछाम र अस्पष्टता नै देखिएको उहाँको टिप्पणी छ । जी–२० को शिखर सम्मेलन सेप्टेम्बर ९ र १० तारिखमा नयाँ दिल्लीमा हुँदैछ ।
जी–२० मा भारतसहित चीन, रुस, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान, साउदी अरब, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, युरोपियन युनियन, इन्डोनेसिया, मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की सदस्य रहेका छन् । रोयटर्स