एसिया कपको पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्दै

एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले आज शुक्रबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । संयुक्त अरब इमिर्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा पुस १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल यसपटक तुलनात्मक रुपमा बलियो समूहमा परेको छ ।

नेपाल रहेको समूह ‘ए’ बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपाललाई समूह चरण पार गर्न सुरुमै पाकिस्तान र भारत जस्ता बलिया टोलीलाई पन्छाउनुपर्ने बाध्यता छ । त्यसैले नेपालका लागि पाकिस्तानविरुद्धको पहिलो खेल नै असरी परिक्षा हुनेछ ।

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ । नेपालले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

युएई जानुअघि नेपाली टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यू–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताउनुभएको छ । उहाँले सिनियर टोलीले राम्रो गरिरहेको र आफूहरू पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताउनुभयो ।  यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने बताउनुभएको छ ।

यस्तै नेपालले गत फागुनमा नेपालमा भएको विश्वकप छनोट खेलमा युएईलाई हराउँदै विश्वकपमा समेत स्थान बनाएको थियो । विश्वकप भने सन् २०२४ जनवरी १३ देखी ४ फेब्रुअरीसम्म दक्षिण अफ्रिकामा हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् । नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छ ।

समूह ‘बी’ मा इङ्गल्यान्ड, आयोजक दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएर विश्वकपमा स्थान बनाएको थियो ।

नेपाली यू–१९ टोली 

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा ।

नेपालको खेल तालिका 

मङ्सिर २२ – नेपाल र पाकिस्तान

मङ्सिर २४ – नेपाल र अफगानिस्तान

मङ्सिर २६ – नेपाल र भारत

मङ्सिर २९ – दुबै सेमिफाइनलका खेल

पुस १ – फाइनल खेल


ताजा खबर