पालमा अस्पताल र स्वास्थ्यकर्मीको संख्या बढे पनि समयमा सबै ठाउँमा समान खालको उपचार सेवा सुविधा दिन सकेको छैन । हरेक कुरा सहर केन्द्रित भएका छन् । पछिल्लो समय उपचार सेवालाई साधारण शल्यक्रिया (जनरल सर्जरी)ले पनि थप टेवा दिएको छ। जसको कारण सामान्य शल्यक्रियाबाट ठूलो समस्याको समाधान हुने गरेको छ। साधारण शल्यक्रिया कस्तो उपचार हो ? यो कसरी हुन्छ ? शल्यक्रियाका लागि नेपालमा कस्तोकस्तो प्रविधि प्रयोग हुन्छ ? लगायतका विषयमा आधारित रहेर जनरल सर्जन प्रा. डा. रविन कोइरालासँग गरिएको सफल कुराकानीको सम्पादित अंश :
जनरल सर्जरी कस्तो उपचार हो ?
यो एउटा उपचार विधि हो। साधारण शल्यक्रिया भन्नाले बहिरी भागमा हुने घाउ, चोटपटक, ठेउला, सानो तिनो ट्युमरको उपचार भनेर बुझ्न सकिन्छ । जनरल सर्जनमा जुन तालिम हुन्छ । त्यसमा टाउकोमा आएको गाँठागुठी ठेउला, बाहिरी भागमा आएका ठेउलाको पनि शल्यचिकित्सा विधिबाट उपचार गरिन्छ । घाँटीमा आएको गलगाँड, पेटको एपेन्डिसाइटिस, आन्द्रामा प्वाल भएको, हर्निया र खुट्टामा भएका सानोतिनो घाउको पनि सामान्य शल्यक्रिया विधिबाट उपचार गरिन्छ।
त्यस्तो अवस्थामा जनरल सर्जनले कम्तीमा पनि गर्नसक्ने चिजहरू गरेर रिफर गर्न सक्नुपर्छ । कुनै बिरामीलाई पेट पोल्यो, उसको आन्द्रामा प्वाल परेको छ भने उपचार गर्नसक्ने अवस्था हुन्छ। त्यस्तो केशमा पनि अलि दुर्गम ठाउँ नै छ र बिरामीको अवस्था गम्भीर छ भने त्यो बेला अत्यावश्यक सुविधा दिनुपर्छ ।
जनरल सर्जरी गरेपछि कस्तो अवस्थामा ठुलो समस्या आउने हो ?
जनरल सर्जरी भनेको एक प्रकारले चिरफार गर्ने हो । त्यसमा केही केही समस्या आउन सक्छ। त्यसैले हामीले पहिला नै बिरामीलाई सचेत बनाउँछौँ । सानो चिरफार भन्दा पनि त्यो चिरेको ठाउँमा केही न केही समस्या आउनसक्छ। शल्यक्रिया गरेपछि राम्ररी ख्याल गर्नुपर्छ । त्यसैले काउन्सिलिङको कमीले गर्दा त्यस्तो समस्या आउँछ।
जनरल सर्जरी गर्दा बिरामीले ध्यान दिनुपर्ने कुरा के के हुन् ?
जनरल सर्जरी गर्दा बिरामीले सबै भन्दा पहिला आफूलाई अप्रेसन गर्ने डाक्टर कस्तो हो ? उसमा कत्तिको तालिम छ भनेर बुझ्नुपर्छ । कुनै डाक्टरले आज पास गरेर भोलि नै ठुलो अप्रेसन गर्नु हुँदैन। अप्रेसन गर्दा सानोबाट सुरु गर्नु पर्दछ। पास गरेपछि पनि उसले कम्तीमा दुई वर्ष जति त आफ्नो सिनियरको अण्डरमा काम गर्नु पर्दछ। बिरामीलाई के गर्न लागेको, कतिको समस्या उपचार हुन्छ भनेर बुझाउन सक्नुपर्छ ।
जनरल सर्जरी व्यक्ति अनुसार फरक हुने हो ?
व्यक्ति अनुसार फरकफरक सर्जरी हुन्छ। जनरल सर्जनले आफ्नो सीमा के हो र उसको अनुभव के छ त्यसको आधारमा काम गर्छन्। आज भन्दा पहिला जनरल सर्जनले सबै सर्जरी गर्दथ्यो । तर अहिले रोग अनुसारको सर्जनले काम गर्छन् । जुन कुरा आफूले गर्न नसकिने खालको छ भने रेफर गर्न सक्छन् । अहिले ल्याप्रोस्कोपी सर्जन जनरल सर्जनले पनि गरिरहेको हुन्छ। सकिन्छ भने गर्न पाउनु पर्दछ। त्यस्तै, हर्निया सर्जरी चिरेर पनि गरिन्छ र ल्याप्रोस्कोपी प्रविधिबाट पनि गरिन्छ। यो सबैमा तालिम प्राप्त जनरल सर्जनले गर्दा हुन्छ ।
शल्यक्रियाका लागि नेपालमा कस्तो-कस्तो प्रविधि प्रयोग हुन्छ ?
पछिल्लो समय सजिलो र अत्यधिक प्रविधिको विकास भएको छ । उदाहरणको लागि मिर्गौला सम्बन्धी अप्रेसनमा हामीले पास गरेर आउँदा सबै चिरेर गरिन्थ्यो । त्यो बेला इन्डो युरोलोजी जुन तलैबाट पाइप पठाएर पत्थरीको अप्रेसन गर्न समस्या थियो । तर आज आएर सबै तलबाटै क्यामेरा पठाएर गरिन्छ। मेडिकल साइन्समा यो राम्रो उपलब्धि हो।
सर्जिकल समस्या भएका बिरामीले के कुरामा ध्यान दिने ?
सर्जिकल समस्या देखिएमा बिरामीले सबै भन्दा पहिला आफ्नो स्वास्थ्य उपचारको लागि अनुभवी चिकित्सकलाई देखाउनुपर्छ। स्वास्थ्यमा कुनै समस्या भयो भनेर आफैले जाँच नै नगरी मेडिकलबाट औषधि किनेर खानु हुँदैन । कसैले लक्षणका आधारमा यो औषधि खानु भन्यो भने उपचारको नाममा कसैको हल्लाका पछाडि लाग्ने काम गर्नु हुँदैन।