७८ वर्षीय मेघराज कोइराला (ठुल्दाई) ३९ वर्ष (२०२६औ२०६५) शिक्षणसेवामा समर्पित रहनुभयो । उहाँले २०२० सालमा एसएलसी दिनुभएको थियो । त्यसवेला उहाँ एसएलसी दिन सिन्धुली दुम्जादेखी हिँडेर काठमाडौं आउनुभएको थियो । आज उहाँले पढाउनुभएका विद्यार्थी विभिन्न क्षेत्रमा छन्।
सर्लाहीको शिक्षा क्षेत्रमा, विशेष गरी अङ्ग्रेजी शिक्षणमा विशेष योगदान दिनुभएका उहाँले श्री नवजिवन विद्याश्रम माध्यमिक विद्यालय जुटपानीमा लामो समय प्रधानाध्यापकको रुपमा समेत सेवा गर्नुभएको थियो ।
यहि २०८० पुष २७ गते विहिवार साँझ ब्रम्हलिन हुनुभएका कोइरालासँग केहि वर्ष अधि उहाँको अध्ययन र अध्यापन यात्राका वारेमा साम्राज्ञी भण्डारीले गर्नुभएको सफल कुराकानीको सम्पादित अंश उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली सहित पुनः प्रकाशन गरेका छौं । ~ सम्पादक
२०२० सालमा माघको १ गते एसएलसी परेको थियो । सिन्धुली, दुप्चाको कमला माविमा पढेका मेघराजको एसएलसी सेन्टर काठमाडौं दरबार हाई स्कुलमा पर्यो । उहाँकी दिदी (प्रतिभा)ले पनि त्यही साल एसएलसी दिँदै हुनुहुन्थ्यो । दिदीभाइ मंसिरमै सिन्धुलीबाट काठमाडौंका लागि हिँड्नुभयो।
करिब डेढ महिनापछि (माघमा) एसएलसी भए पनि काठमाडौंमा बासको व्यवस्था मिलाउन उहाँहरु छिटो आउनुभएङ्को थियो । त्यतिबेला सिन्धुलीबाट काठमाडौं आउन दुई दिन लाग्थ्यो । बाटोमा खानबस्नका लागि दिदीभाइले केही खानेकुरा (चिउरा, घिउ सक्खर), ओढ्ने लुगा बोकेर हिँड्नुभएको थियो । बाटोमा विभिन्न काम विशेषले काठमाडौं आउने थुप्रै भेटिन्थे।
सिन्धुलीबाट हिँडेपछि पहिलो दिन दाप्चा भन्ने ठाउँमा आएर बास बस्नुपथ्र्यो । उतिबेला हिँड्दाहिँड्दै जहाँ रात पर्छ, त्यहीँ वरपरको घरमा गएर ‘बास पाइन्छ हजुर’ भनी सोध्ने चलन थियो । उहाँहरूले पनि त्यसरी नै बास माग्नुभयो । एउटा घरमा बास पाएर र बस्नुभयो । ‘त्यो बेला सजिलै बास पाइन्थ्यो,’ मेघराज भन्नुहुन्थ्यो, ‘जुन घरमा बास मागेको हो, त्यहाँ बास बस्ने अवस्था छैन भने उनीहरूले अर्को घरसम्म पनि पुर्याइदिन्थे।’
बास बसेको घरमा खाना खान पनि दिन्थे । कतै भने आफैँले लगेको चामल–गुन्द्रुक पकाउनुपथ्र्यो । सुत्दा आफैँले लगेको दोलाई ओढ्नुपथ्र्यो । दाप्चाबाट बिहानै हिँडे साँझसम्म काठमाडौं पुगिन्थ्यो । दुई दिन हिँडेर काठमाडौं आएपछि मेघराजका दिदीभाइले डिल्लीबजारमा कोठा भाडामा पाउनुभयो, मासिक १६ रुपैयाँ तिरेर । त्यहीँ बसेर उउहाँहरूले एसएलसी दिनुभयो । मेघराज भन्छन्, ‘त्यतिबेला सस्तोमा पाँच रुपैयाँसम्ममा कोठा भाडामा पाइन्थ्यो।’
एसएलसीपछि मेघराजले नपढ्ने बिचार गर्नुभएको थियो, तर उहाँका बुवाले दिनुभएन । क्याम्पसको अध्ययन गर्न पनि दिदी र उहाँ पुनः काठमाडौं आउनुभयो । त्यो समयमा बनेपादेखि भक्तपुरसम्म लरीले एक रुपैयाँमा ल्याइदिन्थ्यो। तर, कैयौँपटक उहाँहरू एक रुपैयाँ जोगाउन बनेपादेखि हिँडेर आउँथे । त्यतिबेला पैसा जोगाउन आफूहरू जस्तै अरु पनि हिँड्ने गरेको उहाँ सुनाउनुहुन्छ ।
एसएलसीपछि दिदीभाइले लाजिम्पाटस्थित चेत भवनबाट ‘कलेज अफ एजुकेसन’बाट आइए र बिएड गर्नुभयो । चेतशमशेरको दरबार भएकाले क्याम्पस भवनको नाम चेतभवन रहेको मेघराज बताउँनुहुन्छ। उक्त कोर्स पढ्दा कलेजले सबै विद्यार्थीलाई महिनाको ४५ रुपैयाँ भत्ता दिन्थ्यो । यस्तो व्यवस्था नेपाल र अमेरिकाको संयुक्त पहलमा भएको थियो । त्यतिबेला अन्यत्र थुप्रै जिल्लाका मानिस आएर काठमाडौंमा पढ्थे । कलेज पढ्ने महिला भने निकै कम हुन्थे।
क्याक्पस पढ्दा मेघराजले एक कप चिया १० पैसामा पिउँथे । ‘कुनै कुनै पसलमा त हामीकहाँ १० पैसामा एक कप चियाको साथमा एउटा पाउरोटी सित्तैमा पाइन्छ भनी ग्राहक तानिन्थ्यो,’ मेघराज भन्नुहुन्छ, ‘एक कप चियासँगै एउटा पाउरोटी पाउने आशामा हामीहरू त्यही पसलमा झुम्मिने गर्थ्यौ।’
२०२२ तिर काठमाडौं एकदमै खुला थियो । शनिबारको दिन उनी लुगा धुन साइकल चढेर कहिले कमलपोखरी, कहिले सुन्धाराको ढुंगेधारामा पुग्थे । सधैँ एकै ठाउँमा के नुहाउनु भनी कहिलेकाहीँ उहाँ साथीहरूसँग बाजालुको बाइसधारा पनि पुग्नुहुन्थ्यो।
मेघराजका तीन दाजुभाइ, दिदी र बहिनीले सिन्धुलीमा रहेको कमला हाई स्कुलबाट टेस्ट दिएका हुन् ।उनको जमानामा पाटीमा अँगारले लेख्ने चलन थियो । सानो छँदा बिहान उठ्नेबित्तिकै उनले काठको पाटीमा अँगारले लेखेर अभ्यास गर्थे । उहाँ स्कुल जाँदा पनि पाटी र खरी हातमा झुन्ड्याएर जानुहुन्थ्यो।
उहाँका बुवा रविप्रकाश कोइरालाले संस्कृत भाषाको दुर्गा, चण्डी पाठ गर्न तथा तमसुक, चिठी लेख्न जान्नुहुन्थ्यो। मेघराज सानो छँदा घरमा बुवाले पनि लेखपढमा केही सघाउनुभयो ।
रविप्रकाशले तीन छोरा र दुई छोरीलाई भेदभाव नगरी विद्यालय पठाउनुभएको थियो । रविप्रकाशलाई गाउँलेले जेठा भन्थे। छोरीहरूलाई पनि पढाएको देखेर उहाँलाई गाउँलेले भने, ‘जेठाले छोरीहरू पढाएको छ, अब यसका छोरीहरू पोइला जान्छन्।’
रविप्रकाश जवाफ दिनुहुन्थ्यो, ‘मेरा छोरी पोइला गए पनि योग्य केटा छानेर जान्छन्, किनकि उनीहरूले पढेका छन् ।’
मेघराजको पालामा निकै कम छात्राले पढ्थे । उतिबेला छोरी पढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको थिएन ।
मेघराजकी आमा टीकादेवी गृहिणी थिइन्, उनलाई लेखपढ आउँदैनथ्यो । त्यसैले मेघराज ९–१० वर्षको हुँदा आमालाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी शोककाव्य पढेर सुनाउँथे । सुन्दै गएपछि उहाँकी आमा धुरुधुरु रुनुहुन्थ्यो । यो सम्झेर मेघराज केहीबेर मौन हुनुभयो ।
बेलुकीको खाना खाएपछि उहाँकी आमाले सधैँ टुकीको छेउमा बसेर बत्ती कातिरहेकी हुनुहुन्थ्यो । एकपटक उहँँकी आमाले देउरानीलाई भन्नुभयो, ‘माइली, नेपाल (काठमाडौं)मा त बिजुली बत्ती बल्छ रे, त्यहाँका आइमाईले रातभर नसुती नसुती कति बत्ती काट्दा होलान् !’
आमाले यसो भन्दा मेघराजलाई पनि लागेको थियो, बिजुली बत्ती कस्तो होला ! उनकी आमाको २०१७ सालमा निधन भयो । आमा खसेको पाँच वर्षपछि काठमाडौंमा बिजुली बत्ती देख्दा मेघराजलाई आमाको सम्झना भएको थियो।
आमाको मृत्यु हुँदा मेघराजका बुवा ५१ वर्षका थिए । उनलाई छरछिमेकी र आफन्तले भने, ‘तेरो उमेर छ, अर्को विवाह गर्।’
तर उहाँका बुवाले दोस्रो विवाह गर्न मान्नुभएन । मेघराज भन्नुहुन्छ, ‘बुवाले मेरा पाँचजना छोराछोरी छन् । यिनलाई सुनचाँदी, अन्नपात जे छ, बेचेर पढाउनुपर्छ । अर्की आमा ल्याउँदा उसले यिनीहरूलाई कस्तो व्यवहार गर्ने हो, त्यसैले अहिले अहिले बिहेको कुरै नगर भनेर गाउँलेलाई चुप लगाउनुभयो । हामी सबैको शिक्षा र बिहेदान भएपछि भने बुवाले दोस्रो विवाह गर्नुभयो। अर्की आमातर्फ एउटा भाइ छ।’
मेघराजले विद्यालय पढ्ने समयमा पार्कर कलमले लेख्ने व्यक्तिलाई हुनेखाने र गन्यमान्य मानिन्थ्यो । मेघराज भने निगालो काटेर बनाइएको चुच्चो कलमलाई कालो मसीमा चोपेर लेखी हुर्कनुभएको हो ।
उहाँको गाउँमा गर्मी मौसममा औलोको डर हुन्थ्यो । त्यसैले गर्मी यामको दुई महिनाजति औलोबाट जोगिन डाँडामाथि विद्यालय सारेर बिहानी कक्षा पढाउने चलन थियो । उहाँहरूलाई गणित, विज्ञान विषय पढाउने शिक्षक जनकपुर र पूर्वतिरबाट आउँथे । उतिबेला गाउँमा शिक्षक पनि उत्पादन भएका थिएनन् । उहाँले विद्यालय अध्ययन गर्दा कहिले पनि शिक्षिका देख्नुभएन।
मेघराजको बाल्यकाल सिन्धुलीमै बित्यो । तर, २०११ सालमा सुनकोसीमा आएको बाढीले धेरैको बालीनालीमा क्षति पुर्यायो । त्यो वर्ष गाउँका धेरै मानिस तराई क्षेत्रमा बसाइँ सरे। उहाँको परिवार भने २०३० मा सर्लाहीको लालबन्दी गाउँपालिका-२ मा बसाइँ सर्यो।
मेघराजले आइएड गरेदेखि गाउँमा छोरी दिनेको भीड लागेको थियो, पढे-लेखेको केटो भनेर । २०२३ सालमा गाउँकै १४ वर्षीया हीरा कोइरालासँग उनको विवाह भयो । केटाको बाबुले केटीको बाबुको हातमा जनै-सुपारी दिएपछि विवाहको स्वयंवर भएको ठहर हुन्थ्यो । उनको घरभन्दा आधा घन्टा पैदल यात्रा दूरीमा पर्ने गाउँमा उनी घोडा चढेर बेहुली लिन गएका थिए।
विवाहपछि उहाँले काठमाडौंबाट बिएड गर्नुभयो । त्यसपछि २०२६ सालमा दोलखा भीमसेनस्थान नजिकै रहेको भीम पब्लिक हाइस्कुलबाट शिक्षण पेसा सुरु गर्नुभयो । १ देखि १० कक्षासम्म पढाइ हुने त्यस विद्यालयमा उहाँ हेडमास्टर हुनुहुन्थ्यो, त्यहाँ उहाँले दुई वर्षजति अंग्रेजी विषय पढाएर छाड्नुभयो।
त्यस समय दोलखा बजारमा नेवार समुदायका बाहुल्य रहेको उनी बताउँछन्। ‘दोलखाको नेवार समुदायमा बोल्ने भाषा काठमाडौं, भक्तपुर र ललितपुको नेवारी भाषासँग मिल्दैन,’ उहाँ भन्नुहुन्छ, ‘द्वापर युगमा पाँच पाण्डव १२ वर्षको वनवासपछि एक वर्ष विराट राजाको दरबारमा गुप्तबास बसेका थिए । कसैले नबुझोस् भनी बोलिएको भाषा नै यहाँ नेवार समुदायमा बोल्ने गरेको भनिन्छ।’
उक्त स्थानमा बोलिएका केही नेवारी भाषा उहाँलाई अझै पनि सम्झना छ । त्यहाँ कहाँबाट आउनुभयो भनेर सोध्दा ‘गिवीलाल झायन दिर्घु ?’ भनिने मेघराज बताउनुहुन्छ।
शिक्षण पेसा गरिरहेकै बेला उहाँलाई कांग्रेसमा लागेको मान्छे भनी तत्कालीन पञ्चायत सरकारले २०२९ सालमा काठमाडौंको केन्द्रीय कारागारमा राखेको थियो । एक वर्ष जेल सजाय भोगेर उहाँ २०३० मा काभ्रे जिल्लाको प्रभा हाइस्कुलमा हेडमास्टर बन्न पुग्नुभयो । त्यहाँ उहाँले नौ महिना बिताउनुभयो।
उहाँकी दिदी प्रभा कोइराला पोखरामा सरकारी अधिकृत हुनुहुन्थ्यो । त्यतिबेला पश्चिमाञ्चलमा नयाँ शिक्षा लागू भएर बिएड गरेका मास्टरको दरबन्दी खुलेको थियो । दिदीको सहयोगमा मेघराजले पनि आवेदन दिनुभयो । त्यसपछि उहाँ तनहुँको दमौली सदरमुकामको निर्मल माध्यमिक विद्यालयमा हेडमास्टर हुनुभयो । त्यहाँ पनि कक्षा ६ देखि १० अंग्रेजी विषय पढाउँनुहुथ्यो।
तयहाँ दुई वर्ष पढाएपछि उहँँको सरुवा बन्दीपुुरको भानु माविमा भयो । यस विद्यालयमा उहाँले पढाएका धेरै विद्यार्थीसँग उहाँको भेट अहिले पनि हुन्छ । जसमा जिल्ला शिक्षा अधिकारी बद्रिनारायण अधिकारी, डाक्टर बनेका भोलाराम श्रेष्ठ, सिभिल इन्जिनियर कुमार श्रेष्ठ हुन् । हेडमास्टरकै रुपमा पाँच वर्षमा पढाएपछि उहाँ जनमतसंग्रहपछि (२०३७ मा) पुन सर्लाही पुग्नुभयो । सर्लाहीको नवजीवन विद्याश्रममा २०४३ सम्म पढाउँदै हुनुहुन्थ्यो । जिल्ला प्रशासनले कांग्रेसको समर्थक भनी विद्यालय छोड्न आदेश दियो।
त्यसपछि उहाँ जागिर खोज्दै भौँतारिएर रौतहट पुग्नुभयो । जहाँ आफ्नै विद्यार्थी जीवनको साथी कृष्णप्रसाद शर्मा सिडियो थिए । साथीको भनसुनमा उहाँले त्यहाँको जनजागृति माविमा पढाउन थालेको तीन वर्ष मात्र भएको थियो, त्यही बेला २०४६ जनआन्दोलन सुरु भयो, उहाँको जागिर पनि छुट्यो।
त्यसपछि उहाले सर्लाहीको नारायण जनता माविमा पढाउन थाल्नुभयो । यहाँ पढाउँदा पढाउँदै २०६० सालमा उनी एक महिनाका लागि जापान जाने अवसर पाए, ‘फ्रेन्डसिप फर ट्वान्टी फस्ट सेन्चुरी’ कार्यक्रमका लागि । त्यसपछि उहाँ सर्लाहिकै शिशुकल्याण जनता माविमा सरुवा हुनुभयो । सोही विद्यालयबाट उहाँले २०६५ मा अवकाश लिनुभएको हो ।
पछिल्ला केहिवर्ष यता सर्लाहीको नवलपुरमा रहेको पिस जोन बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक रहनुभएका कोइराला स्वास्थ्य अवस्थाका कारण काठमाडौमा बस्दै आउनुभएको थियो । स्वास्थ्य उपचारका क्रममा उहाँको गत विहिवार साँझ सिनामङ्गलस्थित काडमाडौ मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो ।