१९ औँ एसियाड : भारतसँग पहिलो टी-२० खेल्दै नेपाल

एशिया‍ली खेलकूद प्रतियोगिता अन्तर्गत नेपालले क्वार्टरफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

चीनको हाङजाउमा जारी एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत लिग चरणको खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो। भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तान सीधै क्वार्टरफाइनलमा पुगेका हुन्।

लिग चरणमा प्रतिस्पर्धा गरेका नौ देशमध्ये नेपाल, हङकङ र मलेशिया पनि क्वार्टरफाइनलमा पुगेका हुन्। समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको नेपालको प्रतिस्पर्धा भारतसँग हुने तय भएको छ। नेपाल र भारतको खेल मंगलबार बिहान ६ः४५ बजे हुनेछ। नेपालले समूह चरणमा माल्दिभ्स र मंगोलियालाई पराजित गरेको थियो।

त्यस्तै, समूह ‘बी’ बाट क्वार्टरफाइनलमा पुगेको हङकङले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। हङकङ र पाकिस्तानको खेल मंगलबार बिहान ११ः४५ बजे हुनेछ।

समूह ‘सी’ बाट क्वार्टरफाइनलमा पुगेको मलेशियाले बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। मलेशिया र बाङ्लादेशको खेल बुधबार बिहान ११ः४५ बजे हुनेछ।

सीधै क्वार्टरफाइनलमा पुगेका श्रीलंका र अफगानिस्तानबीच बुधबार बिहान ६ः४५ बजे प्रतिस्पर्धा हुनेछ। रासस


ताजा खबर