गर्भावस्थामा थाइरोइड जाँच्नैपर्छ : डा.बजरङ्ग रौनियार

हिजोआज थाइरोइड ग्रन्थिको काम गराइलाई लिएर जनचासो बढेको देखिन्छ । यसअघि पनि यो समस्या नभएको होइन तर त्यस बेला गर्भावस्थामा थाइरोइडसम्बन्धी रगत जाँच्ने नगरेकाले यस्तो समस्या थिएन जस्तो लागेको मात्रै हो । जे भए पनि गर्भवती महिलामा थाइरोइड ग्रन्थिको काम गराइ गडबडी आएर महिना नपुगी व्यथा लाग्ने तथा नवजात शिशुको स्नायु प्रणाली विकासमा नकारात्मक असर पुर्याउन सक्छ ।

निःसन्तानको समस्या भएका एवं पटक–पटकको गर्भ खेर जाने महिलामा यसप्रति झन् बढी चनाखो हुनुपर्दछ । गर्भावस्थामा उत्पादन हुने विभिन्न हर्मोनका कारणले र रक्तबहाव बढ्ने हुनाले गर्भावस्थामा महिलाको थाइरोइड ग्रन्थि हल्का तवरले बढ्न सक्छ । यसलाई अल्ट्रासाउन्डबाट प्रमाणित गर्न सकिन्छ । नेपाल हिमाली मुलुक भएका कारण यहाँका खानेकुरामा आयोडिन कमी हुने गरेको छ । गर्भावस्थामा गर्भवती महिलाको मिर्गौलाबाट थाइरोइड हर्मोनको निष्कासन बढी भएर वा गर्भेशिशु एवं सालमा पनि आयोडिनको खपत बढ्न गई शरीरमा आयोडिनको कमी भएर वा गर्भावस्थामा निस्किने कतिपय हर्मोनको कारणले गर्भावस्थामा थाइरोइड ग्रन्थिको काम गराइमा फरकपना आउन सक्छ ।

बाह्र हप्तासम्मका गर्भेशिशुको थाइरोइड ग्रन्थि आमाबाट प्रदान गरिने थाइरोइड हर्मोनमै निर्भर हुन्छ । यस अवधिपछि शिशु आपैंmले आयोडिन जम्मा गरी थाइरोइड हर्मोन बनाउन थाल्छ । गर्भेशिशुको मस्तिष्क विकासको लागि शुरुको १२ हप्तामा थाइरोइड हर्मोनको ज्यादै महत्व छ तर पनि शिशुको मस्तिष्क परिपक्वता कार्य पछिसम्म पनि जारी रहने हुनाले थाइरोइड हर्मोनको आवश्यकता रहिरहन्छ ।घाँटीमा हुने थाइरोइड ग्रन्थिले उत्पादन गर्ने हर्मोनले शारीरिक वृद्धि विकास र तन्दुरुस्तीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यो ग्रन्थिको काम गराइमा आएको गडबडीले उत्पन्न हुने समस्यालाई प्रमाणित गर्न शंकाको भरमा खोजपड्ताल गर्नुपर्ने हुन्छ । थाइरोइड ग्रन्थिको समस्यालाई थाइरोइडका काम गराइमा कमी हुने अथवा बढी हुने गरी दुई प्रकारमा वर्गीकरण गरिन्छ । गर्भवती महिला पनि यी समस्याबाट अछुत भने हुँदैनन् ।

यस्ता समस्यालाई पनि लक्षणयुक्त र लक्षण नदेखिने गरी वर्गीकरण गर्न सकिन्छ । विभिन्न कारणले थाइरोइड ग्रन्थिको काम कम हुने समस्या प्रत्येक एक हजार गर्भवती महिलामा ३ जनासम्ममा देखिन्छ । यो समस्या हुँदा आलस्य हुने, कब्जियत हुने, जाडो खप्न नसक्ने, मांसपेशी दुख्ने, निद्रा नलाग्ने, शारीरिक तौल बढ्ने, नाडी दुख्ने, कपाल झर्ने, स्वर परिवर्तन हुने, स्मरण शक्ति घट्ने, थाइरोइड ग्रन्थि बढ्ने, आँखावरिपरि सुन्निने, छाला सुख्खा हुने आदि हुन्छ । रगतमा टीएसएच (त्क्ज्) को मात्रा हेरेर यो समस्या निक्र्यौल गर्न सकिन्छ ।

यसका कारण गर्भमा जटिलताका साथै रक्तचाप बढ्न सक्छ । सुत्केरी व्यथा लाग्दा पाठेघरको भित्ताबाट साल छुट्टिन सक्छ । सुत्केरीपश्चात् अधिक रक्तश्राव हुन सक्छ । मुटुको काम गराइ फरक हुन सक्छ । उमेर एवं तौल नपुगेको बच्चा जन्मिन सक्छ । गर्भभित्रै शिशुको मृत्यु हुन सक्छ । यसको अलावा पटक–पटक गर्भ खेर जाने, रक्तअल्पता देखापर्ने हुन सक्छ ।यस्तो खाले थाइरोइड ग्रन्थिको समस्या गर्भावस्थामा पहिलोपल्ट पत्ता लागेको हो कि उक्त महिलामा पहिलेदेखि थाइरोइडको समस्या थियो भन्ने आधारमा यसको औषधोपचारको तय गरिन्छ । यस्ता खाले बिरामीले सुत्केरीपश्चात् पनि नियमितरुपमा फलोअपमा जानुपर्दछ । यस्ता खाले थाइरोइडको समस्या भएकामा प्रयोग गरिने औषधि आमाको दूधबाट खासै नजाने हुनाले स्तनपान रोक्नुपर्दैन । त्यसपछिका वर्षहरुमा बर्सेनि रगतमा थाइरोइड हर्मोनको मात्रा जँचाइरहनुपर्दछ ।लक्षण चिह्न नदेखिने खालको थाइरोइड ग्रन्थिको काम कम हुने समस्यामा पनि शिशु खेर जाने तथा शिशुको स्नायु विकास नहुने हुनाले आवश्यक जाँच गराई औषधोपचार गराउनुपर्दछ ।

कतिपय महिलालाई गर्भावस्थामा थाइरोइड ग्रन्थिको काम गराइ बढ्ने समस्या पनि हुन सक्छ । यस्तो समस्या हजारजना गर्भवती महिलामा २ जनामा हुन सक्छ । यो समस्या गर्भावस्थामा स्वाभाविकरुपमै मुटुले रगत प्mयाँक्ने मात्रा, अक्सिजनको खपत तथा ताप उत्पादन बढ्ने शारीरिक क्रियासँग झुक्किन सक्छ । तर पनि शरीरमा थाइरोइड ग्रन्थिको काम गराइ बढ्यो भने नर्भस हुने, गर्मी खप्न नसक्ने, मुटुको धड्कन बढ्ने, बढ्ता उल्टी आउने, वजन घट्ने, वजन नबढ्ने, गलगाँड आउने, आँखा ठूलो र बाहिर आएको जस्तो देखिने हुन्छ । यो समस्या पनि रगत (त्क्ज् को मात्रा) को जाँचबाट निक्र्यौल हुन्छ ।

थाइरोइड हर्मोनको बढ्ता मात्राले गर्भावस्थामा गर्भ खेर जाने, महिना नपुग्दै व्यथा लाग्ने, गर्भेशिशुको तौल कम हुने, गर्भवती महिलाको मुटु फेल खाने हुन सक्छ । गर्भवती अवस्थामा राम्रो भ्रूण वा शिशु हुनुपर्ने ठाउँमा अंगुरको दानाजस्तो हुने मोलार गर्भमा पनि यस्तो थाइरोइडको समस्या देखिन्छ । यस्तो समस्या यसपटकको गर्भमा पहिलोपल्ट पत्ता लागेको हो कि उक्त महिलामा पहिलेदेखि थाइरोइडको समस्या थियो भन्ने आधारमा यसको औषधोपचार शुरु गर्ने वा औषधिको मात्रा मिलाउने गरिन्छ । यस्तो महिलाको शिशु जन्मिएलगत्तै शिशुको रगतमा पनि थाइरोइडको जाँच गर्नुपर्दछ । यस्तो खाले समस्या पछिको गर्भमा दोहोरिन सक्छ । र, कुनै पनि बेला यसका लक्षण चिह्न बिग्रन सक्ने हुनाले नियमितरुपमा फलोअपमा जानुपर्दछ । सुत्केरीपश्चात् पनि बर्सेनि रगतमा थाइरोइडको मात्रा जँचाइरहनुपर्दछ । यस्ता खाले थाइरोइडमा प्रयोग गरिने औषधि आमाको दूधबाट शिशुमा जान सक्ने हुनाले स्तनपान गराउँदा सतर्क हुनुपर्दछ ।

गर्भवती महिलामा सुत्केरीपश्चात् थाइरोइड सुन्निने समस्या दुई चरणमा देखिन सक्छ । पहिलो चरण अन्तर्गत सुत्केरीको १ देखि ४ महिनामा नदुख्ने खालको हल्का गलगाँड देखा पर्दछ । यस बेला आलस्य हुने, मुटुको धड्कन बढ्ने हुन्छ । यस्तो बिरामीमध्ये दुई तिहाइ सामान्य अवस्थामा फर्किन्छ भने एक तिहाइमा कालान्तरमा थाइरोइडको काम गराइ कम हुने समस्या देखा पर्दछ । दोस्रो चरण अन्तर्गत २ देखि ५ प्रतिशत महिलामा थाइरोइड ग्रन्थिको काम गराइमा कमी आउँछ । धेरैजसो महिलामा सुत्केरीको एक वर्षभित्र ठीक ठाउँमा आए पनि यो अवधिमा औषधिको जरुरत भने पर्दछ ।

यस्तो समस्या गर्भावस्थामा विरलै हुने भए पनि यस्तो अवस्थामा ज्वरो आउने, मुटुको ढुकढुकी बढ्ने, हात काँप्ने, वाकवाकी लाग्ने, उल्टी आउने, पखाला लाग्ने, जीउ सुस्त हुने, मुटु फेल हुने, बेहोस हुने हुन सक्छ । यस्तो परिस्थितिमा आईसीयुमा राखी उपचार गर्नुपर्ने हुन्छ । यदि शरीरमा थाइरोइडको मात्रा निश्चित अवस्थामा अर्थात् राम्रो नियन्त्रणमा राखिएन भने यस्तो गम्भीर समस्या उत्पन्न हुन्छ । यो जोखिमपूर्ण समस्या हो, किनकि १० प्रतिशतमा ज्यान जान सक्छ ।

नेपालमा उत्पादित खानेकुरा तथा अन्नपातमा आयोडिनको कमी भएको पाइन्छ । त्यसकारणले समय–समयमा थाइरोइड हर्मोनको परीक्षण एवं उपचार गराउनुपर्दछ । त्यसमाथि थाइरोइडको समस्याले गर्भावस्थामा प्रतिकूल असर पुर्याउन सक्ने कुरा प्रमाणित भैसकेको अवस्थामा झन् बढी चनाखो हुनुपर्दछ । यस्ता खाले बिरामीले गर्भपूर्व सम्बन्धित प्रसूति रोग विशेषज्ञसँग सल्लाह र परामर्श लिएर मात्र गर्भ आउन दिनुपर्दछ । गर्भपूर्व थाइरोइडको मात्रा सामान्य अवस्थामा ल्याउनुपर्दछ । थाइरोइड ग्रन्थिको काम गराइ बढ्ने समस्या भएका कोही–कोही बिरामीलाई एकथरी विकिरण सक्रिय औषधि चलाइन्छ । यदि एक वर्षभित्र बच्चा पाउने सोच बनाएको छ भने चिकित्सकको सल्लाहमा यस्तो औषधि फेर्नुपर्दछ ।

डा. रौनियार काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका मधुमेह तथा ग्रन्थीरोग विशेषज्ञ हुन् ।


ताजा खबर