म आफु नर्स भएकोमा गर्व गरिरहेको छु । ‘गाह्रो समयको अन्त्य हुन्न तर गाह्रो मान्छेहरुको साथ सदैब हुन्छ’ यो धारणा लागु हुन्छ केवल नर्सिङ पेशामा ।
जब जीवनमा केहि मुख्य बाटो छान्ने अवस्था आउँछ, म जस्तै धेरैजनामा नर्सिङ भन्ने शव्दाबली वरपर परिक्रमा गरेकै हुन्छन् । अहो ! सेतो सफा कपडा, बिरामीलाई ढाडस, सुःख दुःखको साथी, एक किसिमले सहयोग, आत्म सन्तुष्टी र सुखको अनुभूति केवल यी कुराहरु नै हुन् जुन हाम्रो मानसपटलमा बस्छन् र मनमनै सपनाको महल बनाउन पुग्छौं ।
(धेरै सोच्नु कहिल्यै नहुने रहेछ) त्यो सेतो कपडामा नर्सलाई हामी परीको रुपमा देख्दछौं । मीठो बोली अनि बिरामीको सेवा, म पनि नर्स भएपछि यस्तै हुनेछु, अझ यो भन्दा बढि राम्रो हुनेछु । यिनै हुन् नर्सिड प्रबेश गर्नु पहिलेका सपनाहरु ।
जब नर्सिङ बिषयमा पढ्न अघि बढ्छौं, भर्ना भएर कलेज जान थाल्छौं, हामी बिस्तारै यथार्थसँग परिचित हुन थाल्छौं । ओहो !! बिरामीको सेवाभन्दा फरक किसिमका सेवाहरु पनि गर्नुपर्ने हुन्छ । कतिपय सेवा त जिन्दगीका बिसौं बसन्त पार गर्दा समेत नगरेका किसिमका पनि हुनसक्छन् … अचम्म पनि लाग्छ अरे ! यो केहो ?? यस्तो पनि हामीले नै गर्नुपर्छ ।
तिनबर्षे पढाइको पहिलोबर्ष त सकसै सकसमा बित्छ । यदि पार गर्न सकियो त नर्सिङ पढियो नत्र टाटा बार्इबाई । सबैजना कहाँ हामीजस्तो एक चित्त हुन्छन् र ?
हैन त्यत्रो बर्ष लगाएर पढ्न त पढियो तर, आफूले प्राप्त गरेको प्राप्ताङ्क र अरु विश्वबिद्यालयको प्राप्ताङ्कको आकाश जमिनको फरक, मैले त्यति धेरै मेहनत गरेर यति मात्र प्राप्ताङ्क तर, मेरो साथी फलानीले मेहनत नै नगरी म भन्दा धेरै अङ्क ल्याइन किनकी उनी अर्कै विश्वबिद्यालयमा थिइन ।
प्राप्ताङ्क जस्तोसुकै भएपनि काम त सजिलै पाइयोस् । उफ् कति गाह्रो १० जना नर्स माग्यो भने १० हजार जनाको आवेदन पर्छ । जसमध्ये नाम ५ हजार जनाको निस्किन्छ । अरु त के भनौं बेदनाहरु… बाँकी ५ हजारले भोलेन्टियरको रुपमा काम गर्छन्, त्यो पनि आफैं पैसा खर्चिएर । कहिँ नभएको जात्रा हाँडी गाँउमा भने झै भा’छ नर्सिङ पेशा ।
बल्ल बल्ल जागिर पाइयो भनेर मख्ख परेको त के हुनु बास्तविक फलामको ढोका त यहाँ पो रहेछ । बिरामीको सेवा, पुरै संस्थालाई टेवा, भावी नर्सहरुलाई पेवा… सायद यी केहस् कुराहरु होलान दुःख सुखका… बिरामीलार्इ खान देउ, औषधि देउ, हरेक कुराको याद राख… कामै कामको चटारो…र अन्त्यमा बिरामी र अन्य कर्मचारीको झटारो… बाह् नर्सिङ प्रोफेसन बाह् ।
तैपनि जिन्दगी खोलाजस्तै बगिरहेछ…बगिरहेछ… कहिले खहरे खोला त कहिले उर्लदो भेल जे जस्तो भएपनि उ नाउ तैरिरहन्छ ।
तर, जब कोहि बिरामी, सहकर्मी वा कसैले तैंले त राम्रो काम गरेकी छस् भन्नुहुन्छ, तव जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ । बिरामीको एक मुस्कानले बिरामी पुनः स्वस्थ अवस्थामा पुगेपछि अनि अन्तर्मनले सारा दुःख भुलेर नयाँ जोशको सिर्जना गर्छ र लाहुरे आज घर फर्क्यो नाची नाची रमाई भने झैं …यो नर्स मिठो मुस्कानका साथ बिच्छ्योनामा मिठो मुस्कानकासाथ निँदाउछिन् ।
केवल यत्तिमा मात्र त सिमित नहोला । तमाम नर्सहरुलाई केहि कुरा जुन उनले सपना साँचेकी हुन्छिन् यदि भेटिएन र उक्त कार्यवाट सफल भएन भने बिवश भएर उनि जान्छिन् बिदेशको बाटोतिर, सायद यो उउटा बिकल्प नै बनेको छ यो पेशामा ।
मान्छेलाई हरघडी हरपल कोहि न कोही आवश्यक पर्दछ … कुबेर जी लाई त्यो सिलामको गेडाले पनि सहयोग गरेको थियो भने हामि त नर्स हौं । बिरामी पर्दाको साथी… केवल हामी चाहन्छौं …हजुरहरुको यस पेशाप्रतिको सम्मान … यो नै हाम्रो जीवनको उर्जा हो । त्यसैले केवल यति माग्छौं यहाँहरु हामीलाई बुझ्नुहोस् र हामीप्रति सकारात्मक धारणा राखिदिनुहोस् ।