‘मह‘ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उदाहरणीय जोडी छुट्टाउनै नसकिने यो जोडीले थुप्रै प्रहसन, नाटक, टेलिसिरियल, चलचित्र लगायतका विधामा नेपाली रजतपटलाई अतुलनीय योगदान दिएको छ । महको पछिल्लो चलचित्र महापुरुष पनि अत्यन्त लोकप्रिय भयो । एकल पुरुषको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरि तयार पारिएको चलचित्र सरल र सार्थक भएकाले नै लोकप्रिय भएको समिक्षकहरुको भनाई छ । महको कलायात्रा र अहिलेको समसमयिक बस्तुस्थितिका बारेमा वरिष्ठ कलाकाार अर्थात् महका ‘ह’ हरिवंश आचार्यसँगको सफल कुराकानीको सम्पादित अंश।
तपाईंहरुका हरेक सिनेमाहरु सफल हुनुको पछाडी के छ जस्तो लाग्छ ?
सबै चलचित्र त सफल हुँदैन । केही तल माथि भइहाल्छ । हामी कथावस्तुलाई विशेष ध्यान दिन्छौ । धेरै सोचेर गहिरिएर स्कृप्ट माथि कन्फिडेन्स भएपछि मात्रै छायाङ्कनमा जान्छौ । र कसैलाई त छायाङ्कनमा पनि सक्नै पर्ने बाध्यता हुन्छ । एक दिन पनि सुट लम्बिए आर्थिक रूपमा धान्न नसक्ने अवस्था धेरैको हुन्छ । सानो बजेट हुन्छ । तर हामी हाम्रो काम राम्रो बनाउन मेहनत गर्छौ । नाफा घाटा ध्यान नदिएर हामी हाम्रो कामको लागि लगानी गर्छौ । तुरुन्तै त्यसको प्रतिफल नपाए पनि लामो समयमा पनि पाइन्छ । पन्ध्र गते, चिरञ्जीवी, दसैँ, बन पाले केहीमा पनि हामीलाई फाइदा हुँदैन थियो । तर अहिले त्यसको प्रतिफल युट्युबबाट आइरहेको छ । कुर्न सक्नुपर्छ । धैर्य गर्न सक्नु पर्छ ।
“मह” मा त्यस्तो बिशेषता के छ जो पछिल्ला जोडि हरुले देखेनन र आफुलाइ टुटाए या अलग पारे !
हाम्रो काम यही हो । यो भन्दा बाहेक अरू कुनै पेसा मेरो जीवनमा जोडिएन । म मेरो पेशा प्रति प्रतिबद्ध र इमान्दार भएर रहन्छु । त्यही कारण हामी अहिले सम्म टिकेको छौ । जोडी बनेर एक साथ काम गर्नु असाध्यै गारो काम हो । र पार्टनरसिपमा तुरुन्तै केही समय मै मनमुटाब भईहाल्छ । हामी पनि मानिस हौ । मान्छेको मन भित्र लोभ हुन्छ । त्यो लोभलाई नियन्त्रण गर्न सक्नु पर्छ । मिलेर काम गरिसकेपछि एक जना मात्रै अघि बढ्ने अर्को पछि पर्ने, एक जना मात्रै कमाउने अर्को नकमाउने भन्ने भयो भने गाह्रो हुन्छ । तर हामी दुईले नाम पनि बराबर नै कमाएको छौ । आम्दानी पनि बराबर नै लिएका छौ । समाजले पनि हामीलाई मिलेर काम गर्नु भन्ने दायित्व सुम्पिएको छ । हामी मिलेर एक साथ काम गरेको हेर्न समाजले चाहेको छ । समाजको विरुद्ध गएर केही पनि गर्न सकिँदैन । कसैले चाह्यो भने त्यसको पतन हुन्छ ।
बासुदेव को युग र महापुरुष को युगमा फरक के पाउनुहुन्छ ?
वासुदेव मेरो करियरको सुरुवाती चरणको सिनेमा हो । जुन बेला प्रविधि साँघुरो थियो । डिजिटल क्यामेरा थिएन । सानो सोह्र मिलिमिटरको रिलमा खिचेर ब्लोअप गरेर देखाउँदा क्वालिटी राम्रो हुँदैन थियो । सिनेमा हलको स्थिति नाजुक थियो । सिटमा बस्दा लुगामा चुईगम टाँसिने देखि किलाले लुगा च्यातिने सम्मको स्थिति थियो । अहिले सिनेमा हल र क्यामेराको डिजिटल युगको सुरुवात भयो । पहिला एक जना क्यामेरा म्यानले मात्रै दृश्य हेर्न पाउँथ्यो कलाकारको क्रियाकलाप क्यामेरा भित्रबाट नियाल्थ्यो । चलचित्रको “जजमेन्ट” क्यामेराको हिसाबले मात्रै हुन्थ्यो । निर्देशकले पनि हेर्न पाउने स्थिति थिएन । क्यामेरा बाहिर आँखाले हेर्ने मात्रै हो । हेर्न मिल्ने नेगेटिभ हुँदैन थियो । अहिले तत्कालै हेर्न मिल्ने हुँदा हेर्दै गर्दै र सुधार्दै गर्न मिल्ने स्थिति छ । अहिले सिनेमाको डिजाइन, फेसन पनि फरक भएको छ । यथार्थ संग संगै भएको साथै मनोरञ्जन (डर, हाँसो,रोदन) त हुनै पर्यो । त्यो बेला र अहिले पनि मनोरञ्जनलाई प्राथमिकता दिने हो । तर अहिलेको दर्शक चैँ हलुका मनोरञ्जन भन्दा पनि वेट भएको मनोरञ्जन हेर्न चाहन्छन् । र भारतको सिनेमाहरू सङै अन्य विदेशी सिनेमा सङ हामीले प्रतिस्पर्धा गर्नु पर्ने अवस्था आएको छ ।
पहिला नेपाली सिनेमालाई दर्शकले धेरै माया गर्थे । नेपाली सिनेमा बन्यो कि हेर्दिहाल्ने स्थिति थियो । सङ्ख्यात्मक हिसाबले पनि थोरै सिनेमा बन्थे । अब सङ्ख्या पनि बढेको छ । यो भिडबाट छानेर हेर्नुपर्ने भएपछी जतिसुकै राम्रो प्रचार प्रसार जे गरे पनि माउथ पब्लिसिटी पछि मात्रै अहिले सिनेमाले गति लिन्छ ।अहिले झन् नयाँ नयाँ प्रवृधीको प्रयोग भइरहेको छ । कलाकारितामा पनि अझ निखरता आउँदै गएको छ । थिएटरबाट आएका सिकेर आएका कलाकार बढेका छन् । पछाडिको पाइला सम्झेर बस्ने भन्दा पनि अगाडीको पाइलालाई कसरी सुरक्षित तरिकाले टेक्ने त्यो सोच्नु पर्छ जस्तो लाग्छ ।
सिनेमा र सरोकार राख्ने सामाजिक सन्जाल लाई कसरी तुलना गर्नुहुन्छ ?
पहिला सरकारको नियन्त्रणमा मिडिया थिए । मिडिया अनुशासन त्यो समय अलि धेरै थियो । अहिले अनगिन्ती मिडिया छन् । जसलाई जे मन लाग्यो त्यो लेख्न पाइन्छ । सामाजिक सञ्जालले त झन् आफ्नो आफ्नो बिचार राख्ने ठाउँ दिएको छ । कसैको मानसिकता नै नकारात्मक हुन्छ । उसको उद्देश्य नै “कसरी बिगार्दिने” भन्ने हुन्छ । मान्छेले राम्रो चिजलाई राम्रो भन्न कहिले पनि डराउनु हुँदैन । अरूको कुरा पनि राम्रो भन्न सक्नु पर्छ । तर यहाँ कोही मान्छेहरू कसरी नराम्रो भन्ने, कसरी खसाल्ने, कसरी सिनेमा चल्न नदिने भन्ने सोचका पनि छन् । त्यसमा पनि मानिसले बिश्वास गर्न छोडे । दर्शकले राम्रो नराम्रो छुट्याएर सामग्री हेर्ने नहेर्ने निर्णय गर्न थालिसके ।
सिनेमाको सौदर्यतामा कमि भएको हो ? गहिराइ भन्दा पनि सतहमा बढी महत्व दिएको हो जस्तो लाग्छ ?
पहिला वर्षमा चार पाँच वटा सिनेमा बन्थे । त्यसमा दर्शकले सबै सिनेमा हेर्थे त्यो समयको मानिसलाई त्यही कन्टेन्ट मन पर्थ्यो । अहिले सय बढी फिल्म बन्छन् । सयमा सय राम्रो हुँदैन । ९५वटा बिग्रेला, पाचवटा राम्रो बन्लान् । प्रयोग हुँदै छ । मानिसले नयाँ नयाँ प्रयोग गरिरहेका छन् । बनाएका सबै सिनेमा हिट हुदैनन । भारत हाम्रो भन्दा ठुलो मार्केट भएको देश हो । वर्षमा त्यहाँ हजारौँ सिनेमा बन्छन् । तर हिट सिनेमा औलामा गन्न सकिने हुन्छन् । बाकी एभरेज हुन्छन् । हाम्रो पनि त्यस्तै हो । बजार बिग्रेको छैन, परिमार्जित हुँदै गएको छ ।
तपाइको बिचारमा सिनेमाको सौन्दर्यता के हो ?
मेरो बिचारमा सिनेमाको सौन्दर्यता दर्शकको सेन्टिमेन्ट हो । दर्शकको सेन्टिमेन्टलाई छुन सक्ने सिनेमा बनाउन पर्छ । दर्शकले राम्रो र नराम्रो सहजै छुट्ट्याउन । त्यसैले दर्शकलाई केन्द्रमा राखेर सिनेमा निर्माण गर्नु पर्छ ।
सिनेमा, राज्य मातहत न आएको गुनासो सुनिन्छ, कि यो कुरा गलत हो?
सिनेमा राज्यको मातहतमा आउने सम्भावना कम छ । किनभने राज्य भित्र सिनेमा, व्यापार, व्यवसाय, मजदुरी सबै पर्छन् । र हामीलाई मात्रै राज्यले छुट्टै रूपमा सम्बोधन गरोस् भनेर सोच्नु पनि हुँदैन । सबैको पेसा आफैमा गर्व गर्ने पेसा छन् । हाम्रो काम भने अरूले चिन्ने भएकै कारण छुट्टै रूपमा सम्बोधन हुन पर्छ भन्न मिल्दैन । भाषा सस्कृतिमा पनि काम गर्ने भएकोले भाषा बचाउन काम गर्नै पर्छ तर विशेष सुविधा वा व्यवस्थाको माग गर्न भने मिल्दैन ।