चोभार सुक्खा बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबिच सम्झौता भएको छ ।

सोमबार समिति र प्रालिबिच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो ।

करार सम्झौता समितिका निर्देशक युवक डङ्गोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै  समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिई  वार्षिक एक सय ३० करोडभन्दा बढी आम्दानी गरिरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने बताए पनि कार्यालय खारेजी नहुने जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक गजुरेलले संस्था अझै बलियो भएर जाने र खारेजी भए पनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्नेतर्फ आफूहरुले सोचिरहेको बताउनुभयो । उहाँले चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करिब २० महिनाको अवधिमा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको बताउनुभयो । उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा प्रभावकारी सञ्चालन एवम् व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा तुलनात्मक रुपमा वृद्धि हुने अवस्था देखिएको जानकारी दिनुभयो ।

चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि बल्खु—दक्षिणकाली सडकखण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौं द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको उहाँको भनाइ छ ।

‘‘यसपालिको आर्थिक वर्षको बजेटमा यो कार्यालय खारेजी हुने भन्ने जुन कुरा आएको छ । निजी क्षेत्रबाट जसले हाम्रो पार्टहरु सञ्चालन गरिरहनुभएको छ, उहाँहरुले पनि बारम्बार सोध्नुहुन्छ । हामी राज्यले दिएको कार्यभार सम्हालेर व्यवस्थापन गरेका छौँ । हिजो जस्तै आज पनि काम गरिरहेका छौं । यो एउटा भाइब्रेण्ट अर्गनाइज हो । जति पनि व्यापार सहजीकरण छ, त्यसमा दिनुपर्ने स्तरीय सेवा दिइरहेका छौँ ।,’’ कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो, ‘‘भोलि पनि दिन्छौँ र हामीले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिएर पनि हामीले वार्षिक रुपमा एक सय ३० करोडभन्दा बढी आम्दानी गरिरहेको यो संस्था हो । निजी क्षेत्रलाई यो संस्था अझ बलियो भएर जान्छ, खारेजी हुँदैन, खारेजी भए पनि कुनै समस्या नपर्ने गरी तपाईंहरुलाई व्यवस्थापन गर्नेछौँ ।’’

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बोल्नुहुँदै प्रबन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतिहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको बताउनु भयो । आफूहरुले दिने सेवा स्तरीय बनाउन आफूहरुको प्रयास रहने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘यसमा च्यालेन्जेजहरु छन् । यसलाई दृष्टिगत गरी केही कुरामा गृहकार्य सुरु गरिसकेका छौँ । हामीले दिने सेवा स्तरीय बनाउने हाम्रो अथक प्रयास रहन्छ । यसमा केही प्राविधिक कुरालाई थप गर्नुपर्नेछ । यसले गर्दा हाम्रो आउने सामानहरु जुन छन्, तेस्रो देशबाट आउने समस्यालाई सम्बन्धित निकायले सम्बोधन गर्नसके यहाँ आएर जाँच पास हुने अवस्था रहन्छ ।’’

समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्याङ्कनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनका लागि अनुमति दिएको हो । रासस


ताजा खबर