पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेका छौँ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयले व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

न्याय परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने उद्देश्यले नै परिषद् स्थापना गरिएको उल्लेख गर्नुभयो । परिषद्को कामप्रति भरोसा गर्न आग्रह गर्दै उहाँले आएका उजुरीको निष्पक्ष छानबिन गर्ने काम भइरहेको बताउनुभयो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सुव्यवस्थित न्याय सम्पादन र जनशक्ति व्यवस्थापनका लागि परिषद्ले काम गर्दै आएको उल्लेख गर्दै नेपालको न्यायालयले जिम्मेवार तरिकाले काम गर्ने जिकिर गर्नुभयो ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले न्यायाधीश नियुक्ति प्रक्रिया, नियुक्त भएका न्यायाधीशले न्यायिक सुधारका लागि गरेका काम र संस्कारको विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । नियुक्ति र काम गरिरहेका न्यायाधीशले न्याय प्रणालीमा प्रभावकारी तरिकाले काम गर्न सकेको वा नसकेको विषयमा अध्ययन गर्नुपर्ने जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपाली जनताको न्यायको पहुँच र परिषद्को क्रियाकलापले उपभोक्तालाई न्याय मिलेको वा नमिलेको विषयमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले ‘न्याय परिषद्’ बुलेटिन समेत सार्वजनिक गर्नुभयो । रासस

facebook sharing button

ताजा खबर