एसियाली क्रिकेट काउन्सिलले आगामी मङ्सिरमा यूएईमा हुने अन्डर नाइन्टिन एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको तालिकाअनुसार नेपाल- भारत र पाकिस्तान सम्मिलित समूह-ए मा रहेको छ ।
आज सार्वजनिक भएको ड्रमा नेपाल समूहमा-ए मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत रहेका छन् । त्यसै गरी समूह-बी मा बङ्गलादेश श्रीलंका, यूएई र जापान छन् ।
नेपालले पहिलो खेल आगामी मंसिर २२ गते ओभल दुईमा पाकिस्तानसँग खेल्ने तालिका छ । त्यसै गरी, मंसिर २४ गते अफगानिस्तानसँग खेल्ने तालिका छ । समूहको अन्तिम खेलमा नेपालले भारतसँग मंसिरकै २६ गते खेल्नेछ ।
सेमिफाइनल खेल पुस २९ र फाइनल पुस १ गते आयोजना हुनेछ । नेपालले मलेसियामा भएको एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधि जितेर एसिया कपमा स्थान बनाएको थियो । अन्डर नाइन्टिन प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई हराएको थियो ।
नेपाल अन्डर नाइन्टिन विश्वकपको लागि पनि छनोट भइसकेको छ । त्यो विश्वकपअघि नेपालले यो प्रतियोगितामा राम्रो तयारी गर्ने अवसर पाएको छ ।
एक महिनाअघि मात्र नेपालको सिनियर क्रिकेट टिमले पनि एसिया कपमा भारत र पाकिस्तानको सामना गरेको थियो । यसअघि अन्डर नाइन्टिन एसिया कप पाकिस्तानमा आयोजना हुने थियो। तर भारतले पाकिस्तान जान नमानेपछि खेल यूएईमा सारिएको हो ।